७ पुष २०८१, आईतवार

इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै दिए निवेदन



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा चरम लापरबाही गरेको प्रहरीको सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वाहलीको माग गर्दै मन्त्रिपरिषदमा निवदेन दिएका छन्।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए। गृह मन्त्रालयले कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबा हटाएको थियो। आफूहरुमा अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।
हटाएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधान अनुसार दुवैजनाले निवेदन दिएको स्रोतले जानकारी दियो।
‘गत आइतबार प्रहरी निरीक्षक भट्ट र मंगलबार एसपी विष्टले निवेदन दिएका छन्,’ स्रोतले भन्यो, ‘उनीहरुको निवेदन उपर क्याबिनेटले छलफल गरेर निर्णय गर्छ। क्याविनेटको निर्णयमा चित्त नबुझे अदालत जाने बाटो समेत खुला हुन्छ।’ एसपी विष्ट र भट्ट दुवैले आफूहरुमाथि अन्याय भएको बताउँदै आएका छन्।
गत साउन १० गते बालिका पन्त साथी रोशनी बमको घरमा घरकी थिइन्। त्यसपछि वेपत्ता भएकी पन्तको भोलिपल्ट ११ गते उखुबारीमा शव भेटिएको थियो। घटनाको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो। पछि एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट समेत हटाइएको थियो।
त्यसैगरी निर्मला पन्त हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्ट, दिलिपसिहं विष्ट, चक्र बडुलगायत ९ जनाको डिएन परीक्षण भइसकेको छ। तर पनि घटनामा कुनै नयाँ क्लु फेला पर्न सकेको छैन। पन्तको न्यायको माग गर्दै भएको आन्दोलनमा एक जनाको प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो। तर पन्तको हत्यारा भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

अबको अनुसन्धान कता?
कञ्चनपुर प्रहरीले नै बेलैमा निर्मलाको खोजी नगरेको र प्रमाण नष्ट गर्ने काम गरेको भन्दै चौतर्फी आलोचना भयो। त्यसपछि सिआइबीबाट खटिएको डिएसपी अंगुर जिसीको टोलीले पनि नक्कली हत्यारालाई पक्राउ गरेर भिआइपी हत्यारा लुकाउन खोजेको आरोप लाग्यो। पछि डिएसपी जिसीलाई समेत निलम्बन गरेर सिआइबीका एसएसपी ठाकुर ज्ञवालीलाई अनुसन्धानका लागि पठाइयो। उनी बढुवा भएर डिआइजीसमेत भइसके। तर हत्याको क्लु फेला पर्न सकेको छैन।
त्यसैगरी डिआइजी हुँदा अनुसन्धानको जिम्मेवारी पाएका धिरु बस्न्यात हाल एआइजी छन्। घटनास्थल पुगेर समेत उनले अवलोकन गरे। बस्न्यातको टोलीले समेत कुनै तथ्य फेला पार्न सकेन। प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै सिफारिस गर्नुबाहेक अन्य कुरा पत्ता लगाउन सकेन।
अब शंका लागेर मात्रै पक्राउ गर्न सक्ने बाटो प्रहरीलाई छैन। निर्मला हत्याको प्रमाणको रुपमा अब एउटा मात्रै चिज बाँकी छ, डिएनए परीक्षण। अरु प्रमाण मेटिइसके र कतिपय त मेटाइए पनि।
शंका लागेजतिका व्यक्तिको डिएनए परीक्षण गर्नुबाहेक प्रहरीसामु अर्को विकल्प देखिंदैन। जसका कारण निर्मला हत्याकाण्डको अनुसन्धान जटिल मोडमा पुगेको एक प्रहरी अधिकारी बताउँछन्। उनले भने, ‘निर्मलाका हत्यारा पत्ता लाग्न सक्ने सम्भावना धेरै न्यून छ। ‘मैले बलात्कार गरेँ, मेरो डिएनए टेस्ट गर्नु भनेर अपराधी बसेका होलान् र? घटनास्थल आसपासका मान्छेको डिएनए परीक्षणबाट अपराधी पत्ता लगाउन झन् गाह्रो छ।’
यदि मुख्य अपराधी अहिलेसम्म निगरानीमा नआएको भए पनि अब डिएनए गर्ने भए भन्ने थाहा पाएपछि भाग्नसक्ने सम्भावना भएकाले अपराधी पत्ता लाग्न नसक्ने कतिपय प्रहरीकाे तर्क छ।

(नेपाल लाइभ)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार