२२ बैशाख २०८१, शनिबार

छोटी भन्सार कार्यालय अझैं पुनस्र्थापना भएन



डडेल्धुरा/ सशस्त्र द्वन्द्वको समयमा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पनि पुनस्र्थापना हुन नसक्दा डडेल्धुराको आधा जनसंख्या रहेको भित्रिमधेश क्षेत्रका बासिन्दाले सास्ती भाग्नुपरेको छ ।
डडेल्धुरा जिल्लाको महाकाली सिमावर्ती क्षेत्रमा बर्षौदेखि भन्सार कार्यालय र महाकाली नदीमा पुल निर्माण हुन नसक्दा यहाँका जनताले सास्ती खेप्नु परिरहेको हो ।
जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँ बाङघाट र सोही नगरपालिका–७ को सिसमझालामा छोटी भन्सार कार्यालय पुनस्र्थापना नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ ।
महाकाली नदीपारी रहेको भारतको टनकपुर बजारबाट सामान ल्याउन छोटी भन्सार कार्यालय नहुँदा यहाँका स्थानीय बासिन्दाले कञ्चनपुरको भन्सार पुग्नुपरेको छ ।
परशुराम नगरपालिकाबाट जिल्ला सदरमुकाम डडेल्धुरा, कैलाली र कञ्चनपुरभन्दा पनि भारतीय बजार नजिक पर्ने भएकाले यस क्षेत्रमा छोटी भन्सार कार्यालय पुनस्र्थापना भएमा सहज हुने स्थानीय प्रेम बोहरा भनाइ छ ।
उनले भने ‘समान्य समाग्री ल्याएको दिनमात्र यो बाटो आउन पाइन्छ, भान्सार लाग्ने समाग्री लिएर भारतबाट आएको समयमा त हजुर १ दिनको लामोबाटो कञ्चपुर भएर आउनुपर्छ, छोटी भन्सार भए सजिलो हुने थियो नि ।’
भारतको टनकपुर नेपालीका लागि नजिकको बजार भएको र सामान पनि सस्तो पाइने भएकाले यहाँका नागरिकहरू डुंगाको जोखिमपूर्ण यात्रा गरी टनकपुर जाने गर्दछन् ।
एकातर्फ जोखिमपूर्ण यात्रा र अर्कोतर्फ भन्सार नहुँदा निकै समस्या हुने गरेको स्थानीय गौरी देवी भट्टराईको गुनासो छ ।
गौरीले भनिन, ‘हरेक वर्षका निर्वाचनमा नेताहरू पुल बनाउछौं, भन्सार स्थापना गर्छौं, भनेर भाषण गर्थे अहिले हाम्रो समस्या कसले बुझ्छ ? न भन्सार छ न पुल, जोखिमपूर्ण यात्रा त छ नै ।’ उनले समान्य समाग्री लिए पनि प्रहरीले गर्ने झमेला कायम रहेको, राती बिरामी परे डुंगा नचल्ने गुनासो गरिन् ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहेका समयमा परशुरामधाम दर्शन गर्न आउने पर्यटक तथा भक्तजनहरूलाई भने यो रुट सहज तथा छोटो हुने भएकाले उनीहरू डुंगा चडेर आउने गर्दछन् । तर डुंगाको यात्रा जोखिमपूर्ण हुने भएकाले ज्यानै धरापमा राखेर परशुराम आउपर्ने बाध्यता रहेको छ ।
वर्षौंदेखि कष्टकर डुंगाको यात्रा भोग्दै आएकोले सरकारले चाँडोभन्दा चाँडो यस ठाउँमा छोटी भन्सारका साथै पुल निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेको कुरा बताउछन् यहाँका स्थानीय प्रेम सिँह कार्की ।
‘२० वर्ष भयो भारतमा काम गर्न जाने आउने गरेको अहिले पनि आउँदै छु । जति पटक आयो अब पुल बन्दैछ भनेर दाजुभाइ भनिराखेका हुन्छन् तर अहिलेसम्म केही सुरसार देखएको छैन, सरकारले छिटो पुल बनाइदिनुपर्छ’ प्रेमले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार