१५ कार्तिक २०८१, बिहीबार

अझैं पाठ्यपुस्तक पुगेनन्



धनगढी । स्थानीय तहको कमजोरीका कारण प्रदेश ७ का अधिकांस विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन् ।
जनक शिक्षा सामग्रीले प्रदेश नम्बर ७ मा आवश्यक पर्ने २३ लाख ७५ हजार थान पाठ्यपुस्तकमध्ये ९४ प्रतिशत पाठ्यपुस्तक प्रदेशका नौ वटै जिल्लामा पठाइसकेको जनाएको छ । तर, स्थानीय तहले पाठ्यपुस्तक खरिदका लागि आवश्यक बजेट निकासा नगर्दा विद्यालयमा भने पुग्न नसकेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघले गुनासो गरेका छन् ।
घोडाघोडी नगरपालिकास्थित न्यूमदन पुस्तक पसलका सञ्चालक एवं पहलमानपुर क्षेत्रका २२ वटा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने जिम्मा लिएकी सरस्वती भण्डारीले भनिन् ‘बैंकबाट ऋण लिएर जनक शिक्षाबाट पाठ्यपुस्तक लिन लागेको छु ।’ उनले घोडाघोडी नगरपालिकाले अहिलेसम्म सामुदायिक विद्यालयमा रकम निकासा नगरेको बताइन् । उनले विद्यालयले स्थानीय तहबाट रकम निकासा नभएको गुनासो गरेको बताइन् ।
गोदावरी नगरपालिकाका पुस्तक विक्रेता राजेन्द्र भट्टराईले नगरपालिकाले आवश्यक भन्दा न्यून बजेट रकम निकासा गरेको बताए । उनका अनुसार पाठ्यपुस्तक खरिदका लागि आवश्यक पर्ने कुल रकममध्ये ७० प्रतिशत रकममात्र निकासा भएको बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका कैलाली अध्यक्ष वेदप्रकाश चुवाईले विगतमा जिल्ला शिक्षा कार्यालयले पाठ्यपुस्तकको खरिदका लागि फागुनमै रकम निकासा गरिरहेको भएपनि स्थानीय तहले चैत जानै लाग्दासमेत रकम निकासा नगरेको बताए ।
शैक्षिक सत्र २०७५ को भर्ना अभियान वैशाख २ गतेदेखि शुरु हुन लागेको छ । विद्यालय नखुल्नु अघिनै यस वर्ष पाठ्यपुस्तक पुगाउने लक्ष्य अनुरूप जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक वितरण गरिरहेको भएपनि स्थानीय तहको असहयोगका कारण समस्या देखिएको छ ।
‘विगतमा विभिन्न कारण समयमा पाठ्यपुस्तक नपुग्दा केही जिल्लामा पाठ्यपुस्तक अभावका खबर आउने गरेका थिए,’ प्रमुख भट्टले भने, ‘पहिलोपटक केन्द्रले कुनै पनि ठाउँबाट पाठ्यपुस्तक अभाव हुन नदिने योजनाअनुसार काम गरिरहेको थियो ।’ तर, स्थानीय तहले समयमै रकम निकासा नगर्दा शिक्षा सामग्रीबाट पुस्तक लिन पनि विक्रेताले मानेका छैनन् ।
गत वर्ष प्रदेशमा २० लाख थान पुस्तक आवश्यक भएकोमा आगामी शैक्षिक सत्रमा २३ लाख ७० हजार थान आवश्यक भएको केन्द्रले जनाएको छ ।
नयाँ शैक्षिक सत्रका लागि प्रदेशका सात वटा जिल्लामा ९८ प्रतिशत पुस्तक र कैलाली–कञ्चनपुरमा ८० प्रतिशत पुस्तक पुर्‍याइसकेको जनक शिक्षा सामग्रीले जानकारी दिएको छ । प्रदेश नम्बर ७ मा तीन हजार पाँच सय ५० सामुदायिक विद्यालय रहेका छन् ।
विगतमा समयमै पाठयपुस्तक नपुग्दा हरेक वर्ष प्रदेश नम्बर ७ (सुदूरपश्चिम) का अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी समस्यामा पर्दै आएका थिए । केन्द्रले प्रत्येक वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याउने बताउँदै आए पनि पछिल्लो ५ वर्षयता प्रदेशका दुर्गम जिल्लामा पाठ्यपुस्तक अभाव कायमै रहेको थियो ।
केन्द्रले आर्थिक वर्ष २०७० देखि पाठ्यपुस्तक वितरणमा एकरूपता ल्याउने भन्दै सुदूरपश्चिमका ८ जिल्ला सदरमुकाममा सहायक डिलर स्थापना गरी पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो । त्यसरी वितरण गर्दा समेत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेपछि २०७३ सालदेखि पुन: पुस्तक पसलमार्फत नै पाठ्यपुस्तक बिक्रीवितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार