१२ श्रावण २०८१, शनिबार

अव आराम गर्नुस् अध्यक्ष कामरेड !



सच्चिदानन्द जोशी

आदरणीय अध्यक्ष कामरेड !
आफ्नो ज्यान र मानको समेत पर्वाह नगरी म र म जस्ता करोडौं नेपालीलाई एउटा समृद्ध मुलुकको सुखी जनता वनाउने धपेडीमा यहाँको अहोरात्र खटाई प्रति नतमस्तक छुँ । तर साथ साथै म र मरो मुलुकका लागि जीवन अर्पेको मेरो आदरणीय नेताको शारीरिक अवस्थाप्रति अत्यन्त चिन्ता पनि जाहेर गर्न चाहन्छुँ । मैले यो पत्र गतसाल दशैं तिहारको सुभकामना आदान प्रदान कार्यक्रममा तपाईको अनुपस्थिती र लगत्तै अस्वस्थ भएर तपाई अस्पतालमा उपचार गराईरहनुभएको वेला लेखिरहेको थिएँ । तर यतिवेला सार्वजनिक गर्दा अस्वस्थता संग जुधिरहेको तपाईको साहस र तपाईलाई माया गरेर तपाईको सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका लाखौं समर्थक सुभचिन्तकहरुको प्रार्थना कमजोर नपरोस भनेर सार्वजनिक गरिन । मलाई लागेको थियो कि यसको कुनै आवस्यकता रहने छैन किनभने जे कुरा म यस पत्र मार्फत व्यक्त गर्न खोजिरहेको छुँ परिवेशले यहाँलाई त्यसको महसुस गराईसकेको हुनेछ । तर समय वित्दै जाँदा मेरो आशा सहि निस्केन ।

गत महिना स्वास्थ्य जाँचका लागि विदेश जानुहुँदा फेरी एकपटक त्यस्तै अविश्वास र भ्रम समाजमा देखापर्यो । तपाई माथि विश्वास गर्ने यत्रो पार्टी पंक्ति र जनता किन तपाई विरामी हुनुलाई समेत अविश्वासको नजरले हेर्दैछ भन्ने कुरामा ध्यान दिंदा तपाईका वास्तविक विचार र अवस्थाहरु उनिहरु सम्म पुगि रहेको छैन भन्ने मेरो मतले प्रवलता पाएको छ । उनिहरुवाट, हामीहरुवाट तपाईसम्म जाने सुचनाहरु फिल्टर गरिएका हुन्छन् भन्ने त थाहा छ । राजकीय जिम्मेवारीका कारण तपाइ सम्म आइपुग्नैपर्ने सुचना समेत तपाइ सम्म आइनपुगेको र त्यसैका कारण माफि माग्नु परेको पिडादायी घटना समेत ताजै छ । उता तपाईका कुराहरु पनि जनता सम्म आउँदा फिल्टर गरिएका र वंग्याईएका त हुन्नन् भन्ने चर्चा सुरुभएको छ । वरिष्ठ चिकित्सकहरु तपाईको स्वास्थ्य अवस्था नलुकाउन किन सुझाव दिइरहेका छन् ? तपाइ फेरी तुरुन्तै उपचारका लागि जानुपर्ने भएको कुरा किन वाहिर आएको छ ? र त्यसको खण्डनमा जिम्मेवार साथिहरुवाट त्यो कुरा भ्रम हो भनेर किन सार्वजनिक भइरहेका छन् ? अनि आजै तपाइ फृरी उपचारका लागि जानुभएको विज्ञप्ति आएको छ । अस्तिको दिन पार्लियामेण्टमा यहाँको सम्वोधन यस अघिका सवै सम्वोधन भन्दा कृत्रिम र वोझिल लाग्यो । कामरेडको शरिरले भोगिरहेको कष्ट हामीले पर्दामै पनि महसुस गर्यौं । वायुमन्डलमा देखापरिरहेको यसप्रकारको अविश्वास र आशंकाले पनि मलाई मैले गतसाल लेखेको यो पत्रलाई सार्वजनिक गर्न धकेलिरहेको छ ।

यो पत्र लेखिरहँदा मेरा मनमा दुईथरी विचारहरु खेलिरहेका थिए र अहिले पनि छन्, एक, यो पत्र कामरेड अध्यक्षले पढ्नु नै हुनेछैन वा पढेर पनि गौर गर्नुहुने छैन । र दुई, तपाईको संसर्गमा रहेका भनिएका र पिठ्युमा तपाईको धाप पाईरहेकै कारण मत्तता वढेका कैयौं साथीहरुको कोपभाजनको सिकार म हुनेछुँ । तर यो दुवै अवस्थामा पनि म यो लेख लेख्नु आफ्नो कर्तव्य ठान्दछुँ, कामरेड । किनभने म तपाईलाई माया गर्छु, विश्वास गर्छु र तपाईको नेतृत्वमा रहेकोमा गर्व गर्छु ।

आफ्नो पार्टी जीवनका प्रारम्भिक दिनहरु देखि नै देश, जनता र क्रान्तिका पक्षमा तपाईको अविचलित प्रतिवद्धता पार्टीका हरेक सदस्य, समर्थक तथा सुभचिन्तकहरुका लागि उत्साहको विषय रहदै आएको छ । तपाईले भाग लिएका विद्रोह, तपाईले पाएको सास्ती र तपाईको सम्झौताहीन संघर्षका गाथाहरु नेपाली कम्युनिष्ट आन्दोलनका ऐतिहासिक धरोहर भएर रहेका छन् । पछिल्लो समयमा खास गरेर ऐतिहासिक सम्विधान सभावाट सम्विधान निर्माणका अन्तिम उथलपथलपूर्ण दिनहरु र त्यस लगत्तै मुलुक भित्र र वाहिर उत्पन्न असहज परिस्थितीमा पार्टीले मात्र हैन मुलुकले नै पाएको तपाईको दृढ र जुझारु नेतृत्व कसैले चाहेर पनि विर्सन सक्नेछैनन् । त्यसैगरी विगत ६० वर्षयता टुटफुट र विभाजनले थिलथिलो भएको नेपाली कम्युनिष्ट आन्दोलन पनि तपाई कै नेतृत्वमा सार्थक र ऐतिहासिक एकता प्रकृयामा प्रवेश गरेको छ र कामदार वर्गमा एउटा नयाँ आशा तरंगित भएको छ । नेपाली जनताका लागि सम्भवतः यी दुई विषयहरु नै एउटा लामो कालखण्ड सम्म तपाईलाई सम्झिरहने महत्वपूर्ण विषय हुनेछन् । कहिलेकाँही म सोच्ने गर्छँु, कसैले एउटा अस्वस्थ शरिरले यति धेरै गर्नसक्छ उस्को स्वास्थ्यले साथ दिएको भए झन कति हुन्थ्यो होला । यद्यपि यो एउटा भावुक कल्पना मात्र हो भन्ने मलाई थाहा छ किनकी मैले अत्यन्त हट्टाकट्टा, हृष्टपुष्ट थुप्रै कामरेडहरुलाई वात मात्र वघारिरहेको देखे भोगेको छुँ ।

तर पनि कामरेड, हरेक विषयको सिमा हुँदो रहेछ । कामको, स्वास्थ्यको, क्षमताको, परिवेशको, जीवनको हरेक चिजको । एउटा भौतिकवादी हुनुको नाताले यो विषयमा न यहाँमा कुनै शंका छ न ममा नै । त्यसैले कामरेड, अव आराम गर्नुहोस् । अव पनि तपाईले आराम गर्नुभएन भने यो मुलुक र यसको कम्युनिष्ट आन्दोलनलाई तपाईको निरपेक्ष निचोडाईको आरोप लाग्नेछ । तपाईलाई पनि आफुले थालेको कामको निरन्तरता सन्दर्भमा अरुमाथि विश्वास गर्न नसकेको वा त्यस्तो निरंतरता दिनसक्ने नेतृत्व निर्माण गर्न नसकेको आरोप लाग्नेछ । संसार भरी कम्युनिष्टहरु माथि लाग्नेगरेको गम्भिर आरोपहरु मध्य जवरजस्ती नघोक्रयाईए सम्म वा मृत्यु नै नभैहाले सम्म सत्ता छोड्दैनन् भन्ने पनि एउटा हो । चाहे त्यो पार्टी सत्ता होस् चाहे त्यो राजकीय सत्ता होस् । पार्टी सत्ताका सन्दर्भमा हामीले अन्तरपार्टी नियमित अधिवेशन गरेर र आवधिक निर्वाचनलाई अपनाएर आफुलाई उदाहरण प्रस्तुत गरेको धेरै भईसक्यो । त्यस्तै हामीले राजकीय सत्ताका सन्दर्भमा पनि प्रतिस्पर्धालाई स्विकार गरेर र वहुमत र अल्पमतको प्रणालीलाई इमानदारी पुर्वक लागु गरेर आफुलाई सावित गरिसकेका छौं । हाम्रा यि अभ्यासहरु मुलुक भित्र मात्र होईन मुलुक वाहिर पनि र वामपन्थी पार्टीहरुले मात्र होईन दक्षिणपन्थी पार्टीहरुले पनि सह्राहना गरेका छन् । त्यसैको वलमा हामी अहिले मुलुक भित्र जनताको विश्वास जित्न र मुलुक वाहिर विश्व समुदायको ध्यान खिच्न सफल भएका छौं । अव कम्तिमा हाम्रो पार्टीलाई अन्य कम्युनिष्टहरुलाई लाग्ने गरेको परम्परागत आरोप लाग्दैन, लागिरहेको छैन ।

प्यारो कामरेड,
इतिहासको एउटा सिंगो कलखण्ड आफ्नो आस्था प्रति अटल तपाईलाई केही भ्रम सर्जक भारदारहरुले आफ्नो चक्करमा परेर कलंकित गराउन सक्लान भन्नेमा मलाई किंचित पनि विश्वास छैन । तर कामरेड, मानव मन विश्वासहरुले चल्दैन, परिवेशले चल्छ । तपाई घेरावन्दीको जुन परिवेश भोगिरहनु भएको छ त्यसले तपाईलाई ऐतिहासिक गल्ति गर्न दिनेछैन भन्न सकिदैन र म जुन परिवेश देखिरहेको छुँ त्यसले मेरा विश्वासहरुलाई पनि अटल वन्न दिईरहनेछ भन्न सकिदैन । इतिहासको यो गम्भिर मोडमा म र म जस्तै तपाईका हजारौं समर्थक, सुभचिन्तकहरु त्यसो होस् भन्ने चाँहदैनौं । म मुखमा रामराम र वगलीमा छुरा वोकेका वोक्रे समर्थकहरुको कुरा गरिरहेको छैन कामरेड । उनिहरु त तपाईलाई जोतिराखेर धान फलाउन वा तपाईका हाड घोटी राखेर धान भित्र्याउन पाएकामा गदगद पनि होलान् । मैले उल्लेख गरेका ति समर्थकहरुको कुरा हो जो तपाईको नेतृत्व क्षमता माथि विश्वास गरेर, तपाईलाई सफल वनाउन गुमनाम ढंगले लागि रहन्छन । तपाईका कामहरुको मुक्त कण्ठले प्रशंसा गर्छ तर तपाईलाई आफ्नो मुल उद्देश्य र वाटोलाई विचलित वनाउन सक्ने तपाईका कमि कमजोरीहरुको निगरानी गर्छ र मज्जाले आलोचना गर्छ । न उस्को प्रशंसामा कुनै चाकरीको गंध छ न उस्को आलोचनामा कुनै कुण्ठा, राग र द्वेश छ । त्यो तपाईका ओरपर देखिने झुण्डको भिडभाडमा रमाउदैन । हो, ती समर्थक सुभचिन्तकको म कुरा गरिरहेको छुँ । ती समर्थक र सुभ चिन्तकहरु चाहन्छन् की कामरेड अव आराम गर्नुस् ।

हाम्रो पुर्वपार्टी नेकपा एमालेको नवौं महाधिवेशनवाट तपाईलाई पार्टी अध्यक्ष वनाउने पक्षमा रहने निर्णय गर्दा हामीमा कुनै दुविधा थिएन । विगतका दिनमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालमा उठेका हरेक आन्दोलनमा सवैभन्दा वढी सक्रियता र वलिदानीका वावजुद हाम्रो पार्टी निर्णयक हुन नसकेको पिडावाट हामी मुक्त हुन चाहन्थ्यौं । यस्तो अकर्मण्यता जसले हामीलाई कहिल्यै पहिलो हुन दिएन त्यसवाट मुक्ति चाहन्थ्यौं । हामी तपाईको आक्रामक नेतृत्व प्रति विश्वस्त थियौं र हामीले दृढतापुर्वक तपाईका पक्षमा आफुलाई उभ्यायौं । यद्यपि त्यसवापत हामीले के के मुल्य चुकायौं त्यो विषय अहिले यसलेखको विषय नभएकोले उल्लेख गर्न चाहन्न । तपाईलाई धन्यवाद छ कामरेड की तपाईले हाम्रो त्यस विश्वासलाई कायम राख्न योगदान दिनुभयो । तपाईको दृढता जसलाई अरुहरुले जिद्दी पनि भन्छन् तर त्यसकै कारण मुलुकले सम्विधान सभावाट सम्विधान पायो जो झण्डै एकादेशको कथा वन्ने अवस्थामा पुग्नैलागेको थियो र तपाईकै रणनिती जसलाई अरुहरुले चातुर्य पनि भन्छन् कै कारण मुलुकको इतिहासमा पहिलो पटक कम्युनिष्ट पार्टीको पुर्ण वहुमतको सरकार वन्यो । उहिले सानो उमेरमा, जतिवेला हामी भर्खरै संगठित हुँदैथ्यौं कतिपयले हामीलाई यो मुलुकमा कम्युनिष्टको सरकार कहिल्यै आउँदैन भन्दै हियाउथे, पछि जव हामीले कैयौं टुक्रे सरकारहरुको नेतृत्व गर्यौं उनिहरुले वोलि फेरे तर हियाउन छोडेनन्, तिमिहरुको वहुमतको सरकार कहिल्यै आउदैन भन्थे । तर आयो । यो लेख लेख्दैगर्दा विगत सम्झेर रिस, आक्रोस, पिडा र आनन्द एकैचोटी पोखिदैछन् मन भित्र । हो कामरेड, यो सव सम्भव भयो तपाईको नेतृत्वमा, मैले विश्वास गरेको नेताको नेतृत्वमा । त्यसैले मलाई आफ्नो निर्णय प्रति कुनै पछुतो छैन ।

नवौं महाधिवेशन पूर्व नै जव संसदीय दलको नेता चयनका सिलसिलामा स्थापित मान्यता विपरित देख्दादेख्दै पनि हामी तपाईका पक्षमा उभियौं । कैयौं साथीहरुले त्यसलाई स्थापित मान्यताहरुवाटको हाम्रो विचलन भनेर आलोचना पनि गर्नुभो । दुर्भाग्य के हो भने हामीले अभ्यास गरेको पक्षधरता विषय केन्द्रित छैन वरु स्थायी गुट निर्माण केन्द्रित छ । हाम्रो कम्युनिष्ट आन्दोलन जसको सिकार भएको छ र भैरहेको छ । विचार र विषयगत पक्षधरतालाई अस्विकार गर्नु तर स्थायी गुटलाई स्विकार गर्नु हाम्रो आन्दोलनको क्रोनिक क्यान्सर हो । तत्कालिन अवस्थामा गरिएको त्यो निर्णय र त्यस निर्णयको सफल कार्यान्वयनका लागि गरिएको पहल पनि तपाईको किचन क्याविनेटमा प्रवेशका लालसाले गरिएको थिएन । हामीले अग्रज नेताहरुको नेतृत्व हेरेपछि आफ्नो आशाको त्यान्द्रो तपाईलाई देखेका थियौं । समयान्तरमा त्यस निर्णयको सकारात्मक नतिजाका आधारमा हामीले महाधिवेशनमा पनि तपाईको नेतृत्वलाई स्विकार गर्यौं र सफलताका लागि सघन प्रयास गर्यौं । त्यो सव असल परिणामका लागी गरिएका प्रयासहरु थिए । ति निर्णयहरु प्रति हामीलाई कुनै पश्चाताप छैन । न त ति निर्णयहरुको हामीले कुनै नाजायज फाईदा लियौं वा लिने कोसिस नै गर्यौं । त्यसैले त आज तपाईलाई मुख्य जिम्मेवारीवाट हटेर सक्षम साथीहरुलाई पार्टी र मुलुकको जिम्मा लागाउनुस् भनेर सुझाव दिन पनि हामीलाई नैतिक साहस छ । जीवनमा औपचारिक, अनौपचारिक रुपमा कैयौं वेईमानहरुको, फटाहाहरुको, असक्षमहरुको राजिनामा मागियो होला । तर जीवनमा आफुले विश्वास र सम्मान गरेको आफ्नै आदरणीय पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीज्युको राजिनामा माग गर्नुपर्दा कति अनौठो र असजिलो लागको छ त्यो त वर्णनातीत छ तर असल परिणामका लागी यो पनि गरिदैछ, कामरेड ।

यो त तपाई मज्जाले मान्नुहुन्छ की क्षमताको सिमा हुन्छ, परिवेश हुन्छ, समय हुन्छ । आफ्नो क्षमताले भ्यायसम्म तपाईले दिनुभएको योगदानका प्रति पार्टी र मुलुकले तपाईका प्रति कृतज्ञता जाहेर गरिसकेको छ । अव समय भयो कामरेड । तपाईले वोकेर यहाँ सम्म ल्याईपुर्याउनुभएको भारी विसाउनुहोस् र समय रहँदै सक्षम साथीलाई विश्वासपूर्वक जिम्मा लगाउनुहोस् । त्यसो गरिएन भने तपाईको क्षमताले सिमा पार गर्न खोज्नेछ र त्यो अनिवार्य दुर्घटनालाई कसैले रोक्नसक्ने छैन । अनि आज जुन सक्षमताका लागि तपाई नायक हुनुहुन्छ त्यही तपाईको असक्षमताको कारण वन्नेछ र तपाईको नायकत्वको खराव विम्व प्रस्तुत गर्न विरोधीहरुका लागि पनि मार्ग प्रसस्त हुनेछ । त्यो तपाईका हितमा त हुनेछैन नै, पार्टी, मुलुक र क्रान्तिकै लागी असल हुनेछैन । हरेक मान्छे भित्र रहने र तपाई भित्र पनि रहेको स्वाभाविक मानवीय लालशालाई अनावस्यक उक्साउदै र तपाईको शारिरीक अस्वस्थता र मानसिक थकानको फाईदा लिंदै आफ्ना अभिष्ट सिद्धगर्न खोज्नेहरुको झुण्डहरुवाट वच्नुहोस् कामरेड । शारिरिक अशक्तताले मानसिक अशक्तता पैदागर्छ । अशक्त मनले गर्ने निर्णय र अशक्त तनले गर्ने कार्यान्वयन सशक्त हुन सक्दैन । त्यसो भयो भने इतिहासले ठुलो मुल्य चुकाउनु पर्छ भन्ने अनेकौं ऐतिहासिक प्रमाणहरु जिवित छन् । यो विषय केवल पार्टी राजनीति वा मुलुकको शासनको होईन सिंगो मानवताको हो । एउटा अस्वस्थ र आराम गर्नुपर्ने शरिरलाई घिसारिरहने समाज, पार्टी र मुलुक देखेर मानवता पनि स्तव्ध हुनेछ । इतिहास अत्यन्तै निर्मम हुन्छ र अहिले तपाईलाई सहि निर्णय गर्न नदिने कुनै पनि नेता कार्यकर्ताले इतिहासको त्यो निर्ममतावाट तपाई स्वयं, हाम्रो पार्टी, मुलुकले हाँसिल गरेको र गरिरहेको सफलता, कामदार वर्गको खुसी केहि पनि जोगाउन सक्ने छैनन् । इतिहासको त्यहि निर्ममता प्रति सावधान रही आदरणीय कामरेड, पार्टी र सरकारको जिम्मेवारीवाट विदा लिनुहोस्, आराम गर्नुहोस् ।

यहाँको सिघ्र सुस्वास्थ्यको कामना गर्दछुँ ।
तपाईलाई भरोसा गर्ने एउटा पार्टी सिपाही

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार