३ जेष्ठ २०८१, बिहीबार

बलात्कारका घटनामा बृद्धि



धनगढी । कैलालीमा पछिल्ला वर्षहरूमा बलात्कारका घटनामा बृद्धि आएको छन् । कैलाली जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो चार वर्षको तथ्यांकअनुसार जिल्लामा जबरजस्ती करणी र करणी उद्योगका गरी एक सय ५७ वटा मुद्दा दर्ता भएका छन् ।
कैलाली प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ को फागुन समान्तसम्ममा जिल्लामा पाँच सय ५५ वटा अपराधका मुद्दा दर्ता भएकोमा बलात्कारका २३ र बलात्कार उद्योगका १३ वटा मद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७१/७२ मा छ सय २०, ०७२/७३ मा छ सय एक र ०७३/०७४ मा छ सय ४८ वटा अपराधीक मुद्दा दर्ता भएका थिए ।
दर्ता भएका कुल मुद्दामध्ये आर्थिक वर्ष २०७१/७२ मा ३१, ०७२/७३ मा २६ र ०७३/७४ मा ३० वटा बलात्कारका मुद्दा र ०७१/७२ मा २१, ७२/७३ मा पाँच र ७३/७४ मा आठ वटा बलात्कार उद्योगका मुद्दा दर्ता भएका थिए ।
बालिका बढी पीडित
बलात्कार तथा जवरजस्ती उद्योगका अपराधमा बढी जसो बालिका पीडित हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
कैलाली जिल्लामा आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्ममा दर्ता भएको बलात्कार अपराधका कुल ३६ मुद्दामध्येमा ६३ प्रतिशत बालिका नै पीडित रहेको पाइएको छ ।
अनुसन्धान अनुसार जिल्लामा बलात्कार अन्तर्गत २३ बालिका, १६ देखि २५ उमेर समूहका सात, २६ देखि ४० उमेर समूहका पाँच र ४१ देखि ६० वर्ष उमेर समूहको एक जना पीडित रहेको देखाइएको छ ।
यस्तै, बलात्कारमा बालिका १३, १७ देखि २५ वर्ष उमेर समूहका पाँच, २६ देखि ४० वर्ष उमेर समूहका चार र ४१ देखि ६० वर्ष उमेर समूहका एक जना रहेका छन् भने बलात्कार उद्योगअन्र्तगत बालिका १०, १७ देखि २५ उमेर समूहका दुई, २५ देखि ४० उमेर समूहका चार जना पीडित रहेका छन् ।

युवाहरूको संलग्नता बढी
बलात्कार र जवरजस्ती उद्योगका घटनामा बढी जसो युवाहरूनै पीडक रहने गरेको प्रहरी अनुसन्धानले जनाएको छ ।
सोही अनुसन्धानका अनुसार कुल घटनामध्ये ६१ प्रतिशत युवा समूह (१६ देखि २५ वर्ष उमेर समूह)हरू बलात्कारका घटनामा संलग्न रहने गरेको देखाइएको छ । सो अनुसन्धान अनुसार बलात्कार घटनामा बालक पाँच, १६ देखि २५ उमेर समूहका २२, २६ देखि ४० उमेर समूहका ११, ४० देखि ६० उमेर समूहका चार जना रहेका छन् ।
प्रहरी अनुसन्धान अनुसार बलात्कारमा १६ वर्ष मुनिका चार, १६ देखि २५ वर्ष उमेर समूहका १४, २६ देखि ४० उमेर समूहका छ, ४० देखि ६० उमेर समूहका चार जना संलग्न रहेको देखाइएको छ भने बलात्कार उद्योग अन्तर्गत बालक १, १६ देखि २५ वर्ष उमेर समूहका आठ र २५ देखि ४० उमेर समूहका पाँच जनाको संलग्नता रहेको देखाइएको छ ।
शहरमै महिला तथा बालिका असुरक्षित
प्रहरी अनुसन्धानले शहरमै महिला तथा बालिकाहरू असुरक्षित हुने गरेको देखाएको छ । आर्थिक वर्षमा दर्ता भएका बलात्कारका कुल ३६ मुद्दामध्ये ८३ प्रतिशत बलात्कारका घटना शहर क्षेत्रमै भएको पाइएको छ ।
सो अनुसन्धान अनुसार बलात्कारका घटना सबैभन्दा बढी धनगढी उपमहानगरपालिका १२ वटा रहेका छन् । त्यस्तै, भजनी नगरपालिकामा पाँच, गोदावरी नगरपालिकामा चार, लम्की नगरपालिकामा तीन, टीकापुर, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिकामा दुई/दुई, चुरे गाउँपालिका, कैलारी, बर्दगोरिया गाउँपालिकामा एक/एक बलात्कारका घटना रहेका छन् ।
दर्ता भएका मुद्दामध्ये बलात्कार अन्तर्गत धनगढी उपमहानगरपालिकामा आठ, भजनी नगरपालिकामा पाँच, गोदावरी नगरपालिकामा तीन, घोडाघोडी नगरपालिकामा दुई, टीकापुर, लम्की, गौरीगंगा नगरपालिका, चुरे, जानकी गाउँपालिकामा एक/एक मुद्दा रहेका छन भने बलात्कार उद्योग अन्तर्गत धनगढी उपमहानगरपालिकामा चार, लम्की नगरपालिकामा दुई, भजनी, गोदावरी, टीकापुर, गौरीगंगा नगरपालिका, बर्दगोरिया, कैलारी, जानकी गाउँपालिकामा एक/एक मुद्दा रहेका छन् । त्यस्तै, जोशीपुर, मोहन्यालमा कुनै पनि बलात्कारका घटना दर्ता नभएको देखाइएको छ ।

मदिरा प्रमुख कारक
कैलाली खुल्ला सीमा, लागूऔषध तथा मदिरानै बलात्कारको प्रमुख कारण रहेको कैलाली प्रहरी प्रवक्ता वीरबहादुर बुढामगरले बताए । खुल्ला सीमाना भएका कारण अत्याधिक मात्रामा सहज रूपले लागूऔषध आयात, खुले आम मदिरा विक्रीवितरण लगायतले जिल्लामा बलात्कार लगायतका अपराधिक क्रियाकलापहरू बढ्दै गएका छन् प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक बुढामगरले भने ।
उनले जिल्लामा अशिक्षा, गरिबीको संख्या समेत अत्याधिक रहेका कारण पनि बलात्कार लगायत जघन्य अपराधहरू बढेको बताए । आधुनिक संस्कृतिको प्रभाव तथा सञ्चारका माध्यमहरू (टेलिभिजन, मोबाइल, ईन्टरनेट) को दुरुपयोगले पनि महिला हिंसाका अपराधहरूमा दिनानुदिन बढ्दै गएको उनले बताए । उनले कानुनको जानकारीको अभाव, लैङ्गिक प्राथमिकता, सामाजिक मान्यता, आर्थिक परनिर्भरता, शिक्षा र रोजगारीमा महिलाको न्यून पहुँच, नीति, निर्माण, सञ्चार, कानुनी क्षेत्रमा महिलाको न्यून प्रतिनिधित्व लगायतका कारण पनि जिल्लामा महिला हिंसाका घटना बढी रहेको उनले बताए ।
प्रहरीले सञ्चालन गर्दै जनचेतनामूलक कार्यक्रम
कैलाली सहित देशभरी बलात्कारका घटनाहरू बढ्दै गएपछि कैलाली प्रहरीले जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
जिल्लामा बलात्कार लगायत महिला हिंसाका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा चुनौति देखिन लागेपछि सो कार्यक्रम अघि बढाउन लागेको कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।
यस अभियानका लागि कैलाली प्रहरीले तीन महिने कार्य योजना तयारी गर्न लागेको उनले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले २५ गतेभित्र कार्य योजना तयार पारी अभियानलाई तीब्र रूपले अघि बढाउने छ ।
उनले अभियान अन्तर्गत विभिन्न छ वटा क्रियाकलापहरू सञ्चालन गरिने बताए । जसअन्तर्गत स्कूल सम्पर्क, पर्चा पम्पलेट वितरण, गाउँका खुल्ला स्थानमा अन्तरक्रिया, महिनामा मुद्दा चल्ने ईकाइमा कार्यरत प्रहरी कर्मचारीलाई सरकारी वकिलले अनुसन्धान तथा अभियोजन सम्बन्धी अनुशिक्षण गर्ने, फोरेन्सीक ल्याबबाट संकलन, प्याकेजिङ लगायतका बारेमा अनुशिक्षण प्रदान गर्ने लगायत रहेका छन् ।
सो तयारी योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार जिल्लाका सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सो अवसरमा सरोकारवालाहरूले प्रहरीले महिना वा १५ दिनमा नभई प्रत्येक हप्ता गाउँपालिका वा नगरपालिकामा मात्र नभई वडा स्तरबाटै जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने सुझाव दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै कैलाली जिल्ला न्यायधिश प्रशुराम भट्टराईले बलात्कार लगायतका महिला हिंसाका घटनालाई न्यायलयले गम्भीरतापूर्वक लिएको बताए । उनले मेडिकल रिपोर्टमा चुकेकै कारण कहिलेकाहीं पीडितलाई न्याय दिन नसकिने अवस्था रहेको बताए ।
न्यायधिश भट्टराईले बलात्कार लगायत महिला हिंसाका घटना प्राय: आफन्त, छिमेकी, नजिकको साथी लगायतबाटै हुने गरेको बताउँदै ‘अभिभावक र आफन्तहरूले सचेत भएमा केही हदसम्म यस्ता घटना रोक्न सकिन्छ ।’ उनले कहिलेकाहीं रिसईवी साँधी झुटो जाहेरी लिई आउने, ढिलो गरी जाहेरी दर्ता गर्ने, बालश्रमलाई नियन्ण गर्न नसक्नु, जनचेतनाको कमी हुनु लगायतले समाजमा यी घटना भइरहेको बताए ।
कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समाजमा अझै पनि धेरै महिलाहरू न्याय नपाएर बसिरहेको भन्दै जनचेतनामूलक कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले प्रहरीले सञ्चालन गरेको यो अभियानमा नागरिक समाज, राजनीतिक दल, कानुन विज्ञ, सञ्चारकर्मी सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता प्रकाशबहादुर भण्डारीले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा बलात्कारको व्यवस्था भएपनि ढिलो गरी जाहेरी आउनु, प्रमाण जुटाउन नसक्नु लगायतका कारण पीडितले न्याय पाउन नसकेको बताए । उनले बलात्कार घटनामा संलग्न व्यक्तिहरूलाई आजिवन कैद सजाय गर्नुपर्ने पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार