२२ बैशाख २०८१, शनिबार

कोरोना भाइरस सन्त्रासः एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीको गुनासो– हामी असुरक्षित छौं



धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका लक्ष्मीपुर स्वास्थ्य चौकीका एम्बुलेन्स चालक सुवास चौधरी सोमबार बिरामी बोकेर धनगढी आए । रुघाखोकी, ज्वरो लगायतको लक्षण देखिएका ती बिरामीलाई बोकेर ल्याउनुपर्दा उनी निकै त्रसित देखिन्थे ।
एम्बुलुन्स चालक सुवासले भने– ‘अहिले विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जस्तै लक्षण बिरामी देखिएपछि आफै असुरक्षित भए जस्तै लाग्यो ।’ उनले बिरामीलाई कञ्चनपुरको बेलौरीदेखि धनगढीस्थित माया मेट्रो अस्पतालसम्म पु¥याएका थिए ।
उनले भने– ‘बिरामीले छिटोछरितो स्वास्थ्य संस्थामा पुग्न एम्बुलेन्स प्रयोग गर्छन्, तर हामी चालक भने असुरक्षित भएका छौं ।’ उनले सरकारले एम्बुलेन्स चालकका लागि आवश्यक मास्क, स्यानिटराइजर लगयातका सामग्रीको व्यवस्था गर्न नसकेको गुनासो गरे ।
अहिले विश्वभरी कोरोना भाइरसले महामारीको रुप लिएपछि उच्च सर्तकता अपनाइएको छ । नेपालमा पनि लामो दूरीका सवारी साधनमा रोक लगाइएको छ । तर, एम्बुलेन्स चालकहरूले भने जोखिम मोलेर सेवा गर्नुपर्ने बाध्यता रहेको छ ।
कैलाली अस्पतालका एम्बुलेन्स चालक प्रकाशसिंह धामीले आफूले कोरोना भाइरसका लक्षण देखिएका बिरामीलाई नबोक्ने बताए । ‘अहिले मैले दुर्घटना लगायतका अन्य बिरामी बोक्ने गरेको छु’ उनले भने– ‘अस्पतालले हामीलाई सुरक्षित नबनाएसम्म कोरोना भाइरसका लक्षण देखिएका बिरामी बोक्दैनौ ।’ उनले अस्पतालले कोरोनाको संक्रमणबाट बच्न कुनै पनि उपकरण तथा वस्तुको व्यवस्था नगरेको बताए ।
नेपाल एम्बुलेन्स चालक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले अहिलेको अवस्थामा एम्बुलेन्स चालक असुरक्षित रहेको बताए । ‘बिरामीलाई अस्पताल पुर्याउने हामी नै सुरक्षित छैनौं’ उनले भने– ‘पुरै शरीर ढाक्ने सुरक्षित कपडा (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ‘पिपिई’) नै छैन । उनका अनुसार पीपीईले बाह्य संक्रमण हुनबाट जोगाउँछ । उनले सरकारले एम्बुलेन्स र चालकलाई सुरक्षित गर्ने यथाशिघ्र उपाय बनाइनुपर्ने बताए ।
सुदूरपश्चिममा अहिले एक सय ५० बढी एम्बुलेन्स चालकहरू रहेका छन् । संघका प्रदेश अध्यक्ष लक्ष्मणले ‘क्याविन’ वाला नभई सामान्य एम्बुलेन्स रहेकाले कोरोना भाइरसको संक्रमण अधिक रहेको दाबी गरे ।
एम्बुलेन्स चालकमात्र होइनन् स्वास्थ्यकर्मीहरू पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको स्वयं चिकित्सकहरू नै बताउछन् ।
सेती प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख डाक्टर जगदीश जोशीले भने– ‘आइसोलेशन वार्डमा राखिएका बिरामीको निगरानी गर्ने चिकित्सकलाई आवश्यक सामग्री अभाव छ । बिरामीको चेकजाच गर्न जाँदा लगाउने लुगा, मास्क जस्ता सामग्रीको कमी छ ।’
सेती प्रादेशिक अस्पतालमा सात सैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । सात जनाभन्दा बढी बिरामी भएमा निगरानीमा राख्न गाह्रो हुने चिकित्सकहरू बताउँछन् । ‘अहिले प्रादेशिक अस्पतालमा सात शैयाको आइसोलेसन कक्ष छ’ डाक्टर जोशीले भने– कथंकदाचित योभन्दा बढी बिरामी आएमा बेड थप्नुपर्ने अवस्था आउँछ । उनले उपचारका लागि चाहिने आवश्यक सामग्री अभाव भइरहेकाले प्रदेश सरकारलाई आपूर्ति गरिदिन अनुरोधसहित पत्राचार गरिएको बताए ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले विभागबाट ‘पीपीई’ सामग्रीहरू माग गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार