१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : श्रीलंकाको पीडा



हरेक वर्ष वर्षायाममा कर्णाली नदीको बाढी, डुबान र कटानको चपेटामा पर्दै आएको कैलालीको टीकापुर नगरपालिका वडा नम्बर आठको श्रीलंका गाउँका बासिन्दाको पीडा कम हुने अझैं कुनै आधार देखिएको छैन । यस वर्ष अहिलेसम्म भारी वर्षा भएको छैन, तर कर्णाली नदीको वहावका कारण श्रीलंका गाउमा कटान बृद्धि भइरहेको अवस्था छ । श्रीलंका गाउंमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिए पनि अझैं धेरै स्थानमा तटबन्ध भइसकेको छैन । श्रीलंका गाउ“ कैलाली जिल्लाको उच्च बाढी प्रभावित क्षेत्रका रुपमा चिनिन्छ । हरेक वर्ष श्रीलंका गाउँमा वर्षायाममा बाढी तथा कटानको त्रासदी हुने गरेको छ । चारैतिरबाट बाढीले घेरिने भएकाले भारी वर्षा हुदा यो गाउँ टापुका रुपमा परिणत हुने गरेको छ । श्रीलंका मात्रै होइन, कैलालीका लालबोझी, भजनी, खैलाड, धनसिंहपुर, नारायणपुर सहितका स्थान बाढीको उच्च जोखिममा पर्ने गरेका छन् । बाढीको उच्च जोखिममा रहेका यी स्थानमा बचावका लागि थुप्रै प्रयास गरिएका छन्, तर स्थानीयले वर्षायाममा ढुक्क हुने अवस्था अझैं पाउन सकेका छैनन् ।
सुदूरपश्चिम प्रदेश बाढी तथा पहिरोको दृष्टिकोणबाट उच्च जोखिमा रहेको क्षेत्र मानिन्छ । कैलाली र कञ्चनपुर बाढी र डुबानको जोखिममा रहदै आएका छन् भने पहाडी जिल्लाहरु बाढी र पहिरोको उच्च जोखिमा पर्दै आएका छन् । कैलालीको श्रीलंकामा वर्षेनी दोहोरिने नदी कटान तथा बाढीको प्रकोपलाई ध्यानमा राखेर तुलनात्मक रुपमा होचो स्थानका रुपमा रहेका गाउवस्तीका लागि विशेष योजना बनाउनु पर्ने झन् बढी आवश्यकता देखिएको छ । कैलालीमा वर्षायाममा मात्रै होइन, वर्षायामको अन्त्यतिर तथा वर्षायाम सकिए पछि पनि बाढीले व्यापक बिनास गरेका थुपै्र घटना छन्, विगतमा । यस वर्ष अहिलेसम्म भारी तथा अविरल वर्षा भएको छैन । त्यसैले पनि यस वर्ष बाढी र पहिरोको अपेक्षाकृत कम प्रकोप देखिएको छ, अहिलेसम्म । तर विगतका वर्षहरुमा भएका प्रकोपलाई ध्यानमा राखेर वर्षायाममा स्थानीय प्रशासन सधैं सतर्क र तयारी अवस्थामा रहनु पर्ने हुन्छ । श्रीलंकामा अहिले भइरहेको नदी कटानको तत्कालका लागि नियन्त्रण गर्नेतर्फ पहल गर्दै खेतीयोग्य जमिन तथा वस्तीलाई सुरक्षित गर्न प्रशासनले उचित अग्रसरता लिनु आवश्यक भइसकेको छ ।
अहिले स्रोतसाधनसम्पन्न स्थानीय सरकारहरु रहेकाले नदी कटान, बाढी तथा पहिरोबाट हुनसक्ने सम्भाव्य क्षतीको रोकथामका लागि समयमै उचित पहल गर्न सकिने अवस्था त छ नै, यसका साथै स्थानीय सरकारहरुबीचको समन्वय तथा सहकार्यले नदी कटान, बाढी, डुबान तथा पहिरोबाट हु्ने जनधनको क्षती न्युनिकरण, उद्दार र राहतका साथै विस्थापितको पुनस्र्थापना कार्य पनि प्रभावकारी हुन सक्नेछ । यसका लागि तत्परता, समन्वय र सहकार्य आवश्यक छ । कैलालीमा विगतका वर्षहरुमा वर्षायाममा बृद्धि हुने समस्यालाई दृष्टिगत गरेर स्थानीय सरकारहरु स्वयंले तथा विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत संघसंस्थाहरूको सुमन्वय र सहकार्यमा उद्दार, राहत र पुनस्र्थापना कार्यलाई उपल्रब्धीु्मूलक बनाउनेतर्फ पहल गरिनु उचित हुने छ । यसका साथै श्रीलंका जस्ता हरेक वर्ष बाढी र कटानको समस्याबाट पीडित गाउवस्तीका लागि दीर्घकालीन योजना बनाएर लागू गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार