१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : सवारी दुर्घटना न्युनिकरणका चुनौति



सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटना न्युनिकरण चुनौतिपूण बन्दै गएको देखिदैछ । पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा भइरहेको बृद्धिका तथ्यांकले सवारी दुर्घटना न्युनिकरण कार्य चु्नौतिपूर्ण रहेको देखिदैछ । पछिल्ला चार वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भएका घटनामा छ सय बढीले अकालमा ज्यान गुमाएका छन् । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाका सवा दुई सय बढी घटनामा दुई सय बढीले ज्यान गुमाएको र चार सय बढी घाइते भएको तथ्यांकले देखाएको छ । यो अवधिमा कैलालीमा मात्रै पचासी वटा सवारी दुर्घटनामा छैसठ्ठी जनाको मृत्यु भएको देखिन्छ । सवारी दुर्घटनाको मुख्य कारण क्षमताभन्दा निकै बढी यात्रु राख्ने र तीब्र तथा अनियन्त्रित गति नै रहेको देखिन्छ । त्यस्तै, पछिल्ला वर्षहरूमा पहाडी जिल्लाहरुमा अत्यधिक डोजर प्रयोग गरेर अन्धाधुन्ध रुपमा सडक निर्माण पनि सवारी दुर्घटनाको कारण मानिएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना देखिनु अर्को समस्या र चुनौति बनेको अवस्था छ ।
सा“घुरा तथा छोटो तीब्र मोड, अनियन्त्रित गति, चालकको लापरबाही, मादक पदार्थको सेवन गरी सवारी साधन हाक्ने, पैदल यात्रीले सडक पारगर्दा लापरबाही देखाउने, बिग्रेका सडक, छाडा पशुचौपाया आदि पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारणका रुपमा देखिएका छन् । कतिपय स्थानमा सडक मिचेर बनाइएका घर तथा अन्य भौतिक संरचनाका कारण पनि सवारी दुर्घटना बृद्धि गर्न कारक बनेका छन् । सु्दूरपश्चिम प्रदेशमा हरेक वर्ष सवारी दुर्घटनामा बृद्धि भइरहे पनि न्युनिकरणका प्रयास प्रभावकारी नदेखिनु अर्को उदेगलाग्दो विषय बनेको छ । खासगरी सवारी दुर्घटना न्युनिकरणमा बढी जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने ट्राफिक प्रहरीको भूमिकाप्रति जहिले पनि प्रश्न उठ्ने गरेको छ । सवारी दुर्घटनाका घटनामा बृद्धि हुदा ट्राफिक चेकजाचमा कडाई गर्ने अथवा चाडपर्वका वेला शहरी क्षेत्र तथा राजमार्ग र अन्य सडकमा छड्के चेकजाच गर्ने र अरु वेला उदासिनता देखाउने प्रवृत्ति दोहोरिदै आएको छ ।
सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा निरन्तर बृद्धि आइरहेको सन्दर्भमा न्युनिकरणका लागि प्रभावकारी योजना र कार्यक्रम कार्यान्वयन गर्नु जरुरी भइसकेको छ । यसका लागि ट्राफिक प्रहरीको भूमिका र जिम्मेवारीलाई प्रभावकारी बनाउने र ट्राफिक नियमलाई कडाईका साथ पालना गर्ने गराउनेतर्फ गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक हुन्छ । सडक सुरक्षा सञ्जाल, सवारी दुर्घटना न्युनिकरणका लागि युवा वर्गको सहभागितामा सचेतीकरण कार्यक्रम, सडक चिन्हको प्रभावकारी ढंगले प्रयोग, चालक तथा परिचालकका साथै यातायातकर्मीलाई जागरुक बनाउने खालका कार्यक्रम लागू गरिनु पर्दछ । यसका साथै प्रत्येक सवारी दुर्घटनाको गम्भीर ढंगले विश्लेषण तथा अनुसन्धान गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ । प्रायः सवारी दुर्घटनालाई भवितव्यका रुपमा लिने र सकेसम्म थप र गहन अनुसन्धान गर्नेतर्फ चासो दिएको पाइदैन । त्यसैले पनि सवारी दुर्घटनाका घटनामा कमी आउन सकिरहेको छैन । त्यस्तै, अब स्थानीय सरकारहरु स्वयंले पनि सवारी दुर्घटना न्युनिकरणका लागि समन्वयकारी भूमिका निर्वाह गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार