११ श्रावण २०८१, शुक्रबार

हरियाली शहर : माईथ एण्ड लेजेण्डस्



नेपाली काँग्रेस धनगढीका युवा नेता अमृत विसिले आफ्नो फेसवुक वालमा पोष्ट गरेका केहि तस्वीर र भनाईहरुले आज धेरै दिन पछि विकासका विषयमा लेख्न प्रेरित गरेको छ । उहाँको पार्टी नेपाली काँग्रेसले आफ्नो कार्यालय भवनमा हरियो रंग पोतेको सो तस्विरको क्याप्सनमा उहाँले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडज्यूको आग्रह अनुसार धनगढी सहरलाई हरियाली सहर वनाउनका लागि विपि स्मृती भवन नेपाली काँग्रेस कैलाली पार्टी कार्यालयबाटै प्रारम्भ भएकोमा जिल्ला कार्यसमितीलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ । सो विषयले स्थानीय विकास क्षेत्रका केहि रोचक कुराको याद दिलाउनुका साथै हामी कस्तो विकासका पछि छौं भन्ने पनि छलफल गर्न प्रेरित गरेको छ ।
२०४७ सालको जनआन्दोलन पछिको पहिलो निर्वाचनमा काठमाडौंमा पिएल सिंह मेयर भए । उनको पालामा काठमाडौंको नारा थियो ः स्वच्छ, सफा, हराभरा काठमाडौं । कामपाको नाराको उत्साहजनक परिणाम ननिक्लेपछि नगरपालिकाले एसियन पेण्टसंग साझेदारी गर्यो र सार्वजनीक स्थलका भित्ताहरु हरियो रंगले रंगायो । जहाँजहाँ हरियो रंग पोतीन्थ्यो त्यहाँ एसियन पेण्टको व्राण्ड मस्कट गट्टु झुण््ड्याईएको हुन्थ्यो ।

अर्काे कार्यकालको चुनाव केशव स्थापितले जिते । उनले नयाँ नारा ल्याए ः मेरो गौरव, मेरो पौरख मेरो काठमाडौं । यो नजानिदोढंगले समाजमा वढ्दै गएको हाम्रोवाट मेरो तीरको संक्रमणको प्रतीविम्व थियो । केशव स्थापित वाटो विस्तारका लागि नै चिनिन्छन् । उनका पालामा गरिएका वाटो विस्तारले ती पुराना हरियो रंग लगाएका भित्तामात्र भत्काएनन् बरु टुडीखेल तथा रानीपोखरीका वारमा पिङ खेलिरहेको भेटिने एसियन पेण्टको व्राण्ड मस्कट गट्टु पनि विस्थापित भए । अझ खास कुरा त बीसौं वर्ष अघिदेखि वाटा किनारमा उभिएर हराभरा काठमाडौ वनाईरहेका रुखहरु समेत काटिए, उखेलिए वा हटाईए । हरियालीमा उनको योगदान जम्माजम्मी केहि थान रोड आईल्याण्डहरु र सडक किनाराका लभर्स गार्डेनहरु नै हुन् । त्यसभन्दा वढी देखिदैन । स्थापितको कार्यकाल सन् २००२ मा सकियो । (सोहि सालदेखि एसियन पेण्टले दशकौंदेखि प्रयोग गरिआएको आर के लक्ष्मणद्वारा तयार पारिएको प्यारो गट्टुलाई आफ्नो व्राण्ड लोगोवाट पनि हटायो । यो एउटा संयोग मात्र हो ।)
हुनत त्यस अघि हरियाली वनाउने नाममा सडक किनारामा युकालिप्टस र पपलर लगाउनेहको वुद्धि पनि ध्यानदिन योग्य नै छ । ती वोटहरु अन्ततःः काट्नै पथ्र्यो र काटिए । तर काटेपछि कतीर के लगाईए ? सुनधारा र गौशाला साक्षी छ । त्यसपछि त विकास भनेकै भत्काउने हो भन्ने चल्यो । डाक्टर. वावुराम भट्टाई, जो विकास विज्ञानकै विद्वान हुन्, प्रधानमन्त्री भएका वेला समेत वडाध्यक्ष झैं वाटाका किनार भत्काउदै हिंडेको देख्न पाईयो, वोट लगााएको भन्दा । पछि सार्कको सम्मेलन गर्ने तयारीमा रोपिएका केहि थान विरुवा (माईतीघर–वानेश्वर–वागमती सडक खण्ड) ले नै अहिलेको काठमाडौंको हराभराको नारा र अभियान धानेको छ ।
हराभरा सहर नयाँ नारा होईन । तर नयाँ नयाँ फण्डा लिएर आउछ । पछिल्लो समय राष्टसंघको दिगो विकास लक्ष्यको फेहरिस्त पढ्दा होस् वा वज वर्ड भएको स्मार्ट सिटीका कथा कविता पढ्दा होस् हराभरा छुट्दैन । तर त्यसको कार्यान्वयनको जव वेला आउछ, अनि धनगढी उपमहानगरपालिकाका मेयर नृप वडज्यूले गरेको आह्वान जस्तो देखिन थाल्छ । उहाँको आह्वान अनुसार धनगढीलाई हराभरा वनाउने अभियानको थालनी उहाँको दल नेपाली कँंग्रेसले आफ्नो पार्टी कार्यालयमा हरियो रंग पोतेर गरेको भन्दै काँग्रेस नेता कार्यकर्ताहरुले उल्लेख गर्नथालेका छन् ।
रुख रोपौं वन जोगाऔं जस्तो नारा नलगाऔंं । खासमा वन रुख रोपेर जोगिदैन, अतीक्रमण नगर्दा जोगिन्छ । हरियाली पनि घर रंगाएर आउदैन । सामुदायीक हरियाली, खालि जमिनको अस्थायी हरियाली र हरियो घर हराभरा सहर निर्माणका केहि सामान्य तर वहुचर्चित उपायहरु हुन् । हरियो घर अहिले संसारका धेरै सहरमा चलेको अभियान हो । तर ती घरहरु हरियो रंग पोतीएकै हुन्छन् भन्ने छैन । घरलाई वोटविरुवाले सजाएर नै ती घरहरु हरियो घर वनेका हुन्छन् । यतातर्फ स्थानीय निकाय र विकास प्रशासकहरुको ध्यान जानपाए नारा पनि सफल हुने र हरियाली पनि कायम हुने देखिन्छ । अन्यथा पिएल सिंह र उनको नारा, उनले झण्ड्याएका गट्टुका तसविरहरु डा. भट्टराई वा केशव स्थापितहरु विस्थापित भए जस्तै हामी र हाम्रो अभियानको परिणती पनि नहोला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार