१६ बैशाख २०८१, आईतवार

राज्यबाट अझैं उपेक्षित महसुस गर्छन्, राजी



भजनी / कैलालीका अल्पसंख्यक राजी समुदायलाई अझैं पनि संघीयताले छुन सकेको छैन । उनीहरूको परम्परागत पेसा फेरिएको छ, तर अझै पनि अवस्था फेरिन सकेको छैन । उनीहरूले अझैं पनि राज्यबाट आफूहरूले उपेक्षित भइरहेको महसुस गरिरहेका छन् ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ भुरुवागाउका राजी समुदायले अझैं पनि आफूहरूले सुकुम्बासीको जीवन बिताउनु परेको गुनासो गरे । भुरुवागाउँका राजी समुदायले भने– हामीले पुस्तौदेखि भोगचलन गरिरहेको जमिनको पनि अहिलेसम्म जग्गाधनी पुर्जा (लालपुर्जा) पाउन सकेका छैनौं ।
भुरुवागाउँका राजी समुदाय आफूहरूले वर्षायाममा डुबान र बाढीको डरत्रासमा बस्नुपरेको गुनासो व्यक्त गर्छन् । राजी समुदाय मध्य अधिकांसले माछामार्ने, मह काढ्ने परम्परागत पेशा छोडिसकेका छन् । उनीहरू प्रायः दैनिक मजदूरीका भारत जाने गरेका छन् ।
पछिल्ला दिनमा स्थानीय तहरूले आफ्नो सिमानाभित्रका नदी तथा तालतलैयामा माछाको ठेक्का दिने गरेका छन् । गाउँका तालतलैयाहरु स्थानीय तहले ठेक्का लगाएपछि राजी समुदायको माछा मार्ने पेशा संकटमा परेकोा छ । त्यस्तै वैज्ञानिक वन व्यवस्थापन शुरु भएपछि जंगलमा मौरीका घार पाउन मुस्किल हुने गरेको छ ।
भुरुवागाउँका रितु राजीले आफ्नो खेतबारीको खाद्यान्नले बढिमा तीन महिना मात्रै पुग्ने गरेको बताइन् । उनले पुस्तौदखि आफूले भोगचलन गरेको जमिनको अहिलेसम्म लालपुर्जा नपाएको बताइन् ।
केही दिनअघि युनिक नेपालद्वारा आयोजित “राजी समुदायका समस्या गुनासो र संघियतापछि भएका परिर्वतन” विषयक छलफलमा सहभागी राजी समुदायका प्रतिनिधिले आफूहरुले भोग्नुपरेका समस्याबारे प्रस्तुत गरे ।
भुरुवाकै गोले राजीले आफुहरुको परम्परागत पेशा र मौलिक संस्कृती लोप हँुदै गएको बताए । उनले सामुदायिक वनहरुका कारण जंगलमा मह काढ्न नपाइने, नगरपालिकाले तालतलैयाहरु ठेक्कामा दिएका कारण माछा मार्न नपाईने लगायतका समस्या भोगिरहेको बताए । उनले भने– हामीले वर्षौदेखि भोगचलन गरिरहेको जमिन र वनजंगल अतिक्रमण भइरहेकोप्रति स्थानीय सरकारले ध्यान दिएको छैन ।
अर्का सहभागी ममता राजीले बेरोजगारीको पीडा सुनाईन् । उनले भनिन्– राजी बालबालिकाका लागि पढ्न गाउँमा विद्यालय छैन ।
तुल्सी राजीले भुरुवा गाउँमा सरकारले विभिन्न रोजगारमुलक सीप प्रदान गर्ने तालीमको व्यवस्था गर्नुपर्ने बताइन् । उनले भनिन्– बाख्रा पालन, सिलाई कटाई, बंगुर पालन जस्ता सीपमुलक तालीम प्रदान गरिएमा हाम्रो बेरोजगारी केही कम हुन्थ्यो । गाउँका युवाहरु रोजगारीको लागि भारत जान्छन् । सरकारले हाम्रो लागि सीपमुलक तालीमको व्यवस्था गर्नु पर्छ ।
इलेक्ट्रोनिक विषयमा स्नातक तह उत्तिर्ण गरे पनि गाउँमै बरोजगार भएर बस्नु परेको शिवलाल राजीले सुनाए । उनले भने– म जस्तै गाउँका थुप्रै साथीहरु बेरोजगार छन् ।
त्यस्तै, भीम राजीले आफुहरु २०३६ सालदेखि भुरुवा गाउँमा बस्दै आए पनि अझैं जग्गाको लालपुर्जा नपाएका कारण कुनै काम गर्न नसकेको बताए । उनले भने– जग्गाको लालपुर्जा भए बैकंबाट ऋण लिएर केही व्यवसाय गर्न सजिलो हुन्थ्यो । अहिले चर्को ब्याजदरमा ऋण लिनुपरेको छ ।
भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले भुरुवा गाउँमा यातायतको समस्या समाधान भईसकेको बताए । उनले भुरुवा गाउँ जोड्ने पुलको डिपीआर तयार भईसकेको बताए । उनले निशुल्क रुपमा बिजुलीको मिटर जडान गर्न पहल भईरहेको, स्वच्छ खानेपानीको काम सुरु भएको बताए ।
छलफलमा वडा नम्बर ९ का अध्यक्ष श्रीकृष्ण चौधरीले राजी बस्तीका मुख्य समस्या नदि कटान रहेको बताए ।
छलफलमा सुदूरपश्चिम प्रदेश सभा सदस्य श्यामलाल रानाथारुले संविधानले सबै जातजातिको अधिकार संरक्षण गरे । प्रदेश सांसद रानाथारुले सरकारले ऐलानी जग्गामा बसोबास गर्दै आएका परिवारहरुलाई लालपुर्जा वितरण गर्ने तयारी गरिरहेको बताए ।
प्रदेश सांसद महेशदत्त जोशील राजी समुदायको संख्या घटिरहेकोप्रति गम्भीर हुनुपर्ने बताए ।
प्रदेश सभा सदस्य विरभान चौधरीले राजी बस्तीलाई नमुना बस्तीको रुपमा विकास गर्नुपर्ने बताए । उनले राजी समुदायमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका समस्या समाधान गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए ।
उनले कान्द्रा नदी कटानको समस्या रोक्न यस वर्ष प्रदेश सरकारले १५ करोड रुपैयाको योजना अघि सारेको बताए । उनले लालपुर्जाको समस्या संघिय सरकारले नीति बनाईसकेको र चाडैं वितरण गर्ने तयारी गरिरहेको बताए ।
सासंद नेपालु चौधरीले राजी समुदायको जीवनस्तर माथि उकास्ने र देशमा सरकार छ भन्ने अनुभुति दिलाउन् प्रदेश सभाले आवश्यक नीति र कानून निर्माण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार