१६ कार्तिक २०८१, शुक्रबार

आज राष्ट्रिय धान दिवस: वर्षा नहुँदा धान रोपाई न्युन



धनगढी । घोडाघोडी नगरपालिकाकी जिविका ढकाल बुधबार रोपाईका लागि खेतमा पुगिन् । उनका श्रीमान रोजगारीका लागि भारत र सन्तानहरू विदेशतिर गएकाले उनले मजदुरसहित धान रोपाई गर्न तल्लीन थिइन् । कोही गोरु बाउँदै थिए भने कोही धानको बीऊ बोकिरहेका थिए भने कोही धमाधम धान रोपिरहेका थिए ।
यस वर्ष मनसुन शुरु भएको १९ दिन भइसक्दा पनि छिटफुटबाहेक वर्षा भएको छैन । मंगलबार देशभरी वर्षा भए पनी कैलालीमा खेती गर्न आवश्यक वर्षा नभएको किसानहरूले बताए । वर्षा नभएका कारण कैलालीमा अहिलेसम्म राम्ररी धान रोपाई हुनसकेको छैन ।
आकाशे पानीको भरमा रोपाई गर्दै आएकी जिविकाले भनिन्– खेती गर्न सिंचाईंको सुविधा छैन, त्यसैले आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । उनले सरकारले कृषिको आधुनिकिकरण गर्ने भने पनि व्यवहारमा नदेखिएको गुनासो गरिन् । भनिन्–हामी किसानले समस्या मात्रै बेहोर्नु परेको छ । न समयमा मल पाईन्छ, न चाहिने वेला सिंचाईं सुविधा । स्थानीय, प्रदेश र केन्द्र सरकारले कृषिलाई प्राथमिकतामा राखेको नारा दिए पनि हामी किसानका समस्या जस्ताको तस्तै रहेका छन् ।
प्रायः हरेक वर्ष जेठ महिनामै रोपाई शुरु हुने घोडाघोडी नगरपालिकाका किसानहरूले यस वर्ष मनसुन सक्रिय नहुदा समस्या भएको बताए । घोडाघोडी नगरपालिका वडा नम्वर १ की लक्ष्मी बिष्टले भनिन्– पोहोर साल त असार ६ गते नै रोपाई सकेका थियौ । उनले यसपालि वर्षा नहुँदा रोपेको धान खेतमै सुक्छ की भनेर अहिलेसम्म रोपाई नगरेको बताइन् ।
अर्का किसान ईश्वरी उपाध्यायले भनिन्– डाँडामा खेत छ, बोरिङमा राम्ररी पानी आउँदैन । आकाशबाट पानी परेको छैन, त्यसैले रोपाई नै भएको छैन । किसानहरूले यस वर्ष रोपाईका लागि सिंचाईंमा बढी खर्च गर्नुपरेको बताए ।
जिल्ला कृषि विकास कार्यालय, कैलालीका अनुसार यस वर्ष असार दोस्रो सातासम्म जम्मा २५ प्रतिशत मात्रै रोपाई भएको छ । कैलालीमा ७१ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख यज्ञराज जोशीका अनुसार गत वर्ष असार दोस्रो सातासम्म ५५ प्रतिशत जग्गामा धान रोपाईं भइसकेको थियो ।
उनले कैलालीको कुल खेतीयोग्य जमिनमध्ये हालसम्म ४७ प्रतिशतमा मात्र सिंचाईं सुविधा पुगेको बताए । उनले यस वर्ष पानी नपर्दा रोपिएका धानहरु पनि विग्रिएर पुनः रोप्नु पर्ने अवस्था केही ठाउँमा देखिएको बताए ।

नारा कृषिबाट समृद्धिः किसानहरू समस्यै समस्यामा
आज असार १५, अर्थात् राष्ट्रिय धान दिवस । प्रदेश सातका सबै जिल्ला तथा ८८ वटा स्थानीय तहमा पनि विभिन्न कार्यक्रमसहित धान दिवस मनाइएको छ ।
धान उत्पादनमा बृद्धि ः राष्ट्रको समृद्धि भन्ने नारासहित दिवस मनाईरहँदा किसानहरुले भने समस्यै समस्याबाट गुज्रिनु परेको छ ।
राज्यले कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण बनाउने प्रयास गरिरहे पनि आम किसानहरू भने परम्परागत ढंगबाटै खेती गर्नु परेको छ । देश संघीय संरचनामा गएसंगै आम नागरिकले स्थानीय, प्रदेश र संघीय सरकार पाए पनि किसानमैत्री नीति भने अझैं महसुस गर्न सकेका छैनन् ।
७ नम्बर प्रदेश सरकारले गत १ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा किसानलाई राहत पु¥याउन समयमै मलदेखि अनुदानसम्मका लागि बजेट वक्तव्यमा उल्लेख भए पनि किसानहरुको प्रमुख समस्या सिंचाईं सुविधाका लागि बजेट विनियोजन नभएको प्रदेशका सांसद कृष्णबहादुर चौधरीले संसदमा धारणा व्यक्त गरेका थिए । उनले प्रश्न गरेका थिए– हामी धान उत्पादन बढाएर प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने कुरा गरिरहेका छौं, तर सिंचाईका लागि किन बजेट विनियोजन किन गरिएन ? उनले कैलाली कञ्चनपुर धान तथा गहुँ उत्पादनका लागि राम्रो जिल्ला मानिए पनि सिँचाई सुविधा नहुँदा किसानहरुले समस्या भोग्नु परिरहेको बताएका थिए । उनले सिँचाई सुविधा पछिमात्र मलखाद, कृषि यान्त्रीकरण, विउविजनका कुरा आउने बताएका थिए ।
प्रदेश सरकारको बजेटमा तरकारी, फलफुल लगायतको उत्पादन बृद्धिमा जोड दिइएको भए पनि धान र गहँु उत्पादनमा खासै जोड नदिएको देखिन्छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सार्वजनिक गरेको बजेट वक्तव्यमा कृषि उत्पादनको मुख्य बालीको रुपमा रहेको धान खेतीको उत्पादन वृद्धि गर्न मसिना तथा बास्नादार धान उत्पादन र चैते धान उत्पादन कार्यक्रमतर्फ दुृई करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा किसानहरुलाई कृषि औजार उपकरण अनुदान, कोल्ड स्टोर, कोल्ड च्याम्बर तथा राइपेनिङ च्याम्बर निर्माण र साना सिंचाईं सहयोग कार्यक्रम प्रदेश अन्तर्गतका ८८ वटै स्थानीय तहमा सञ्चालनको लागि मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत १९ करोड रुपैया, बीउ प्रवद्र्धन तथा गुण नियन्त्रण कार्यक्रम अन्तर्गत तरकारी बीउ, धान, गहुँ, मुंगको बीउ बैंकको सुदृढीकरण लगायतका कार्यका लागि बजेट, कृषिको व्यवसायीकरण, यान्त्रीकरण र मुल्य श्रृंखला विस्तार गरी कृषिलाई गरिबी निवारण, बेरोजगारीको अन्त्य र खाद्य सुरक्षाको आधारको रुपमा विकसित गर्दै कृषिको उत्पादन दोब्बर बनाउने नीति अवलम्बन गरिने उल्लेख छ ।
प्रदेश नम्बर ७ मा एक लाख ८० हजार दुई सय ९१ हेक्टरमा धान रोपाई हुने गरेको छ । अझै कुल खेतीयोग्य जमिनको ६० प्रतिशतमा सिचाईं सुविधा पुग्न नसकेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।
सिंचाईं नपुगेका क्षेत्रमा आकाशे पानी, बोरिङ, नल्का, मोटर, नदीको पानी लगायतबाट धान खेती हुँदै आएको छ ।

झण्डै ३८ प्रतिशतमा धान रोपाई
प्रदेश नम्बर ७ (साविकको सुदूरपश्चिम) मा असारको दोस्रो सातासम्म करिब ३८ प्रतिशतमा धान रोपाई भएको जनाइएको छ । एक लाख ८० हजार दुई सय ९१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएको सात नम्बर प्रदेशमा ३७ दशमलव पाँच प्रतिशत जग्गामा धान रोपाई भईसकेको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
गत वर्ष असार दोस्रो सातासम्म ४३ दशमलव ६१ प्रतिशतमा धान रोपाईं भइसकेको थियो ।
क्षेत्रीय निर्देशनालयका प्राविधिक सहायक सरिता पन्तका अनुसार यस वर्ष समयमै पानी नपरेकाले रोपाईको अवस्था सन्तोषजनक रहेको छैन ।
क्षेत्रीय निर्देशनालयका अनुसार यस वर्ष असार १४ गतेसम्म सबैभन्दा बढी बझाङमा ७० प्रतिशत र सबैभन्दा कम दार्चुलामा १० प्रतिशत धान रोपाईं भएको छ । बझाङमा सात हजार एक सय १० हेक्टरमा धान खेती गरिदै आएको छ भने दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा धान खेती गरिन्छ ।
त्यस्तै, कञ्चनपुरमा करिब २५ प्रतिशत धान रोपाईं भइसकेको छ । कञ्चनपुरमा ४७ हजार पाँच सय ६७ हेक्टरमा धानखेती गरिदै आएको छ । कैलालीमा ७१ हजार पाँच सयमा धान खेती गरिदै आएकोमा २५ प्रतिशत, अछाममा १६ हजार पाँच सय आठमध्ये २५ प्रतिशत, डोटीमा १० हजार छ सय ७० मध्ये २० प्रतिशत, बैतडीमा नौ हजार मध्ये ३२ प्रतिशत, बाजुरामा सात हजार दुई सय ३० मध्ये ३० प्रतिशत र डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमध्ये १५ प्रतिशतमा धान रोपाई भईसकेको जनाईएको छ ।

आज विविध कार्यक्रम गरिदै
धान रोपाई दिवसको अवसरमा आज (शुक्रबार) प्रदेश तथा स्थानीय तहले विभिन्न कार्यक्रम गरिरहेका छन् ।
प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिवसको अवसरमा कैलारी गाउँपालिकामा विशेष कार्यक्रमको आयोजना गर्न लागेको मन्त्रालयले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीऊ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाउने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार