१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : मूल्यबृद्धि नियन्त्रणमा ध्यान देऊ



धनगढी लगायत कैलालीका विभिन्न बजारमा यतिवेला तरकारी तथा फलफूलको मुल्यमा अचाक्ली बृद्धि भइरहेको देखिएको छ । खुला अर्थतन्त्रमा वस्तुको मुल्य बजारले नै निर्धारण गर्ने मानिन्छ, तर धनगढी लगायत कैलालीमा केही दिनयता भएको तरकारी तथा फलफूलको मुल्यबृद्धि स्वाभाविक मान्न सकिने अवस्था छैन । उपभोक्ताहरूले अहिलेको फलफूल तथा तरकारीको मुल्यबृद्धिलाई अहिलेसम्मकै सबैभन्दा उच्च महसुस गरेका छन् । धनगढी लगायतका बजारमा भारतबाट तरकारी र फलफूल भित्रिने क्रम कम भएपछि ब्यापारीहरूले तरकारी तथा फलफूलको मूल्यमा निकै बृद्धि गरेको देखिदैछ । फलस्वरुप अहिले आलु तथा हरियो सागसब्जीको मुल्यमा दुईतीन साताको अवधिमा दोब्बर बढी मूल्य बृद्धि भएको देखिन्छ । त्यस्तै, फलफूलको मुल्य पनि निकै बढेको देखिन्छ । टीकापुर लगायत कैलालीका विभिन्न स्थानमा ठूलो परिमाणमा केरा उत्पादन हुने गरेको भए पनि अहिले केराको मुल्य पनि पहिलो पटक एक सय बीस रुपैया प्रति दर्जन पुगेको अवस्था छ । केराको मुल्य यति बढि पुगेको सम्भवतः पहिलो भएको उपभोक्ताको अनुभव छ । गत जेठको तेस्रो साता आएको बिनासकारी हावाहुरीबाट कैलालीमा केरा खेतीमा व्यापक क्षती भएपछि मुल्य पनि निकै बृद्धि भइरहेको पाइन्छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य एकाएक बृद्धि हुने गरेको अवस्थामा पनि नियन्त्रणका लागि प्रशासन तथा अन्य सम्वद्ध निकायबाट खासै अग्रसरता हुने गरेको देखिदैन । कृत्रिम रुपमा हुने मूल्यबृद्धि तथा अभाव र त्यसको आडमा हुने कालोबजारी तथा एकाधिकार नियन्त्रणका लागि ठोस र प्रभावकारी संयन्त्र बनाएको देखिदैन । त्यस्तै, यदाकदा गरिने बजार अनुगमन पनि प्रचारप्रसारमा सिमित हुने गरेको पाइन्छ । मुल्यबृद्धि नियन्त्रण होस् वा गुणस्तर नियन्त्रणको दायित्व सकेसम्म कसैले पनि बहन गर्न नचाहने र एकले अर्कोमाथि दायित्व पन्छाउने प्रवृत्ति दोहोरिने गरेको छ । यसले गर्दा अस्वाभाविक रुपमा हुने मुल्यबृद्धि नियन्त्रणका लागि कहिल्यै पनि ठोस ढंगले प्रयास गरेको पाइदैन । विगतको तुलनामा स्थानीय रुपमा तरकारीको उत्पादनमा उल्लेख्य बृद्धि आएको सन्दर्भमा अहिले भइरहेको मुल्यबृद्धि स्वाभाविक मान्न सकिदैन । त्यसैले पनि मुल्य बृद्धिको वस्तुगत विश्लेषण गर्नु आवश्यक देखिन्छ ।
सरकारले वार्षिक बजेट प्रस्तुत गरेपछि तथा कर्मचारीको तलब बृद्धि गरेपछि उपभोग्य वस्तु तथा सेवाको मुल्यमा अस्वाभाविक रुपमा मुल्य बृद्धि हुने क्रम हरेक वर्ष दोहोरिने गरेको छ । अथवा कच्चा सामग्रीको मुल्यमा अथवा करराजश्वका दरमा थोरै प्रतिशत मात्रै बृद्धि हुदा पनि तयारी वस्तु वा सेवाको मुल्यमा एकैचोटी अत्यधिक बृद्धि हुने गरेको छ । यी सबैको प्रत्यक्ष मार आर्थिक रुपमा कमजोर, मजदुर र साना किसान तथा सिमित आय भएका व्यक्ति तथा परिवारमाथि पर्ने गरेको छ । तर, सम्बद्ध सरकारी निकाय तथा उपभोक्ता हकहितका लागि भनेर संगठित भएका संघसंस्थाले यस्ता विषयमा कहिल्यै पनि गम्भीर ढंगले ध्यान दिएको पाइदैन । त्यसैले धनगढी लगायत कैलालीमा अहिले तरकारी, फलफूल, सहित दैनिक उपभोग्य वस्तु र सेवाको मुल्यमा एकाएक भइरहेको मुल्यबृद्धि समयमै नियन्त्रण गर्नेतर्फ प्रभावकारी अग्रसरता जरुरी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार