७ कार्तिक २०८१, बुधबार

सिमा नियन्त्रण गर



सुदूरपश्चिम प्रदेशसंग नजिक रहेको भारतको लखनउमा कोराना भाइरस संक्रमित व्यक्ति फेला परेको पुष्टि भइसकेको सन्दर्भमा नेपाली सिमा नाकामा थप सतर्कता देखाउनु जरुरी भइसकेको छ । नेपाल भारतबीच खुला सिमाना रहेका कारण भारतबाट बिना चेकजाच व्यक्ति नेपाल भित्रिने खतरालाई दृष्टिगत गरी सिमानामा थप सतर्कता अपाउनु जरुरी भइरहेको छ । सुदूरपश्चिम प्रदेशसंग जोडिएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख नाकामा कोरोना भाइरस रोकथामका लागि हेल्थ डेस्क स्थापना गरेर चेकजाच् कार्य जारी रहे पनि अन्य साना नाका र अवैध नाकामा भने अहिलेसम्म त्यस्तो कुनै प्रबन्ध गरिएको पाइदैन । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० स्थित ब्रह्मदेव नाकामा समेत अहिलेसम्म हेल्थडेस्क स्थापना गरिएको छैन । सो नाका भएर दैनिक सयौं भारतीय नेपाल प्रवेश गरिरहे पनि हेल्थ डेस्कको अभावमा उनीहरुको चेकजाच हुनसकेको देखिदैन । त्यसैमा खुला सिमानाका कारण अन्य कतिपय साना तथा अवैध नाकाबाट बिना चेकजाच भारतीय नागरिक नेपाल प्रवेश गरिरहदा निश्चय पनि कोरानाको जोखिम बृद्धि हुनेतर्फ ध्यान दिनु आवश्यक छ ।
भारतमा अहिलेसम्म कोराना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको पुष्टि भइसकेको छ भने अहिले पनि डेढ दर्जन बढि उपचारको क्रममा रहेका छन् । नेपालमा एक जनामा कोराना भाइरस संक्रमण रहेको पाइएकोमा उपचार पनि निको भइसकेको बताइएको छ । अहिलेसम्म नेपालमा कोराना भाइरसको संक्रमण फैलिएको छैन । त्यसैले छिमेकी मुलुक भएर कोरोना भाइरस नेपाल भित्रिन नदिन सबै किसिमका उपाय अपनाउनु पर्दछ । खासगरी खुला सिमाना भएका कारण भारतबाट नेपालमा कोरोना भाइरस भित्रिने सम्भावनाप्रति गम्भीर हुनै पर्दछ । त्यसैले नेपाल सरकारले भारतीय सरकारसंगको समन्वयमा बिना चेकजाच कोही पनि भारतीय नागरिक नेपाल भित्रिन नदिनेतर्फ ठोस प्रबन्ध गरिनु पर्दछ । त्यस्तै, नेपाली सिमा नाकामा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन अहिलेसम्म भइरहेका प्रयासहरुको समिक्षा गरिनु पर्दछ । यसका साथै प्रदेश सरकार र भारतीय सिमासंग जोडिएका स्थानीय तहहरुबीच कोरोना भाइरस संक्रमण रोकथामका लागि समन्वय र सहकार्यमा अझ प्रभावकारी प्रयास गरिनु पर्दछ । यसका लागि कोरोना भाइरसबारे आम जनतामा यथार्थ जानकारी दिने, अनावश्यक भ्रम र हल्ला फैलाउन कार्यलाई कडाईका साथ नियन्त्रण गर्ने, कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाएर जनतालाई थप भयभित्र बनाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने र संक्रमित व्यक्ति फेला परेमा तत्काल प्रभावकारी उपचारको प्रबन्ध मिलाउने र समग्रमा आम जनतालाई भयरहित बनाउनेतर्फ प्रदेश सरकार तथा स्थानीय तहले सुनिश्चित गर्नु पर्दछ ।
सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतसंगका सिमा नाकामध्ये प्रमुख नाका मात्रै खुला गर्ने र अरु सानाठूला नाका दुवै देशको समन्वयमा नियन्त्रण गर्नेतर्फ ढिलाई गरिनु हुदैन । यसका लागि स्थानीय सरकार, प्रदेश सरकारका साथै सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक छ । त्यस्तै, विमानस्थल, बसपार्कका साथै अन्य प्रदेशबाट सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने नाकामा समेत हेल्थ डेस्क सञ्चालन गर्न ढिलाई गरिनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार