१२ श्रावण २०८१, शनिबार

सम्पादकीयः स्वास्थ्यकर्मीको सुरक्षाको सवाल



केही साताको अन्तरालमा डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरूमाथि दुई पटक भौतिक आक्रमण भयो । पछिल्लो पटक शव पोष्टमार्टमका क्रममा “ढिलाई” भएको भन्दै वडाध्यक्षको नेतृत्वमा रहेको एक समुहले चिकित्सकमाथि आक्रमण गरेपछि केही दिन अस्पतालको सेवा नै अवरुद्ध हुन पुग्यो । यसअघि एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले “चिकित्सकको लापरबाहीका कारण सुत्केरीको ज्यान गएको” भन्दै अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । यस अघि गत वर्ष डोटीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । स्वास्थ्यकर्मीमाथि हातपात तथा दुव्र्यवहारका घटना दोहोरिरहदा स्वास्थ्य सेवा प्रवाहमा अवरोध आउने गर्दछ । परिणामस्वरुप सर्वसाधारणले अनाहकमा सास्ती भोग्नु परिरहेको छ । अस्पताल तथा स्वास्थ्यकर्मीमाथिको आक्रमणका शृंखला दोहारिरहदा निश्चय पनि समग्र स्वास्थ्य सेवा प्रवाहमा प्रतिकुल प्रभाव पर्छ नै । गत वर्ष डोटीमा स्वाथ्यकर्मीमाथि भौतिक आक्रमण तथा दुव्र्यवहार हुदा धेरै दिनसम्म जिल्लाका सरकारी अस्पतालहरूमा सेवा ठप्प बनेको थियो । पछिल्लो पटक डडेल्धुरामा जनप्रतिनिधि स्वयं नै आक्रमणमा उत्रिएपछि स्थिति गम्भीर बन्दै गएको संकेत गर्दछ ।
त्यसै पनि संघीयता संगै स्वास्थ्य सेवाको पहिलेको संरचनामा परिवर्तन आएको छ । यो परिवर्तनले स्वास्थ्य सेवा क्षेत्रमा केही समस्या तथा चुनौति देखा परेको अवस्था छ । यसले गर्दा खोप सेवादेखि उपचार सेवासम्म प्रभावित भएको अवस्था छ । अर्कोतिर, कर्मचारी समायोजनका कारण सरकारी स्वास्थ्य इकाईहरूमा स्वास्थ्यकर्मीको अभाव देखिएको छ । त्यसैमा उपचारका विषयमा स्वास्थ्यकर्मीमाथि हातपात, आक्रमण तथा दुव्र्यवहारका साथै अस्पतालहरुमा तोडफोडका घटना दोहोरिरहदा स्वास्थ्य सेवाको समग्र क्षेत्रमा नकारात्मक प्रभाव पर्ने निश्चित छ । सरकारी अस्पताल वा स्वास्थ्य इकाईहरूप्रति आम जनतामा रहेको नकारात्मक धारणामा अहिले पनि तात्वीक परिवर्तन आएको देखिदैन । त्यसैमा सरकारी अस्पतालका अधिकांस चिकित्सकहरूले आफू कार्यरत अस्पतालमा भन्दा निजी अस्पताल वा क्लिनिकमा बढी समय दिने गरेको सरकारी अस्पतालमा सेवामा कम ध्यान दिने गरेको आम जनगुनासो अहिले पनि विद्यमान नै रहेको अवस्था छ । यी विविध कारणले सानोतिनो निहुमा पनि अस्पताल तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने, तोडफोड गर्ने मानसिकतालाई मलजल गरिरहेको विश्लेषण गलत हुदैन ।
सरकारी अस्पतालप्रति आम जनताको विश्वास बृद्धि गर्न स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउनु पर्दछ भन्नेमा विमति रहदैन । सेवाग्राहीले सरकारी अस्पताल वा स्वास्थ्य इकाईहरूबाट छिटोछरितो र सुुलभ मूल्यमा उत्कृष्ट उपचार सेवाको अपेक्षा गर्नु स्वाभाविक पनि हो । संविधान मै स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा व्यवस्था गरिएकाले प्रत्येक नागरिकले राज्यबाट यस्तो अपेक्षा गर्नु उचित हो । तर, कुनै पनि नाममा अस्पताल तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिनु उचित मान्न सकिदैन । उपचारका क्रममा कोहीकसै चिकित्सक वा स्वास्थ्यकर्मीबाट लापरवाही भयो भन्ने सेवाग्राही वा उनका आफन्तमा पर्न जादा परिणाम दुखद हुन्छ नै । त्यसैले सरकारी अस्पतालमा कार्यरत चिकित्सकसहितका स्वास्थ्य कर्मचारी र अन्य कर्मचारीले सेवाप्रति पूर्ण इमान्दारिपूर्वक र निष्ठाका साथ सेवा दिने भरपर्दो व्यवस्था गरिनु पर्छ नै कुनै पनि नाममा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई निमिट्यान्न बनाउन आक्रमणमा संलग्न जोकोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनु अनिवार्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार