१७ बैशाख २०८१, सोमबार

कुष्ठरोग तथा हात्तीपाइले रोग निवारणका चुनौति



सम्पादकीय/ सरकारले एक दशकअघि नै नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको भए पनि सुदूरपश्चिम प्रदेशको पछिल्लो तीन वर्षको अवधिको तथ्यांकले कुष्ठरोगीको संख्यामा वर्षेनी बृद्धि भइरहेको देखिएको छ । प्रति दश हजार जनसंख्यामा एक प्रतिशत भन्दा कम दरमा कुष्ठरोगका बिरामी उपचारमा रहेको अवस्थालाई कुष्ठरोग निवारण भएको मानिन्छ भने अहिले सुदूरपश्चिम प्रदेशमा त्यो दर एक प्रतिशत भन्दा अधिक रहेको देखिन्छ । तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली र अछामा कुष्ठरोगको जोखिम अझ अधिक रहेको छ । यी दुई जिल्लामा उपचारमा रहेका कुष्ठरोगका विरामीको दर प्रति दश हजार जनसंख्यामा दुई प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । यी दुई जिल्ला सहित सुदूरपश्चिममा औसतमा पछिल्ला तीन वर्षको अवधिमा हरेक वर्ष उपचारमा रहेका कुष्ठरोगीको संख्यामा बृद्धि भएको तथ्यांकले देखाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका कैलाली र अछाम तथा कञ्चनपुरमा कुष्ठरोगका नया बिरामी पत्ता लाग्ने दर पनि उच्च रहेको देखिन्छ । समनाजमा अझैं पनि कुष्ठरोगीका प्रति गरिने अपहेलना तथा छिछिदूरदूरको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखापरे पनि बिरामी उपचारका लागि आउन संकोच गरिरहेको अवस्था कायमै रहेको छ । रोगका लक्षण देखा परेमा अथवा शंका लागेमा प्रारम्भिक अवस्थामै उपचार गराउदा कुष्ठरोग निको हुने भए पनि लामो समयसम्म रोग लुकाउने गरिएका कारण अंगभंग अथवा अपाङ्ग हुनुपर्ने अवस्था पनि आउने गरेको छ । कुनै वेला कुष्ठरोग भनेको ईश्वरको श्राप हो भन्ने समाजमा अन्धविश्वास थियो । अहिले त्यस्तो मानसिकता वा सोच नभए पनि कतिपयले स्वयं नै आफ्नो रोग लुकाउने गरेको पाइन्छ ।
अर्कोतिर, हात्तीपाइले रोग विरुद्धको औषधी बारे अनेक किसिमका भ्रामक प्रचार र सोचका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर सहित देशका एक दर्जन बढि जिल्लामा पुनः हात्तीपाईले रोग निवारण कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सफल भइसकेको भए पनि कैलाली र कञ्चनपुरमा पूर्ण रुपमा सफल हुनसकेको छैन । अझ कैलालीमा लगातार दुई वर्षसम्म अर्थात् अर्को वर्ष पनि यो अभियान सञ्चालन गर्नुपर्ने अवस्था छ । कैलालीमा गत आर्थिक वर्षमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नेको संख्या उनसत्तरी प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ । हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा मान्छेको मृत्यु हुने, स्वास्थ्यमा प्रतिकुल असर पर्ने जस्ता अत्यन्त भ्रामक प्रचार तथा बुझाईले कैलाली कञ्चनपुर जस्ता अपेक्षाकृत शहरीकरण भएका र सुविधासम्पन्न जिल्लामा नै यो अभियान कमजोर देखिएको छ । पढेलेखेका व्यक्तिहरूमा समेत हात्तीपाइले रोग विरुद्धको औषधीप्रति नकारात्मक सोच रहेको देखिन्छ ।
सुदूरपश्चिम प्रदेशबाट कुष्ठरोग तथा हात्तीपाइले रोग निवारण अभियान पूर्ण रुपमा सफल बनाउनका लागि समाजमा यी रोग र उपचारबारे जागरुकता ल्याउन हरसम्भव प्रयास गरिनु पर्दछ । लुकेर बसेका कुष्ठरोगीहरूलाई उपचार प्रक्रियामा आउने भरपर्दो वातावरण निर्माण गर्नेदेखि एक पटक पुनः रोगीको खोजपडताल अभियान सञ्चालन गर्नु पर्दछ भने हात्तीपाइले रोग विरुद्धको औषधीबारे समाजमा रहेका भ्रमको निवारण गर्न संगसंगै व्यापक प्रचारात्मक अभियान पनि सञ्चालन गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार