जलीय विविधता संरक्षणका लागि मस्यौदा
धनगढी । जलचर एवं जलीय जैविक विविधता संरक्षणका लागि मस्यौदा तयार गरिएको छ ।
नेपाल पानी परियोजनाले मंगलबारदेखि शुरु गरेको जलचर एवं जलीय जैविक विविधता संरक्षण सम्बन्धी विधेयकमा परामर्श गोष्ठीमा मस्यौदामाथि दफावार छलफल गरि तयार गरिएको छ ।
ठुलीगाड क्षेत्रमा पर्ने गाउँपालिकाभित्रका समुदाय तथा जनप्रतिनिधीहरूको रायसुझावलाई समेटेर मस्यौदा तयार पारिएको जनाइएको छ ।
डोटीका जोरायल, वडीकेदार तथा बोगटान र कैलालीका चुरे तथा मोहन्याल गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र वडाका जनप्रतिनिधी, सरोकारवाला संघसंस्थाका प्रतिनिधी एवं समुदाय लगायतको राय सल्लाहलाई आधारमा मस्यौदा तयार गरिएको र केही दिनमै सम्बन्धीत गाउँपालिकाका कार्यपालिका बैठकबाट छलफल गरि कानुनका रुपमा पारित गरिने जनाइएको छ ।
‘जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयकको मस्यौदा तयार भएको छ’ कैलालीको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्कामगरले भने–‘कार्यपालिकाको बैठकमा यसलाई छलफलमा लगेर पास गरिने छ ।’ उनले गाउँपालिका बैठकमा मस्यौदामा केही परिमार्जन पनि हुन सक्ने बताए ।
चार वटा गाउँपालिकाका सरोकारवालाहरूको उपस्थितिमा तयार पारिएको मस्यौदामा जलचर एंव जलीय जैविक विविधता संरक्षणको परिभाषा, दण्ड जरिवाना, उत्खनन गर्न पाउने लगायतका विषय समेटिएका छन् ।
मस्यौदामा नदीमा विषादी तथा विद्युतिय उपकरणको प्रयोग गरि माछा मार्ने अथवा आधुनिक प्रविधिको प्रयोग गरि माछा मार्ने लगायतका कुरामा बन्देज गरिने व्यवस्था रहेको छ ।
त्यस्तै, माछाले फुल पार्ने समयमा बल्छीको प्रयोग गरि माछा मार्न नपाईने पनि मस्यौदामा व्यवस्था गरिएको छ । विशेषतः माछाहरूले फुल पार्ने मौसम जेठ, असार र साउन रहेको जनाइएको छ । ‘माछाले फुल पार्ने मौसममा बल्छीको प्रयोग गरि माछा मार्दा माछाको जनसंख्या घट्न जान्छ’ पानी क्षेत्रमा काम गर्ने विशेषज्ञहरू भन्छन् ।
मस्यौदामा उत्खननका विषयमा गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरेपछिमात्र पाइने उल्लेख गरिए पनि अव्यवस्थित बसोबास तथा जथाभावी भौतिक संरचना निर्माणलाई समेट्न सकेको छैन ।
अहिले ठुलीगाड लगायत कर्णाली नदीमा माछा मार्न विषादी, विद्युतिय उपकरण लगायतका प्रयोग गरिएका छन् । अव्यवस्थित मानव वस्ती विस्तार, जथाभावी भौतिक संरचना निर्माण गर्नु, उत्खनन लगायतका कारण नदीको स्वरुप विग्रदै गएको प्रति स्थानीय जनप्रतिनिधीहरूले चिन्ता व्यक्त गरेका थिए ।
एक अध्ययन अनुसार महाकालीमा सात तथा कर्णालीमा ६२ जलाधार क्षेत्र रहेका छन् । कर्णाली नदी विश्वमै पाँचौ सुन्दर स्थानमा पर्ने अध्ययनले देखाएको छ । सो अध्ययन अनुसार नेपालमा दुई सय ३२ प्रजातीका जलीय जैविक रहेकोमा कर्णालीमा २७ प्रकारका जलीय जैविक रहेको पाइएको छ ।