११ श्रावण २०८१, शुक्रबार

फलफूल र तरकारीको मुल्य अहिलेसम्मकै उच्च



धनगढी । सुदूरपश्चिम प्रदेशमा फलफूल र तरकारीको मुल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको छ । प्रदेशको राजधानी धनगढी लगायतका बजारमा व्यवसायीहरूले भारतबाट तरकारी र फलफूल भित्रिन छोडेकोले तरकारीको मूल्य बृद्धि भएको बताएका छन् ।


केही साताअघिसम्म धनगढीमा ६० देखि ७० रुपैयामा एक दर्जन केरा पाइने गरेकोमा अहिले बढेर एक सय २० देखि एक सय ४० रुपैयां पुगेको छ । केराको पकेट क्षेत्र मानिने टीकापुरमा समेत ३०÷४० रुपैयां एक दर्जन केरा पाइने गरेकोमा अहिले ९० देखि एक सय रुपैयां मूल्य पुगेको उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकीन्द्र तिमिल्सिनाले बताए । उनले केरा उत्पादक किसानले कांचो केरा प्रति एक दर्जन ४० रुपैयांमा विक्री गरिरहेको बताए ।
जेठ २३ गते चलेको हावाहुरीले केराखेतीमा व्यापक क्षती भएपछि टीकापुरमा समेत केराको अभाव हुन थालेको छ । असारको पहिलो सातादेखि टीकापुरमा भारतबाट केरा आयात बढेको छ । अध्यक्ष तिमिल्सिनाले भारतीय केरा एक दर्जनको एक सय रुपैयां मूल्य रहेपछि स्थानीय केराको मूल्य समेत ९० रुपैयां पुगेको बताए । अहिले बजारमा भारतीय केरा पाइन छोडे पनि स्थानीय केराको मुल्य ८० देखि ९० रुपैयां नै कायम छ ।
धनगढीमा अहिले स्याउ दुई सय ५० देखि तीन सय रुपैया, आंप प्रतिकिलो एक सय ५० देखि दुई सय पुगेको छ भने अनार दुई सयदेखि दुई ५० रुपैयां प्रतिकिलो दरमा विक्री भइरहेको छ ।
त्यसैगरी, तरकारीको मूल्य पनि अत्यधिक बृद्धि भएको छ । अहिले धनगढीमा बोडी प्रतिकिलो एक सय २०, काउली एक सय ५०, लौका ८०, करेला एक सय २० र आलु ६० रुपैयां प्रतिकिलोका दरले विक्री भइरहेको छ । त्यसैगरी बांसको तामा तीन सय ५० रुपैयां प्रतिकिलोको दरमा विक्री भइरहेको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक धनपति ढुंगेलले नियमनकारी निकायले चासो नदिएकाले व्यवसायीहरूले उपभोक्तालाई प्रत्यक्ष मार पर्ने गरी मुल्य बृद्धि गरिरहेको बताए ।
उनले तरकारी र फलफूल भारतबाट ल्याउंदा विषादी परीक्षणको प्रमाण पेश गर्नुपरे पनि मुल्य बढाउन नमिल्ने बताए । अहिलेको मुल्य बृद्धिले गर्दा कम आयस्तरका उपभोक्ताको जीविकोर्पाजनमै गम्भीर समस्या उत्पन्न भएको उनले बताए ।
धनगढीमा बजारमा तरकारी र फलफूलको मुल्य आकाशिएपनि धनगढी उपमहानगरपालिकाले बजार मुल्य अनुगमन र नियमनको अधिकार नरहेको भन्दै पञ्छिने गरेको छ ।
उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले उपमहानगरपालिकालाई मुल्यको अनुगमनको अधिकार नरहेको बताए । उनले उपमहानगरपालिकाले नापतौल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण, वाणिज्य र प्रशासन कार्यालको सहयोगमा मात्रै गुणस्तर नियन्त्रण तथा बजार अनुगमन गर्न सक्ने बताए । उनले उपमहानगरपालिकालाई अनुगमनको व्यवस्थापन गर्ने मात्रै अधिकार रहेको बताए ।
तर, स्थानीय सरकार सञ्चालन ऐन २०७२ को परिच्छेद ३ को दफा ११ को २ (ञ) मा स्थानीय तहलाई बजार मुल्य निर्धारण, अनुगमन, नियमन तथा बजार व्यवस्थापन समेतको जिम्मेवारी दिएको छ । ऐनले स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनगुमन, उपभोक्ता अधिकार तथा कक सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन समेतको अधिकार स्थानीय तहलाई दिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बजार अनुगमनको मुख्य जिम्मेवारी स्थानीय सरकारलाई नै रहेको बताए । उनले विषयगत कार्यालयको समेत अनुगमनको जिम्मेवारी रहेको बताउँदै ति कार्यालयहरूले अनुगमन गरिरहेको बताए । उनले संयुक्त अनुगमनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको रहेपछि पछिल्लो समयमा आफू भरखरै आएको हुनाले अनुगमन गर्न नसकिएको बताए । उनले स्थानीय तहमा समेत विषयगत शाखाहरू रहेको हुनाले सम्पूर्ण जिम्मेवारी स्थानीय तहकै रहेको बताए । यद्दपि, स्थानीय तह र विषयगत कार्यालयसंग समन्वय गरेर एक दुई दिनभित्रै जिल्लामा संयुक्त अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार