४ जेष्ठ २०८१, शुक्रबार

वडा कार्यालय : सरेको सर्‍यै



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का रुपेश भट्टराईलाई नाता प्रमाणित गर्नुपर्ने भयो ।

उनी आवश्यक कागजात बोकेर टीकापुर वडा नम्बर १ को कार्यालय पुगे । हिजोसम्म टीकापुर नगर विकास समितिको गेटहाउसमा वडा कार्यालय थियो, त्यसैले उनी त्यहाँ पुगेका थिए । हतारहतारमा उनी त्यहाँ पुगे । त्यहाँ पुगेपछि उनलाई थाह भयो– वडा कार्यालय त सरिसकेको रहेछ । ‘जनतालाई सेवा दिने कार्यालय त निश्चित ठाउँमा हुनुपर्छ नि †’ उनले भने– पछि वडा कार्यालय खोज्दै बजारमा आए । वरपर सोधपुछ गरेपछि बल्ल वडा कार्यालय भेट्टाए ।
टीकापुर नगरपालिका ब्लक नम्बर ३१ का सुनिता ओझा सहित पाँच जना महिला आफ्नो टोलको सडक मर्मतका लागि बजेट माग गर्न वडा कार्यालय आए । वर्षाका कारण उनीहरूको घर नजिकैको बाटो हिलाम्य भएको थियो । “वडा अध्यक्षसंग सडक ग्राभेलका लागि माग गर्न वडा कार्यालय पुग्यौं । त्यहाँ पुगेपछि वडा कार्यालय बन्द भएको देख्यौं” सुनिताले भनिन्– पछि पो वडा कार्यालय सरेको थाहा भयो ।
सुनिता बारम्बार वडा कार्यालय सार्दा सेवाग्राहीले अनाहकमा सास्ती भोग्नु पर्ने बताउँछिने । उनी भन्छिन्– टीकापुर नगरमा सरकारी जग्गाको अभाव छैन । नगरपालिका आफैले पनि सपिङ कम्प्लेक्स बनाएर भाडामा दिएको छ । वडाको स्थायी कार्यालय बनाएको भए हुन्थ्यो नि ।
कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ । यो सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढि जनसंख्या (४० हजार बढि) भएको वडा हो । यो वडाको मतदाता संख्या मात्रै २० हजार बढि छ । ठूलो जनसंख्या भएकाले यो वडाको वडा कार्यालयमा दैनिक सेवा लिन आउने सेवाग्राहीको पनि ठूलै भीड लाग्ने गरेको छ ।
ठूलो जनसंख्या भएको वडा र दैनिक सेवा लिन आउने सयौं सेवाग्राही । तर, यो वडाको कार्यालय पछिल्लो साढे दुई वर्षको अवधिमा तीन ठाउँमा सरिसकेको छ । स्थानीय निर्वाचन अघि यो वडा कार्यालय खानेपानी ट्यांकीको टिनले छाएको साँघुरो दुई कोठे भवनमा रहेको थियो । निर्वाचनपछि ठाउँ अभाव भएको भन्दै वडा कार्यालयलाई टीकापुर नगर विकास समितिको गेष्ट हाउसमा सारियो । दुई वर्षसम्म जेनतेन त्यही वडा कार्यालय सञ्चालन भयो । तर, कार्यालयमा सधैं सेवाग्राहीको भीड । सेवा लिन आएका सेवाग्राहीलाई बस्ने ठाउँ त परै जाओस् उभिने ठाउँ पनि थिएन । नगरपालिका कार्यालयले वडामै प्राविधिक कर्मचारी खटाएपछि वडा कार्यालयमा सेवाग्राहीको संख्या झन् बढ्न थाल्यो । सेवा दिन कठिन भएपछि वडा कार्यालय फेरि बजारमा भाडामा घर लिएर सरेको छ ।
वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्यले बजारमा वडा कार्यालय सारिएपछि हाल सेवा प्रवाहमा केही सजिलो भएको बताए । ‘पहिलेको घरमा सेवाग्राहीलाई उभिने पनि ठाउँ नहुने भएपछि अहिले भाडाको घरमा स¥यौ’ वडाध्यक्ष आचार्यले भने– वडा कार्यालयको आफ्नै भवन आवश्यक भइसकेको छ ।
टीकापुर नगरपालिका वडा नम्बर १ लाई मात्रै बारम्बार कार्यालय सार्नुपर्ने बाध्यता रहेको छैन, अरु वडाको अवस्था पनि त्यस्तै छ । वडा नम्बर २ को कार्यालय पनि कोठा अभाव भएको भन्दै पुरानो स्थानबाट तीन महिना पहिले भाडाको घरमा सरेको छ ।
टीकापुर नगरपालिकाको वडा नम्बर १, २, ५ र ९ का कार्यालय अहिले पनि भाडाको घरमा सञ्चालित छन् । वडा नम्बर ३ र ६ का कार्यालय स्वास्थ्य चौकीको भवनबाट सञ्चालनमा छन् । टीकापुर नगरपालिका वडा नम्बर ८ र ७ (साविक धनसिंहपुर र नारायणपुर गाविस) भने भने आफ्नै कार्यालयमा सञ्चालनमा छन् । नौ वटा वडा रहेको टीकापुर नगरपालिकाका चार वडा वडा भाडाको घरमा सञ्चालन भइरहेकाले वार्षिक लाखौ रुपैयाँ खर्च भइरहेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले चालू आर्थिक वर्ष २०७६÷०७७ मा वडा नम्बर २ र ९ मा कार्यालय भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताए । प्रमुख प्रशासकीय अधिकृत पन्थीले भने– अहिले नौ मध्ये चार वटा वडा कार्यालय भाडाको घरमा सञ्चालनमा रहेका छन् । दुई वटा वडा कार्यालय भवन चालू आर्थिक वर्षभित्रै निर्माण गरिने छ भने बाँकी दुई वडाका कार्यालय भवन आगामी आर्थिक वर्ष निर्माण गरिने छ । प्रमुख प्रशासकीय अधिकृत पन्थीले भाडाको घरमा कार्यालय सञ्चालन गर्दा केही कठिनाई हुने गरेको बताउँछन् । मान्छेले आफ्नो आवासका लागि बनाएका घरमा कार्यालय सञ्चालन गर्दा सेवाप्रदायक तथा सेवाग्राही दुवैले केही न केही कठिनाई भोग्नै पर्नेहुन्छ ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले नगरपालिकाले वडा कार्यालय बनाउन पहल नै नगरेको भन्न नमिल्ने बताए । उनले भने– दुई वटा वडा कार्यालय भवन निर्माणका लागि हामीले सम्झौता गरिसकेका छौं । कतिपय वडा कार्यालय भवन निर्माणका लागि आफ्नो जग्गा छैन । आफ्नै जग्गा भएका वडामा कार्यालय भवन बनाउने कार्य शुरु भएको छ । अबको दुई वर्षको अवधिमा नगरपालिकाका सबै वडाका आफ्नै भवनमा कार्यालय सञ्चालन हुनेछन् ।
टीकापुर नगरपालिकासंग सिमा जोडिएका जानकी र जोशीपुर गाउँपालिका तथा वडा कार्यालय पनि भाडाकै घरमा सञ्चालित छन् । स्थानीय तह निर्वाचनपछि जानकी गाउँपालिकाको कार्यालय अहिले पनि भाडाकै घरमा सञ्चालनमा छ ।
जानकी गाउँपालिकाको कार्यालय सहित वडा नम्बर ३, ५, ६ र ७ का वडा कार्यालय भाडाको घरमा सञ्चालनमा छन् । वडा नम्बर ९ को वडा कार्यालय सहकारीको भवनमा राखिएको छ भने वडा नम्बर २, १, ४ र ८ का कार्यालय साविकका गाविस भवनमा सञ्चालनमा छन् । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा अभाव भएपछि समाजसेवी कर्णप्रताप राणाले डेढ बिघा जग्गा दिएको भए पनि अहिलेसम्म भवन निर्माण हुन सकेको छैन । भवन निर्माणका लागि गाउँपालिकाले गाउँपालिका भवन निर्माणका लागि एक करोड र वडा कार्यालयका लागि एक करोड रुपैयाँ विनियोजन गरेको बताइएको छ, तर अहिलेसम्म भवन निर्माणका लागि टेण्डर प्रक्रिया नै शुरु भएको छैन ।
गाउँपालिका अध्यक्ष प्रदिप कुमार चौधरीले कार्यालय भवन बन्ने जग्गामा माटो पटानी कार्य भइरहेको बताए । उनले जग्गाको माटो परीक्षण कार्य अघि बढाइएको बताए । ‘कार्यालय भवन अभावमा काम गर्न कठिनाई छ । सम्भवतः चालू आर्थिक वर्षभित्रै गाउँपालिकाको भवन निर्माण शुरु गर्ने योजनामा छौं’ अध्यक्ष चौधरीले भने– वडा नम्बर ३ को कार्यालय समेत यसै वर्ष निर्माण गर्ने योजना छ ।
जानकी गाउँपालिकाका लेखापाल मेवालाल चौधरीले जानकी गाउँपालिका कार्यालय रहेको घरको भाडामा मात्रै वार्षिक १२ लाख रुपैयाँ बढि रकम खर्च भइरहेको बताए ।
त्यस्तै, जोशीपुर गाउँपालिकाको कार्यालय पनि भाडाकै घरमा सञ्चालनमा छ । जोशीपुर गाउँपालिका कार्यालय आधा भाडाको घरमा र आधा साविकको गाविस भवनमा सञ्चालनमा छ । जोशीपुर गाउँपालिकाको वडा नम्बर ४ को कार्यालय पनि भाडाको घरमा रहेको छ । जोशीपुरको वडा नम्बर ५ र ७ को कार्यालय संयुक्त एउटै घरमा सञ्चालनमा रहेका छन् । त्यस्तै, वडा नम्बर १ को कार्यालय साविक गाविस भवनमा रहेको छ ।
जोशीपुरमा गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । भवन निर्माणका लागि जिल्ला समन्वय समितिले सबै स्थानीय तहलाई एक÷एक करोड रुपैयाँ उपलब्ध गराएको थियो । जोशीपुर गाउँपालिकाले आफ्नो बजेटबाट थप ४० लाख रुपैयाँ विनियोजन गरेर कार्यालय भवन निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कमल उपाध्यायले जानकारी दिए । ‘कार्यालय छरिएर रहेका कारण सेवा प्रवाहमा असहजता हुन्छ । एउटै भवनमा सबै शाखाहरु भएको भए काममा सहजता हुन्थ्यो’ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने– आगामी आर्थिक वर्षमा वडा कार्यालयका भवनहरू पनि निर्माण गर्ने योजना छ ।
स्थानीय तहका कार्यालयहरु भाडाको घरमा सञ्चालन गर्दा खर्चिलो हुनुका साथै पटकपटक कार्यालय सार्नुपर्ने वाध्यता रहेको छ । जसले सेवा प्रवाहमा समस्या हुने गरेको जनप्रतिनिधिहरु नै बताउँछन् ।
गाउँपालिका तथा वडा कार्यालयहरु भाडाको घरमा सञ्चालन गर्न जानकी गाउँपालिकाले वार्षिक पाँच लाख, जोशीपुर गाउँपालिकाले सात लाख र टीकापुर नगरपालिकाले वार्षिक आठ लाख रुपैयाँ छुट्याएको जनाएको छ ।
टीकापुर नगरपालिकाले वडा कार्यालयको भवन निर्माणका लागि एक करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । यो रकमबाट वडा नम्बर २ र ९ का वडा कार्यालय निर्माण कार्य शुरु भएको छ ।
त्यस्तै, जानकी गाउँपालिकामा वडा कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार