१६ कार्तिक २०८१, शुक्रबार

वर्षायाम आउन थाल्यो कि सातो जान्छ



भजनी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३, ठेकीपुरवाका कृषक वरातिलाल चौधरी वर्षायामभरी राति कहिल्यै पनि ढुक्कसँग सुत्न सक्दैनन् । आकाशमा कालो बादल देख्दा उनको अनुहारमा भयत्रासले कालोनिलो हुन थाल्छ । घरभन्दा पाँच मिनेटको दूरीमा रहेको खोलाले घरपरिवार बगाउँछ कि, खेतीयोग्य जमिन कटान पो गर्ने हो कि ? उनको मनमा डर पलाउने गर्दछ ।
बरातिलालसहित ठेकीपुरवाका सयौं परिवारले प्रत्येक वर्षायामभरी डरत्रासमै दिन काट्दै आएका छन् । सो गाउँका प्रायः परिवार वर्षायाममा विस्थापित हुने गरेका छन् । हरेक वर्षायाममा बाढीको प्रकोप भोग्दै आएका ठेकीपुरवावासीले यस पटक पनि ढुक्क हुनसक्ने अवस्था देखेका छैनन् ।

फाइल तस्बिर

२०७४ सालको वर्षायाममा आएको बाढीका कारण सयौं गाउ“ले झैं भजनी नगरपालिका वडा नम्बर ८, का ६२ वर्षीया कुन्तीदेवी तिवारी पनि विस्थापित भइन् । सो वर्ष साउन २७ गतेको बाढीमा उनको सानो झुपडी डुब्यो । झुपडीमा फसेका कुन्तीदेवी र उनका छोरालाई उद्धारकर्मीले जोगाए, तर अन्नपात, लत्ताकपडा सबै बाढीमा बगे ।
भजनी नगरपालिकाको वडा नम्बर ३, ५ र ८ का बासिन्दाले हरेक वर्षायाममा बाढीको प्रकोप भोग्नु परेको छ । बाढीका कारण घरबारबिहीन हुनुपरेको छ । अन्नबाली सखाप हुने गरेको छ । बर्सेनि सयौैं विघा खेतीयोग्य जमिन बालुवाले पुरिने गरेको छ । “यस्तो समस्या कहिलेसम्म भोग्नु पर्ने हो ?” कुन्तीदेवी हरेक वर्ष प्रश्न गर्छिन् ।
बर्सेनि बाढीको प्रकोप भोग्नु पर्दा हायलकायल बनेका स्थानीयले पटकपटक स्थानीय तहदेखि विभिन्न निकायमा तटबन्ध निर्माणका लागि हारगुहार गरे पनि खासै सुनुवाई नभएको बताए । “अघिल्लो वर्षायामको कहरबाट तंग्रिन नपाउँदै अर्को वर्षायाम आउँछ र फेरि उठिवास लगाउँछ” भजनी वडा नम्बर ३ का हेमन्त जोशीले भने ।
स्थानीयका अनुसार कान्द्रा, मोहना, काँडा र पथरैया नदिले जहिले पनि यो क्षेत्रमा डुवान तथा कटान गर्ने गरेको छ । हरेक वर्ष बस्तितिर सोझिने बाढीले घरहरूलाई जगैदेखि हल्लाउने गरेको छ । नदीमा तटबन्ध निर्माण नभएकाले बाढी रोक्ने कुनै उपाय छैन ।
भजनी नगरपालिकाको कार्यालयमा यी वडाबाट नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिदिन माग आइरहेको नगर प्रमुख शेरबहादुर चौधरीले बताए । उनले तटबन्ध निर्माणका लागि भने नगरपालिकाले खासै काम गर्न नसकेको स्वीकार गरे । उनले तटबन्धको माग भएका क्षेत्रको प्रत्यक्ष अनुगमन, अवलोकन गरेरमात्र आवश्यक परेका स्थानमा काम अघि बढाउने बताए ।
स्थानीय जनप्रतिनिधिले निर्वाचित भएर आइसकेपछि जनताका तत्कालका माग (सडक, कल्भर्ट, पुल लगायत) हरूलाई सम्बोधन गर्ने प्रयास गर्दा विपद् नियन्त्रणमा ध्यान पुग्न नसकेको देखिन्छ ।
नगर प्रमुख चौधरीका अनुसार नगरपालिकाले अहिले उच्च र चौडा नाली निर्माण, बनेका नालीको सरसफाई तथा झाडी हटाउने, वडा नम्बर ३ र ८ मा उद्दारका लागि काठका डुंगालाई तयारी अवस्थामा राखेको छ । उनले भने “हामीले यो वर्ष जनताका माग अनुसारको योजनामा बजेट खर्च गरेका छौं ।”
“नगरपालिकाले अहिले नालाहरू गहिरो र फराकिलो पार्ने काम गरिरहेको छ” स्थानीय हेमन्त जोशीले भने– “नगरपालिकाका अन्य वडामा तटबन्ध निर्माण गर्न लागेको छ भने थाहा भएन तर, हाम्रो क्षेत्रतिर तटबन्धका कुनै काम अघि बढेको छैन ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार