१२ श्रावण २०८१, शनिबार

सम्पादकीयः अदूरदर्शी निर्णय



धनगढी उपमहानगरपालिकाले नगरमा निर्माण हुने सडकहरूको चौडाई कम गर्ने निर्णय गरेपछि यो निर्णयले पार्ने दूरगामी असरबारे बहस भइरहेको छ । एसियाली बिकास बैंकसंग भएको सम्झौता अनुसार निर्धारण गरिएको चौडाई अहिले घटाउनुका पछाडी सडक किनारमा रहेका घरजग्गाधनीबाट हुने विवाद समाधान गर्नुपर्ने तर्क दिइएको छ । उपमहानगरपालिकाको यो निर्णयपछि अब धनगढीको मुख्य सडकको चौडाई तीस मिटरबाट चौबीस मिटर हुने भएको छ । त्यस्तै, अन्य सडकहरूको पनि पहिले निर्धारण गरिएको भन्दा चौडाई कम गरिएको छ । एडिबीसंग भएको सम्झौताअनुसारको चौडाईका सडक निर्माणमा सडक किनारका घर तथा जग्गाधनीसंगको विवादको समाधान गर्न असफल भएपछि उपमहानगरपालिकाले सजिलो उपायका रुपमा सडकको चौडाई घटाएको छ । शहरीकरणका क्रममा सडक तथा अन्य भौतिक संरचना तीब्र गतिले निर्माण हु“दै जान्छन् । शहरीकरणका क्रममा थपिदै जाने जनसंख्याको चापलाई दृष्टिगत गर्दै सडक तथा अन्य भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ । उपमहानगरपालिकाको सडकको चौडाई घटाउने निर्णयले धनगढीमा तीब्र गतिमा थपिदै गएको जनसंख्याको चापलाई बढीमा दश वर्षसम्म मात्र थेग्न सक्ने विज्ञहरूले बताइरहेका छन् ।
धनगढीको करिब तीन किलोमिटर लामो प्रमुख सडक साघुरो रहेको छ । अझ कैलालीपुलदेखि बन सेतोपुलसम्मको खण्ड त निकै साघुरो रहेको छ । अहिले नै धनगढीको यातायात व्यवस्था अस्तव्यस्त रहेको अवस्था छ । र, यदि समय मै यो सडकको आवश्यक चौडाई सहित स्तरोन्नती गरिएन भने धनगढीको मुटुका रुपमा रहेको मुख्य सडक निकै कुरुप हुनेमा शंका रहदैन । उपमहानगरपालिकाले अचानक सडकहरुको चौडाई किन घटायो भन्ने चित्तबुझ्दो जवाफ उपमहानगरपालिका अधिकारीहरुले दिएका छैनन् । जग्गा तथा घरधनीबाट आइरहेको विरोध र असहमति थेग्न नसकेर नै उपमहानगरपालिका नेतृत्वले चौडाई घटाएको देखिन्छ । त्यसै पनि अहिलेसम्म उपमहानगरपालिकाले सबैभन्दा ठूलो समस्याका रुपमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र अथवा ल्याण्डफिल साइटका लागि जग्गाबारे सहमति जुटाउन सकेको छैन । त्यसरी नै नयाँ बसपार्क निर्माणका लागि जग्गाबारे लामो समयदेखि विवाद रहेको छ । त्यसैले अहिले सडकको चौडाई कम गर्ने उपमहानगरपालिकाको निर्णय दुरदर्शी मान्न सकिदैन ।
निश्चय पनि कुनै पनि सडक निर्माण हुदा किनारका जग्गा तथा घरधनीबाट विरोध आउने गर्दछ । प्रायः मानिस सडक वा अन्य भौतिक संरचना निर्माण गर्दा सकेसम्म आफ्नो एक वित्ता पनि जमिन नमासियोस् भन्ने चाहन्छन् । धनगढीको मुख्य सडकको चौडाई बढाउने प्रयास दशकौदेखि भइरहेको छ । पञ्चायतकालमा पनि यस्तो प्रयास भएको थियो । तर, सिमित व्यक्तिको विरोधका कारण सडक चौडा गर्ने प्रयास सफल हुनसकेन । उपमहानगरपालिकामा जननिर्वाचित जनप्रतिनिधि आइसकेपछि सडकको स्तरोन्नतीका साथै सुन्दर शहरको वर्षौदेखिको सपना साकार हुने जनअपेक्षा विस्तारै क्षीण हुदै गएको महसुस हुदैछ । केन्द्रीय राजधानी काठमाडौं उपत्यकाका सडकको चौडाई विस्तार गर्ने कठिनप्रायः काम पनि सफल भएको सन्दर्भमा धनगढी उपमहानगरपालिकाको सडकको चौडाई कम गर्ने निर्णयले आम नगरबासीको सपनामा तुषारापात भएको मान्नुपर्दछ । यो निर्णय दृढ निश्चय र दूरदृष्टिको अभावको द्योतक हो भन्नेमा विमति छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार