२७ आश्विन २०८१, आईतवार

विकासको अनुभूति गर्दैछन्, डुमलियाबासी



धनगढी । एक वर्ष अघि न त विद्युत थियो । न कालोपत्रे सडक नै । आधारभुत सेवा सुविधाबाट वञ्चित थिए धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को डुमलिया गाउँका बासिन्दा । टायल र खरका एकतले घरहरु, विद्युत नभएकाले मोबाईल चार्जका लागि सानो ब्याट्रीको सहारा । कच्ची सडक भएकाले गर्मीमा धुलाम्य र वर्षायाममा हिलोमा सवारी । साविकको उर्मा गाविस तथा अहिलेको धनगढी उपमहानगरपालिकाको डुमलिया गाउँको कुनै वेला यस्तो पहिचान थियो ।

तर, अहिले डुमलियाको रुप फेरिएको छ । डमौलीयामा अहिले पक्की सडक बनेको छ । घरघरमा विद्युत पुगेको छ । अधिकांसको घरमा रंगीन टेलीभीजन छन् । कच्ची घरहरुको बस्तीको बीचमा सात मीटर चौडाईको कालोपत्रे सडक हेर्दा कुनै पार्कको बीचको सडक जस्तो देखिन्छ । जताततै स्थानीय तहमा बेथितिका खबर आईरहेका बेला, डुमलियाका जनताले भने जनप्रतिनिधि आएपछि विकासको अनुभुती भएको बताएका छन ।
सुदूरपश्चिम प्रदेशको राजधानी भएको उपमहानगरपालिका हो धनगढी । डुमलियाको दुरी धनगढीको मुख्य बजारबाट झण्डै १७ किलोमिटर टाढा छ । १७ किलोमिटर टाढा रहेको डमौलीया उपमहानगरपालिकाको वडा नम्बर पनि १७ हो ।
अधिकांस थारुको बस्ती रहेको डमौलियामा कालोपत्रे र विद्युत पुगेपछि त्यसको मुहार नै फेरिएको छ । डमौलीया धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाको सिमानामा पर्छ ।
उर्मा गाविसको क्षेत्र धनगढीमा मिसाएर उपमहानगरपालिका बनाईएको हो । तर उपमहानगर भित्र परे पनि सो क्षेत्र विकासका दृष्टिकोणले पछाडी परेको थियो ।
‘राज्य पुनसंरचनामा उपमहानगर भित्र राखे पनि विकासको दृष्टिकोणले धेरै पछाडि थियो’ स्थानीय खेमा ओझाले भनिन ‘अहिले गाउँमा सरर आउने पक्की सडक, विद्युत र खानेपानीको राम्रो ब्यवस्था छ ।’
त्यहाँ पाँच महिना अघि मात्रै विद्युत पुगेको छ भने संघीय सरकारको सघन शहरी विकास आयोजना मार्फत सात मीटरको कालोपत्रे पनि गरिएको छ । धनगढी उपमहानगरको बजार क्षेत्रमा एसियाली विकास बैंकको ऋण लगानीको झण्डै तीन अर्ब रुपैयाको क्षेत्रीय शहरी विकास आयोजना लागु हुने भएपछि दुई अर्व रुपैयाको सघन शहरी विकास आयोजनाका सडक बजार क्षेत्रभन्दा टाढा टाढा रहेका गाउँमा बनाइएका हुन ।
‘विद्युत बलेपछि हामीहरुको मुमबत्तीको जुग सकिएको छ’ स्थानीय प्रमिला चौधरीले भनिन्, ‘एक वर्ष पहिले गाउँमा ग्राभेल सडक पनि थिएन,र विद्युत पनि । उनले ढिलै भएपनि गाउ“मा विजुली बलेको र पक्की सडक बनेकाले गाउको सौन्दर्य बढेको बताईन ।
डुमलियामा पक्की सडक बनेपछि हिलाम्य युगको समेत अत्य भएको अर्का स्थानीय खड्क बमले बताए । ‘स्थानीय तहको निर्वाचन अघि, गाउँको विकासका लागि धेरै पटक जिल्लातिर धायौं, तर कुनै योजना आएन, अहिले जनप्रतिनिधिहरुले आएपछि गाउमा विकास भएको छ’ बमले भने ।
डुमलियाको अब एउटा मात्रै समस्या शिबगंगा नदीको पुल र त्यसको बाढीको कटान रहेको छ । सडक पक्की भए पनि नदीमा पुल नहुँदा बर्खायाममा भने समस्या हुने स्थानीयले बताए । डमौलिाया गाउँको पुर्व, पश्चिम र दक्षिण गरी तीनतिर शिवगंगा नदीले घेरेको छ । शिबगंगा नदीमा पुल निर्माण भयो र त्यसको कटान नियन्त्रण भयो भने डुमलीयाबासीका सबै दुख हराउने स्थानीयले बताएका छन ।
धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले डुमलियाको विकासका लागि निर्वाचित भए देखि नै लागेको बताए । उनले दुईवर्षमा गाउँमा विजुली र पक्की सडक पुगेसंगै शिवगंगा नदीमा पुलको टेण्डर पनि भइसकेको बताए ।
नगर प्रमुख वडका अनुसार डुमलीयामा टेलिफोन सेवाको समस्या पनि चाडै समाधान हुने छ । उनले भने, ‘दुई बर्षमा गाउँमा विद्युत र कालोपत्रे सडक पुर्याएको छु । अबको एक वर्षमा पुल बन्छ, अनी नदि कटानको समस्या पनि समाधान हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार