२२ बैशाख २०८१, शनिबार

इट्टाको हाहाकार : विकास निर्माण योजना प्रभावित



धनगढी/ मंसिरको अन्तिम साता र त्यसपछिका दिनमा पटकपटक परेको वर्षाका कारण कैलाली र कञ्चनपुरमा इट्टा उत्पादन ठप्प भएको छ । असमयको वर्षाका कारण लाखौं गोटा काँचोइट्टा बिग्रेपछि अहिले कैलाली र कञ्चनपुरमा इट्टाको हाहाकार भएको छ ।
इट्टा उत्पादन नराम्ररी प्रभावित भएपछि कैलाली र कञ्चनपुरमा निर्माणाधीन विकास निर्माण योजना प्रभावित भएका छन् । पोल्नका लागि तयार गरिएको का“चो इट्टा वर्षाका कारण नष्ट भएपछि उत्पादन ह्वात्तै घटेको छ भने बजारमा इट्टाको मुल्य आकासिएको छ ।
खप्तड इट्टा उद्योगका सञ्चालक दीपेन्द्र श्रेष्ठले भने– मंसिर २८ गते परेको वर्षाले काँचो इट्टा पूर्ण रुपमा सखाप गर्यो । त्यसयता इट्टा उत्पादन हुनसकेको छैन ।
हिउदे वर्षाका कारण काँचो इट्टा नष्ट भएपछि इट्टा उत्पादन ठप्प भएसंगै व्यक्तिगत घर निर्माण कार्यमा पनि कठिनाई बृद्धि भएको छ । त्यस्तै, कैलाली र कञ्चनपुर तथा पहाडी जिल्लामा समेत स्थानीय, प्रदेश तथा संघिय सरकारका विकास निर्माण योजनाहरू प्रभावित भएका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा कैलाली र कञ्चनपुरबाट नै इट्टा आपूर्ति हुने गरेको छ ।
निर्माणाधीन गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउँदले भने– यस वर्ष हिउँदमा पटकपटक भएको वर्षाका कारण निर्माण कार्यमा ढिलाई भइरहेको छ । बजारमा इट्टाको चरम अभाव भएकोले निर्माण कम्पनीले काम तीब्र रुपमा अघि बढाउन सकेको छैन ।
कार्यकारी निर्देशक साउदले अहिले नेपालगञ्जबाट इट्टा मगाएर निर्माण कार्य जारी राखिएको बताए ।
एमके निर्माण कम्पनीका प्रमुख चन्द्र शाहले इट्टाको अभावका कारण ३२ करोड रुपैया बढि लागतका आयोजनाहरू अलपत्र परेको बताए । उनले टीकापुरमा निमार्णाधिन सघन शहरी विकासको कल्र्भट निर्माण, धनगढीको राजपुरमा निर्माणाधीन क्षेत्रीय आयुर्वेद भवन लगायतका आयोजनाहरूको काम रोकिएको बताए । ‘बजारमा इट्टा नपाएपछि निर्माण कार्य नै रोक्नु परेको छ’ उनले भने–सम्झौता मितिमा काम पुरा हुननसक्ने निश्चित भएको छ ।
इट्टा अभावकै कारण काम गर्न निकै कठिनाई भइरहेको बताउदै पिएस कन्स्ट्रक्सनका सञ्चालक कामी शेर्पाले भने– इट्टा नपाएपछि तीन करोड रुपैया लागतमा बेहडाबाबामा निमार्णाधिन भौतिक संरचनाहरूको काम अढाई महिनादेखि रोकिएको छ ।
उनले धनगढीको राजपुरमा निर्माण भइरहेको रानाथारु संग्रहालय र धनगढी गाउँमा निर्माणाधीन विद्यालय भवनको काम पनि रोकिएको बताए । उनले भने– इट्टा अभावमा थुप्रै कामहरू अलपत्र परेका छन् । अब सम्झौता मितिमा काम पुरा हुने छाँट देखिन्न ।
निर्माण व्यवसायी नरेन्द्र बोहराले पनि बजारमा इट्टाको चरम अभाव भएका कारण विकास निर्माण कार्य रोक्नु पर्ने अवस्था आएको बताए । उनले भने– एक महिनादेखि इट्टाको अभाव छ । कतै पाइहाले पनि निकै मुल्य बढेको छ ।
कैलाली कञ्चनपुरमा गत असारसम्म प्रति एक हजार इट्टाको मुल्य ११ हजारदेखि १३ हजार रुपैया रहेकोमा अहिले न्युनतम मुल्य प्रति एक हजारको १६ हजार रुपैया रहेको बताइन्छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पनि इट्टा अभावका कारण नगरभित्रका योजनाहरू रोकिएको बताए । उनले भने– इट्टा व्यवसायीहरूले फागुनमै इट्टा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसैले नगरभित्रका निर्माण योजनाहरू फागुनदेखि नै सञ्चालन हुनेछन् ।
२० करोड बढिको क्षति
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा ९० बढि इट्टा उद्योग छन् । प्रायः हरेक वर्ष वर्षायाम सकिएपछि इट्टा उत्पादन शुरु हुने गर्दछ । यस पटक मंसिरदेखि नै वर्षा भइरहेका कारण इट्टा उद्योग निकै प्रभावित भएका छन् । सुदूरपश्चिम इट्टा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले भने– हिउददेखि विकास निर्माण आयोजनाहरू शुरु हुन्छन् । यही वेला यस पटक पटकपटकको वर्षाका कारण इट्टा उत्पादन गर्न समस्या भइरहेको छ ।
उनका अनुसार मंसिर २८ गतेदेखि पटकपटक परेको हिउदे वर्षाका कारण करोडौ रुपैया मूल्यको काचो इट्टा नोक्सान भएको छ । उनले अहिलेसम्म इट्टा व्यवसायमा करिब २० करोड रुपैया बढिको नोक्सान भइसकेको बताए । उनले भने– प्रत्येक इट्टा उद्योगले ५० देखि ६० लाख रुपैयासम्मको क्षति व्यहोरेका छन् ।
उनले असोजदेखि मंसिरसम्म काचो इट्टा बनाउने र सुकाउने कार्य हुने र पुस र माघमा पोल्ने तथा बजारमा पु¥याउने काम हुने बताए । उनले भने– यस वर्ष मंसिरमै वर्षा भएपछि घाममा सुकाइएका इट्टा गलेर नष्ट भएकाले इट्टा उत्पादन गर्न सकिएको छैन ।
व्यवसायी भन्छन्– फागुनसम्म पनि उत्पादन मुस्किल छ
कैलालीका इट्टा व्यवसायीहरूले यस वर्ष फागुनसम्म पनि इट्टा उत्पादनको न्युन सम्भावना रहेको बताएका छन् । इट्टा व्यवसायी संघ कैलालीका महासचिव समेत रहेका खप्तड इट्टा उद्योगका सञ्चालक दिपेन्द्रले काँचो इट्टा सुकाउन १५ देखि २० दिन लाग्ने भएकाले फागुन महिनासम्म उत्पादन गर्न कठिनाई हुने बताए ।
उनले भने– माघ १५ गते परेको सिमसिम वर्षाका कारण केही ईट्टा उद्योगको काचो इट्टा पुनः नष्ट भएको छ । गर्मीयाममा काचो इट्टा चार दिनमा सुक्ने भए पनि हिउदमा १५ देखि २० दिन लाग्ने गर्दछ ।
इट्टाको मूल्य बढाउने तरखर
कैलाली र कञ्चनपुरमा इट्टाको मुल्य ढुवानीसहित प्रति इट्टा १३ रुपैयाँ रहेको छ । सुदूरपश्चिममा वार्षिक ४० करोड इट्टा उत्पादन हुँदै आएको छ । यस पटक हिउँदे वर्षाका कारण नौ करोड गोटा काँचो इट्टामा क्षति पुगेपछि व्यवसायीहरू मूल्य बढाउने तरखरमा रहेका छन् ।
‘इट्टा उत्पादन हुन सकेको छैन । बैंकको ब्याज, मजदुरको ज्याला, कच्चा पदार्थ लगायतको ठूलो लागत खर्च’ सुदूरपश्चिम इट्टा व्यवसायी संघका महासचिव सुरेन्द्र कठायतले भने– अब इट्टाको मूल्य बढ्छ । उनले प्रति इट्टा ढुवानीसहित १५ रुपैयाँ पुग्न सक्ने बताए ।
विमाको व्यवस्था गर्न माग
सुदूरपश्चिम प्रदेशका इट्टा व्यवसायीहरूले इट्टाको विमाको व्यवस्था गरिनुपर्ने माग गरेका छन् । सुदूरपश्चिम प्रदेश इट्टा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले इट्टाको विमाको व्यवस्था भए व्यवसायीहरूलाई राहत हुने बताए ।
‘सामान्य वर्षाले पनि काँचो इट्टामा क्षति पुर्याइरहेको छ’ उनले भने– यदि विमाको व्यवस्था गरिने हो भने व्यवसायीहरूले व्यहोरेको क्षतिमा केही राहत हुने थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार