१ जेष्ठ २०८१, मंगलवार

कहिले पाइएला, गुणस्तरीय स्वास्थ्य सेवा ?



नरि बडु/बैतडी । गत साउन महिनामा सिगास गाउँपालिका वडा नम्बर ७, बोरीगाउँकी सरस्वती बोहरालाई सुत्केरी व्यथाले च्याप्यो । नजिक अस्पताल/बर्थिङ सेन्टर नभएकाले सरस्वतिका परिवारजनले उनलाई बझाङ जिल्ला अस्पताल लैजान खोजे । तर, नजिकको स्वास्थ्य चौकीमा स्ट्रेचर थिएन । बाध्यताबस उनका परिवारजनले काठमा कपडा बेरेर “स्ट्रेचर” बनाएर उनलाई बझाङ जिल्ला अस्पताल पुर्‍याए ।


काठको स्ट्रेचरमा झरिमा भिज्दै सुत्केरीलाई बझाङ अस्पताल लैजादाको क्षण स्मरण गर्दै सरस्वतीका आफन्त अर्जुन बोहराले भने– भूगोलले नै ठगिएका हामी जस्ता दुर्गम च्वाँगडवासीका पीडा गाउँघरको सरकारले पनि सुनेन ।
उनले प्रसुति गराउन आफ्नै गाउँपालिका सिगासको शिवलिङ्ग स्वास्थ्य चौकी पुग्न छ घण्टा र न्वाघर बर्थिङ सेन्टर पुग्न तीन घण्टा लाग्ने भएकोले दुई घण्टा उकालो हिँडेर बझाङको देउरा हुँदै बझाङ जिल्ला अस्पताल पुर्‍याएको बताए । बझाङ जिल्ला अस्पतालमा सरस्वतीले छोरी जन्माइन् ।
बैतडीको पूर्वी च्वाँगढ क्षेत्रमा पर्ने सिगास गाउँपालिकामा करिब ३० हजार जनसंख्या छ । यहाँ छ वटा स्वास्थ्य चौकी रहेका छन् । तर, एउटै पनि स्वास्थ्य चौकीमा स्टेचर छैनन् । भएका स्टेचर पनि खिया लागेर थन्किएका छन् ।
यसअघि सिगास गाउँपालिका वडा नम्बर ४ गड्तोलाकी गीता साउदलाई सुत्केरी व्यथा लागेपछि खिया लागेको स्टे«चरमा अस्पताल लैजानेक्रममा आधा बाटो मै स्टेचर भाँचिएको थियो ।
आधा बाटोमा स्टेचर भाँचिएपछि सुत्केरीका उनलाई काठमा कम्बल बेरेर अस्पताल लैजानु परेको सुत्केरीका नातेदार राजेन्द्र साउदले बताए । च्वाँगढ क्षेत्रका स्वास्थ्य चौकीमा पुग्ने बाटो समेत असजिलो छ । त्यसमाथि काठमा कपडा बेरेर सुत्केरी तथा अन्य बिरामीलाई बोकेर साँघुरो बाटोबाट लैजानु पर्दा निकै जोखिम हुनेगरेको च्वाँगढवासीको अनुभव छ ।
नेपालको संविधानको भाग तीन अन्तर्गत मौलिक हकको धारा ३५ ले प्रत्येक नागरिकलाई स्वास्थ्यको हक प्रदान गरेको छ । प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निशुल्क पाउने हकका साथै स्वास्थ्य सेवामा समान पहुँच हुने व्यवस्था हुने उल्लेख छ । तर, बैतडीका दुर्गम गाउँवस्तीका बासिन्दालाई संविधानको सो धाराले छोएको छैन ।
बैतडीका प्रायः स्वास्थ्य चौकीमा औषधी अभाव छ । प्रायः स्वास्थ्य चौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् । एकजना स्वास्थ्यकर्मीको भरमा स्वास्थ्य चौकी चलाउनु पर्ने बाध्यता छ । त्यस्तै, अधिकांस स्वास्थ्य चौकीले भौतिक संरचनाको कमी भोगिरहेका छन् । यी सबैको मार सेवाग्राहीले बेहोर्नु परिरहेको अवस्था छ ।
सुत्केरी बोक्ने स्टेचर समेत नभए पनि सिगास गाउँपालिकाले स्वास्थ्य संस्थामा नै अनिवार्य सुत्केरी गराउने सम्बन्धी विज्ञापनमा ठूलो धनराशी खर्च गरिरहेको छ । सडक यातायात नपुगेको सिगास गाउँपालिकाका जनप्रतिनिधिहरूले गाडी बुकिङ र तेल खर्चमा सात लाख रुपियाँ खर्च गरेको पाईएको छ ।
सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक जनकसिंह धामी स्वास्थ्य संस्थामा मात्रै नभएर प्रत्येक गाउँटोलमा कम्तिमा एउटा स्टेचरको व्यवस्था गरिनुपर्ने बताउँछन् । उनी भन्छन्– स्वास्थ्य चौकीहरूमा स्टेचरको अभाव छ ।
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले गाउँपालिकाले छिट्टै स्टेचर किन्ने योजना बनाएको बताए । अध्यक्ष धामीले भने– यो वर्ष स्वास्थ्यमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेका छौं । छलफल गरेर स्टेचर किन्छौं ।
सिगास गाउँपालिकामा गत साउनमा स्टेचर नहुँदा राती बिरामीलाई डोकोमा बेक्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसबारे विभिन्न मिडियामा समाचार प्रकाशन तथा प्रसारणको थियो ।

औषधीको अभाव पनि उस्तै

दशै अगाडी भाइरल ज्वराले थलिएकी धौली दयाल दशरथचन्द नगरपालिका वडा नम्बर ९ मा रहेको ग्वाल्लेक स्वास्थ्य चौकीमा पुगिन् । तर, उनले स्वास्थ्य चौकीबाट पुरा डोज औषधी पाइनन् । ग्वाल्लेख स्वास्थ्य चौकीले औषधी अभाव भएको भन्दै उनलाई आधा औषधी मात्रै दिएर पठायो । स्वास्थ्य चौकी प्रमुख शिवकुमार कठरियाले भने– औषधीको अभाव भएकाले मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोका साथै अन्य बिरामीहरूले समस्या भोग्नु परेको छ ।
सरकारले हरेक स्वास्थ्य चौकीमा ३९ प्रकारका औषधी निःशुल्क दिने व्यवस्था गरेको छ । तर, ग्वाल्लेख स्वास्थ्यचौकीमा हाल चार÷पाँच प्रकारका औषधी मात्रै उपलब्ध रहेको इन्चार्ज कठरीयाले बताए । उनले औषधी अभावका कारण सात दिनका लागि दिनुपर्ने औषधी २–३ दिनका लागि दिएर पठाउनु पर्ने बाध्यता रहेको बताए ।
‘बिरामीहरू धेरै आउँछन् । उनीहरूलाई सात दिनको औषधी चाहिएको भए पनि २–३ दिनको मात्र औषधी दिएर पठाउनु पर्ने बाध्यता छ’ अनमी सोनल राईले भनिन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख निशा जोशीले जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा निःशुल्क दिनुपर्ने औषधी अभाव रहेको बताइन् । उनले भनिन्– स्वास्थ्य एकाईहरू स्थानीय तहमा गाभिएपछि औषधीको अभाव हुन थालेको हो ।
औषधी खरिद प्रक्रिया, जनप्रतिनिधिको बेवास्ता र धनगढीमा रहेको औषधी आपुर्ति व्यवस्था केन्द्रसँग समेत सबै प्रकारका औषधीको कमी भएका कारण बैतडीका अधिकांस स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालमा औषधीको अभाव देखिएको बताइन्छ । बैतडी जिल्ला अस्पताल पाँच महिनादेखि औषधीको अभाव भइरहेको अस्पतालका प्रमुख डाक्टर जगदीश बिष्टले बताए ।
सरकारको नियामनुसार जिल्ला अस्पताल बैतडीबाट ७० प्रकारका औषधीहरू निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने भए पनि हाल जिल्ला अस्पतालमा १०–१२ प्रकारका औषधी मात्रै रहेको डाक्टर बिष्टले बताए ।
उनले भने– सरकारले निःशुल्क दिने भनेका सबै औषधी कहिले पनि पुरा भएनन् । धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पनि औषधीको कमी भएकाले आपुर्ति नभएको सुनिएको छ । खै कहिले आपुर्ति हुन्छ ?’
औषधी खरिद प्रक्रिया पनि झन्झटीलो भएकाले औषधीको सहज आपूर्तिमा बाधा हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाई छ । दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले औषधीको अभावलाई दृष्टिगत गरि नगरपालिकाले औषधी खरीद प्रक्रिया अगाडी बढाईसकेको बताए । उनले भने– खरिद प्रक्रिया अगाडी बढीसकेको छ, अब औषधीको अभाव हुँदैन ।
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले तीन तहबाट स्वास्थ्य सेवा प्रवाह गर्ने नीतिका कार्ण समस्या भएको बताए । स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने– स्थानीय तहले गरेका गतिविधि जिल्ला र जिल्लाले गरेका गतिविधि प्रदेशलाई समेत थाहा नहुने समस्याले स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भएको छ ।
उनले दोहो¥याउदै भने– अब तपाँई नै भन्नुस्, म प्रदेशको स्वास्थ्य निर्देशक छु, तर मलाई नै मेरो प्रदेशका पालिकाहरूमा स्वास्थ्यको प्रगति के छ भन्ने नै थाहा हुदैन र केही समस्या परे मलाई हेर्ने अधिकार पनि छैन ।
उनका अनुसार स्थानीय तहमा स्वास्थ्य चौकी गाभिनुअघिसम्म हरेक स्वास्थ्य कार्यक्रमका लागि फोकल व्यक्ति तोकिने गरिएको थियो । यसले स्वास्थ्य सेवाका हरेक प्रगती र अभिलेखको व्यवस्थापन हुने गरेको थियो ।
स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले स्थानीय तहलाई सशसर्त बजेट बाहेक स्वास्थ्यका समस्या समाधानका लागि डल्लो बजेटको पनि व्यवस्था गर्नुपर्ने बताए । ‘क्षेत्रीय मेडिकल स्टोरले कार्यक्रमका औषधीहरूमात्रै व्यवस्थापन गर्ने प्रावधान छ । अन्य औषधीहरू सबै पालिकाले आफैले व्यवस्था गर्नुपर्छ’ उनले भने ।
निर्देशक डाक्टर अवस्थीका अनुसार सन् २०१५ को सहश्राब्दी लक्षमा नेपालको स्वास्थ्य सेवाले राम्रो प्रगती गरेको भए पनि पछिल्लो समयमा खस्किदै गएको बताए ।

स्वास्थ्य बिमितले पनि पाउदैनन्, औषधी

नेपाल सरकारले बिपन्न नागरिकको उपचारमा सहजताका लागि ल्याएको विमा कार्यक्रमका विमितहरूले समेत औषधी नपाएको गुनासो गरेका छन् । विमा गरेपछि प्रति परिवार ५० हजार रुपैयाँसम्मको औषधी र उपचार निःशुल्क पाउनुपर्ने भए पनि सो सेवाबाट आफुहरू बञ्चित भएको मेलौली नगरपालिका वडा नम्बर ३ का बिरसिह बोहराले गुनासो गरे ।
उनले भने– २५ सयको बिमा गराए तर तीन दिनसम्म दिनहु चार घण्टा हिडेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा औषधी माग्न गए, एक दिन पनि औषधी दिएनन् ।
स्वास्थ्य विमितहरूले निःशुल्क रुपमा पाउने औषधीहरू स्वास्थ्य संस्थामा नभएकाले उनिहरूले किन्नुपर्ने बाध्यता भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बिष्टले बताए । उनले भने– विमाको कार्ड ल्याएर के गर्ने स्वास्थ्य चौकीमा औषधी पनि हुनुप¥यो नि ?
बैतडीमा एक जिल्ला अस्पताल, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र र ६४ वटा स्वास्थ्य चौकी रहेका छन् । १० वटा स्थानीय तह रहेको बैतडी जिल्लाको स्वास्थ्य सूचकांक तीन वर्षअघिसम्म देशभरीमै तेश्रो स्थानमा रहे पनि पछिल्ला वर्षहरूमा ओरालो लाग्दै गएको स्वास्थ्यकर्मीहरूको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार