१० श्रावण २०८१, बिहीबार

कृषि विकास रणनीति बन्दै



धनगढी । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयले प्रदेशको कृषि विकास रणनीति बनाउन छलफल शुरु गरेको छ । यस क्रममा बुधबार धनगढीमा कृषि क्षेत्रका विज्ञ र जिल्ला समन्वय समितिका पदाधिकारीहरुसंग कृषि विकास रणनीति तर्जुमाबारे अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।


अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन बृद्धि मार्फत् आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन नीति लिएको चर्चा गरे ।
मुख्यमन्त्री भट्टले ठोस योजना सहित काम गरेर अधिकतम उत्पादन गर्नका लागि किसानको सोचमा समेत परिवर्तन ल्याउनुपर्ने बताए । उनले कृषि उत्पादन हुने क्षेत्रसम्म सडक र भण्डारण केन्द्र बनाइने बताए ।
मुख्यमन्त्रीले कृषिमा अनुदान दिनु भन्दा किसानलाई आवश्यक सिचाई, सडक, मल, विउविजन उपलब्ध गराउने नीति आवश्यक रहेको बताए । भने– अनुदान वितरणबाट परिणाम आउदैन । अनुदान वितरणबाट हामी राजनीति गर्नेहरूका कार्यकर्ता र मतदाता मात्रै खुशी हुन्छन् । यसले अर्को चुनावमा भोट पाउनु बाहेक अरु फाइदा गर्दैन । मानिसको आदत मात्रै विगार्छ ।
उनले कृषि उत्पादन बढाउनका लागि वितरणमुखी नभएर एकीकृत कृषि कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । उनले भने– सिंचाईका लागि अनुदान भन्दा सिंचाई योजना दिनु आवश्यक छ ।
मुख्यमन्त्री भट्टले एकै व्यक्तिले सबथोक गर्न खोज्दा उत्पादन बृद्धि हुन नसकेको बताए । उनले एक व्यक्ति एक जिम्मेवारी, एक किसान एक उत्पादनबाट कृषि उत्पादन बढाउन सकिने बताए ।
सुदूरपश्चिम प्रदेशमा अझै पनि पहाडका डडेल्धुरा बाहेकका जिल्ला कृषिमा आत्मनिर्भर हुन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरु तराइँका जिल्ला र भारतीय उत्पादनले धानिएका छन् । सुदूरपश्चिममा मात्रै भारतबाट खाद्यान्न, तेलहन, तरकारी, फलफूल, पशुदाना, बोटविरुवा र आलु वर्षेनी डेढ अर्ब रुपैयाँ भन्दा बढिको आयात हुने गरेको छ ।
कार्यक्रम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा कृषि विज्ञ गौरव लुइटेलले सुदूरपश्चिम प्रदेशको बैतडी, कैलाली, दार्चुला, बझाङ र डोटी कफीका लागि उपयुक्त रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको एक लाख ९० हजार २४९ हेक्टर जमिनमा कफि खेती गर्न सकिने अध्ययनले देखाएको बताए ।
त्यसैगरी, बैतडी, अछाम, बझाङ र डोटी जिल्ला चिया खेतीको लागि उपयुक्त रहेको बताउदै कृषि विज्ञ लुइटेलले तीन लाख ४९ हजार आठ सय ६४ हेक्टर जमीनमा चिया खेती गर्न सकिने बताए । उनले चिया र कफीको माग विदेशमा बढि रहेकाले सुदूरपश्चिम प्रदेशले चिया र कफी उत्पादन गरी निर्यात गर्न सक्ने बताए ।
कृषि पर्यटन विज्ञ पेम्बा शेर्पाले शहरी क्षेत्रमा अर्गानिक कृषि उत्पादनको माग बढेको बताए । उनले अर्गानिक कृषि उत्पादन फार्म बनाई पर्यटन प्रबद्र्धन गर्न सकिने बताए । काठमाडौंमा अर्गानिक कृषि फार्म सञ्चालन समेत गरेका शेर्पाले होम स्टे नभएर फार्म स्टेको अवधारणा अगाडि सारेर पर्यटक भित्र्याउन सकिने बताए ।
कृषिविज्ञ खेमराज जोशीले खाद्य सुरक्षा, कृषिविज्ञ लक्ष्मीकान्त ढकालले बीउ विजन, कृषिविज्ञ शम्भु ढकालले आलु तथा विबि र कृषिविज्ञ बसन्त रानाभाटले प्रांगारिक कृषि विषयमा प्रस्तुती गरेका थिए ।
निर्देशनालयका निमित्त प्रमुख यज्ञराज जोशीले कृषिजन्य वस्तुको आयातलाई प्रस्तिस्थापन गरी निर्यातलाई प्रबद्र्धन गर्न रणनीति बनाइरहेको बताए । उनले त्यसका लागि प्रदेशमा कृषि उत्पादन बृद्धि गर्नुपर्ने बताए ।
कार्यक्रममा पुर्वसभासद् हरि श्रीपाइली, प्रदेश सांसद्हरु, जिल्ला समन्वय समितिका पदाधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुखहरु लगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार