६ माघ २०८१, आईतवार

नमुना युवा संसद सञ्चालन



अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा शनिबार नमुना युवा सांसद कार्यक्रम भएको छ । युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रमअनुसार जिल्ला युवा समिति कैलालीको आयोजनामा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा संसदमा हुने सबै गतिविधि अभ्यासको रूपमा प्रस्तुत गरिएको थियो ।
नमुना युवा संसदमा प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी नमुना संसदको अवधारणा राम्रो रहेको बताए । यसरी सिकेर नै युवाहरू भविष्यमा वास्तविक संसदमा जान सक्ने र आफ्नो क्षमता देखाउन सक्ने हुन्छ उनले भने । प्रदेश सभा सदस्य चुनकुमारी चौधरी र कृष्णराज सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला युवा समिति, कैलालीका अध्यक्ष शम्भु कुँवरले युवाहरूमा क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले नमुना संसद कार्यक्रम सञ्चालन गरेको बताए । नमुना संसदमा गोदावरी नगरपालिकाका प्रत्येक वडाबाट दुई जना दरले छनिएका समेत गरेर ३६ जना सांसदको सहभागिता रहेको थियो । संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वास्तविक संसदमा झै प्रतिपक्षका सांसदले नीति तथा कार्यक्रमको विरोध गरेका थिए । भने सत्ता पक्षका सांसदले समर्थन गरेका थिए । नमुना संसदमा प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार