छाउपडी कुप्रथा अन्त्यका लागि प्रयास
सिंगो सुदूरपश्चिम प्रदेशको नै बदनाम भइरहेको सामाजिक कुसंस्कार रुपमा विद्यमान छाउपडी कुप्रथाको अन्त्यका लागि पछिल्ला दिनमा सबै तहका सरकारहरु तथा समाजका विविध पक्षबाट विभिन्न प्रयास भइरहेका छन् । सुदूरपश्चिम प्रदेशका प्रायः सबै जिल्लामा छाउगोठ भत्काउने अभियान जारी रहेको छ । तीनै तहका सरकारहरुको पहलमा छाउगोठ भत्काउने अभियानका क्रममा कतिपय गाउवस्तीमा स्थानीय स्वयं नै छाउगोठ भत्काइरहेका छन् । यद्दपि अझैं पनि कतिपय गाउवस्ती तथा समुदायमा छाउपडी प्रथालाई कुनै न कुनै रुपमा निरन्तरता दिने व्यक्तिहरु पनि देखापरेका छन्, तर अहिले छाउपडी कुप्रथा विरुद्ध राष्ट्रिय रुपमा निकै दबाव सिर्जना भएको अवस्था छ । खासगरी सुदूरपश्चिम प्रदेशलाई पछिल्ला दिनमा छाउपडी प्रथा रहेको प्रदेशका रुपमा चर्चा गर्नेहरुको संख्या बढेको छ । त्यसैले पनि अहिले सिंगो सुदूरपश्चिम प्रदेशमा छाउपडी कुप्रथा अन्त्यको निर्णायक अभियान अघि बढेको देखिन्छ । छाउपडी कुप्रथा अन्त्यका लागि सामाजिक जागरणमुलक कार्यक्रम अघि बढाइएका छन् । विद्यार्थी, युवाहरुको सहभागितामा जनचेतना अभिबृद्धिमुलक कार्यक्रम भइरहेका छन् । छाउगोठमा महिलाको मृत्युका घटनाहरु दोहोरिन थालेपछि निश्चित रुपमा यो कुप्रथालाई अब कुनै पनि रुपमा निरन्तरता दिनुहुदैन भन्ने व्यापक जनमत निर्माण भइरहेको अवस्था छ ।
छाउपडी कुप्रथा सम्पूर्ण रुपमा अन्त्य गर्नकै लागि पछिल्ला दिनमा स्थानीय तहहरुले यो प्रथालाई निरन्तरता दिन चाहने वा खोज्ने व्यक्ति र परिवारलाई सरकारी सेवासुविधाबँट बञ्चित गर्ने निर्णय लागू गरिदैछन् । भरखरै बाजुराका सबै स्थानीय तहहरु र सरकारी कार्यालयले छाउपडी कुप्रथा मान्ने व्यक्ति तथा परिवारलाई सरकारी सेवासुविधा प्रदान नगर्ने निर्णय गरेका छन् । यसले पक्कै पनि यो कुप्रथा अन्त्यका लागि थप दबाव सिर्जना हुने अपेक्षा गर्न सकिन्छ । यस्ता सामाजिक, सांस्कृतिक कुसंस्कारको अन्त्यका लागि सबै प्रकारका कानूनी उपायका साथै सामाजिक रुपमा समेत हरसम्भव प्रयास अघि बढाइनु पर्दछ । सिंगो प्रदेश नै छाउपडी कुप्रथाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै बदनाम भइरहेको सन्दर्भमा अब कुनै पनि बहाना वा नाममा यसलाई पूर्ण रुपमा उन्मुलन गर्न सबै पक्ष जुरमुराउनु आवश्यक भइसकेको छ ।
अहिले पनि देवीदेउता रिसाउने, अनिष्ट हुने जस्ता अन्धविश्वास फैलाएर सामाजिक, सांस्कृतिक कुसंस्कार र परम्परालाई निरन्तरता दिनु दुर्भाग्य नै हो । सामाजिक, सांस्कृतिक परम्पराका कारण रजश्वला भएका वेला महिलाले अनेक कष्ट भोग्नु पर्ने र मृत्युवरण समेत गर्नुपर्ने जस्तो दुर्भाग्यपूर्ण स्थितिको निश्चय नै समाप्ती अनिवार्य भइसकेको छ भन्ने सन्देश हरेक समुदाय तथा गाउवस्तीमा फैलाउनु पर्दछ । त्यसैले कुनै पनि सामाजिक, सांस्कृतिक गलत संस्कार र परम्परा अन्त्यका लागि कठोर ढंगले प्रस्तुत हुनै पर्दछ । सधैंभरी अरुका दृष्टिमा मजाक बन्नुपर्ने, बदनाम हुनुपर्ने, लज्जित बन्नुपर्ने अवस्थाले निरन्तरा पाउनु हुदैन भन्नेमा गम्भीर र संवेदनशील हुनै पर्दछ । अहिले कतिपय स्थानीय तहले छाउपडी कुप्रथालाई मान्ने वा निरन्तरता दिने व्यक्ति र परिवारलाई सरकारी सेवासुविधाबाट बञ्चित गराउने उपाय लागू गरिरहेको सन्दर्भमा यसलाई सबैले सकारात्मक ढंगले ग्रहण गर्नु आवश्यक हुन्छ । यसका साथै अब छाउपडी कुप्रथा उन्मुलनका लागि उदाहरणीय कार्य गर्ने व्यक्तिलाई पुरस्कृत वा सम्मान गर्ने कार्यको पनि थालनी गर्नेतर्फ पहल जरुरी भइसकेको छ ।