समृद्धिको यात्राका लागि प्राविधिक जनशक्ति जरुरी– शिक्षा मन्त्री पोखरेल
टीकापुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मुलुकको समृद्धिको यात्रामा प्राविधिक जनशक्तिको निकै आवश्यकता रहेको बताएका छन् । “अहिले देशमा प्राविधिक जनशक्ति १० प्रतिशत मात्रै छ” शनिबार टीकापुरमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले भने– “सरकारले मुलुकमा प्राविधिक शिक्षालयहरू विस्तार गर्दै दक्ष प्राविधिक जनशक्ति उत्पादन बृद्धि गर्ने नीति लिएको छ ।” मन्त्री पोखरेलले आगामी वर्षहरूमा सरकारले प्राविधिक शिक्षामा उल्लेख्य लगानी बढाउने बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टीकापुरको शनिबार भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले सरकारले प्राविधिक शिक्षा लिएर १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई रोजगार बनाउने लक्ष्य राखेको बताए ।
मन्त्री पोखरेलले देशमा गणतन्त्र, संघीयता आइसक्दा पनि शिक्षामा रूपान्तरण हुन नसकेको चर्चा गरे । भने– “अब सामुदायिक विद्यालय बुझेका शिक्षकहरूले विद्यालयको अवस्था बदल्ने जिम्मेवारी बहन गर्नुपर्दछ ।”
उनले शिक्षकहरूलाई ट्ेरड युनियन तथा राजनीतिक दललाई बढी समय दिने, तर कक्षाकोठामा विद्यार्थीलाई कम समय दिने प्रवृत्ति परिवर्तन गर्न आग्रह गरे । भने– “तपाईंहरूले आफूसँग भएको क्षमता कक्षाकोठामा देखाउनुपर्यो ।”
उनले नेपालमा विद्यालय र विश्वविद्यालयको संख्या र आवश्यक स्थानको प्रक्षेपण गर्न मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त समिति बनेको जानकारी दिए ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ईश्वरीप्रसाद ढकालले कृषि तथा वनका विषयगत विश्वविद्यालय खुलिसकेपछि देशमा रहेका ११ वटै विश्वविद्यालयले कृषि र वनमा सम्बन्धन दिनु उपयुक्त नहुने बताए ।
सो अवसरमा प्रदेश सभा सदस्य रणबहादुर रावलले स्थानीय जनताले २०४८ सालदेखि माग गर्दै आएको कृषि क्याम्पसको माग पूरा भएकोमा धन्यवाद दिँदै कृषि, पशु, वन विज्ञको अभाव पूरा हुनेमा विश्वास व्यक्त गरे ।
त्यस्तै, टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनमा स्थानीय सरकारको पूरा सहयोग हुने प्रतिवद्धता जनाए ।
गत वर्षदेखि कृषि विज्ञानमा ५० जना विद्यार्थीलाई स्नातक पढाई शुरु गरेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवनका लागि दश बिघा जमिन प्रदान गरिएको छ ।
कार्यक्रम कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन जयप्रकाश दत्तको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन ताराप्रसाद जैसीले गरेका थिए ।