३ जेष्ठ २०८१, बिहीबार

विमानस्थलको स्तरोउन्नती संघीय सरकारले गर्छ : मन्त्री अधिकारी



धनगढी । पर्यटन संस्कृति तथा नागरिक उड्ययनमन्त्री रविन्द्रप्रसाद अधिकारीले धनगढी, नेपालगञ्ज, जनकपुर, विराटनगर र चन्द्रगढी विमानस्थललाई छिमेकी राष्ट्रसंग जोड्ने गरेर विकास गर्ने बताएका छन् ।
धनगढी विमानस्थलको स्तरोउन्नतीबारे शनिबार भएको छलफलमा उनले विमानस्थलको स्तरोन्नतीले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने भएकोले सरकार विमानस्थलको विकासमा केन्द्रीत भएको जानकारी दिए ।
धनगढीमा राति पनि हवाइ सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिसकेका छौं मन्त्री अधिकारीले भने, दिशा निर्देश गर्ने र जहाजदेखि बिमानस्थलको दूरी बताउने यन्त्र राखेपछि मौसम खराव हुँदा पनि जहाज अवतरण गर्न सजिलो हुनेछ ।
उनले धनगढी विमानस्थललाई एउटा केन्द्रका रूपमा विकास गर्ने संघीय सरकारले स्रोतको कमी हुन नदिने प्रतिवद्धता पनि जाहेर गरे ।
त्रिभुवन विमानस्थलपछिको ठूलो धनगढी विमानस्थलको धावनमार्ग एक हजार आठ सय मिटर बाट दुई हजार चार सय मिटर लम्वाईको बनाउने योजना छ उनले भने गुरु योजना बनाएर अझ धेरै काम गरिने छ ।
प्रदेश, स्थानीय र संघीय सरकार समन्वय गरेर काम गर्नुपर्ने बताउँदै मन्त्री अधिकारीले एअरपोर्ट संघीय सरकारले बनाउछ प्रदेश र स्थानीयले पर्यटन क्षेत्रको विकासका लागि लगानी गर्नुपर्छ बताए । दिल्ली, उत्तराखण्ड लगायतका क्षेत्रबाट आउने यात्रुहरु धनगढी र सात नम्वर आउदा के के देख्न पाउछन, कहाँ कहाँ जाने त्यसका लागि काम गर्न उनले प्रदेश सरकारलाई आग्रह गरे ।
सन् २०२० मा २० लाख पर्यटक भित्राउन कर्णाली र सात नम्बर प्रदेशले विशेष योजना ल्याउन जरुरी भएको पनि औंल्याए ।
सो अवसरमा प्रदेश सातका सामाजिक विकासमन्त्री दीर्घ सोडारी र संघीय संसदका सदस्य नारदमुनी रानाले धनगढी विमानस्थल जनताको प्रयासमा वनेको चर्चा गर्दै अव संघीय सरकारले पर्याप्त वजेट छुट्याउन आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले धनगढी विमानस्थल ७० विगाह आठ कट्टा छ धुरमा फैलिएको अझै विमानस्थल विस्तार गर्न पर्याप्त जग्गा अधिग्रहण गर्न सकिने जानकारी दिएकी थिइन् ।
कार्यक्रममा पर्यटन व्यवसायी मायाप्रकाश भट्ट, मन्त्रालयका पर्यटन विज्ञ समूहका सदस्य संजय चौधरी लगायतले धनगढीलाई भारतको दिल्ली विमानस्थलसंग जोड्न सके सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य पुरा हुने विश्वास व्यक्त गरेका थिए । पर्यटन व्यवसायीहरुले धनगढी विमानस्थल दिल्लीसँग जोडिदा मानसरोवरको यात्रा गर्न सजिलो हुने दावी गरेका छन् । यस्तै धनगढी–सिमीकोट, धनगढी–लुम्विनी, धनगढी–पोखरा हवाई सेवा सञ्चालन गर्नुपर्ने माग उठ्न थालेको छ । कार्यक्रमको सहजीकरण गैरसरकारी संस्था फाया नेपालका निर्देशक धर्मराज पाठकले गरेका थिए । धनगढीमा अहिले वुद्ध र श्री एअरका दैनिक चार उडानबाट झण्डै पाँच सय यात्रुले धनगढी–काठमाडौं र काठमाडौं–धनगढी ओहरदोहर गर्ने गरिरहेका छन् । नेपाल एअर र सौर्य एअरलाइन्स पनि कहिले कही हवाई सेवा दिने गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार