१० श्रावण २०८१, बिहीबार

विकास योजनाबारे सत्तारुढ दलकै प्रदेश र संघीय सांसदबीच विवाद



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा प्रस्तावित ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण योजनामा सत्तारुढ दल नेकपाका प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यबीच विवाद बढेको छ ।
कैलाली क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य रतनबहादुर थापाले सो भवन लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा स्थापना गर्ने प्रस्ताव गरेका थिए भने सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य झपटबहादुर रावलले वडा नम्बर २, मोतिपुरमा बनाउने प्रस्ताव गरेका थिए ।
अहिले सो भवन लम्कीचुहा नगरपालिका वडा नम्बर २, मोतिपुर रोरा नदीको छेउमा निर्माण प्रक्रियामा अघि बढाइएको छ ।
प्रदेश सांसद थापाले वडा नम्बर १ मा रहेको चन्द्रमौलेश्वरको १६ कठ्ठामा सो मिलन केन्द्र स्थापना गर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्तावमा प्रतिनिधि सभा सदस्य रावल तथा स्थानीय तहले हस्तक्षेप गरेका छन् । प्रदेश सभा सदस्य थापाले भने– जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण योजनामाथि प्रतिनिधि सभा सदस्य र स्थानीय तहले हस्तक्षेप गरे ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तह (लम्कीचुहा नगरपालिका) बाट सो मिलन केन्द्र भवन निर्माणका लागि तय गरेको स्थानको सिफारिस ल्याउन भनेकोमा नगरपालिकाले “प्रतिनिधी सभा सदस्य रावलले वडा नम्बर २, मोतिपुर छनौट गरेकाले सो बजेट त्यही हाल्न सिफारिस गरेको थियो । प्रदेश सभा सदस्य थापाले बुधबार अनुमोदनसंग भने– यो भवन नगरपालिकाले जहाँ बनाए पनि मलाई कुनै आपत्ति छैन, तर यसरी प्रदेशको योजनामाथि प्रतिनिधि सभा सदस्यले हस्तक्षेप गर्नु हुँदैन्थ्यो ।
उता, प्रतिनिधी सभा सदस्य रावलले ‘मोतिपुर बजार क्षेत्र भएको र त्यहाँ ज्येष्ठ नागरिकहरुलाई पुग्न, रमाउन सजिलो हुने भएकाले सो भवन त्यहाँ निर्माण गर्ने प्रस्ताव गरेको दाबी गरे । अनुमोदनसंग सांसद रावलले भने– उनले योजनामाथि हस्तक्षेप होइन ।

कृषि हाटबजार हटाएर मिलन केन्द्र

कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर २ मा कृषि हाटबजार हटाएर जेष्ठ नागरिक मिलन केन्द्र निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माणका लागि लम्कीचुहा नगरपालिकाले कृषि उपज हाट बजारलाई पत्रचार गरेका छ । भने जेष्ठ नागरिक मिलन केन्द्र निर्माण समितिले सो स्थानमा माटो भरानको काम सुरु गरेको छ ।
ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रतिनिधी सभा सदस्य रावलले २२ लाख तथा प्रदेश सभा सदस्य थापाले ३८ लाख रुपैया बजेट विनियोजन गरेका छन् ।
२०५४÷५५ सालमा त्रिनेत्रेश्वरी मन्दिरको नाममा रहेको सो जग्गामा मन्दिरले हाटबजार राख्न सहयोग गरेको थियो । साविकको जिल्ला कृषि कार्यालय, सामुदायिक वन, केयर नेपाल लगायत संघसंस्थाको आर्थिक सहयोगमा कृषि उपज हाट बजार स्थापना भएको जनाइएको छ ।
कृषि उपज हाटबजार भएको स्थानमा भवन निर्माण हुने भएपछि किसान तथा साना व्यवसायीले आफूमाथि अन्याय भएको बताएका छन् ।
कृषि उपज संकलन केन्द्रकी अध्यक्ष टहरी बुढाले भनिन्– पहिला त खाली जग्गा पाउन मुस्किल भएको थियो । अब यहाँबाट अन्यत्र जान भनिएको छ । अब कहा बस्ने ? कहा तरकारी बेच्ने ? भन्ने समस्या भएको छ ।
उनले नगरपालिकालाई हाट बजार व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्दा अन्यत्र ठाउँ खोज्ने प्रतिक्रिया दिने गरेको बताइन् । सो स्थानमा लम्की चुहानगरपालिका र बर्दगोरिया गाउँपालिकाका किसानहरुले तरकारी विक्री गर्ने गरेका छन् ।
सांसद रावलले हाट बजारलाई विस्थापन नहुने गरि सो स्थानमा मिलन केन्द्र स्थापना गरिने बताए । उनले भने– कृषि उपज हाट बजारका लागि वडा नम्बर १ को भुरुवामा नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार