७ कार्तिक २०८१, बुधबार

छोरा मन्त्री भएपछि काठमाडौं जाने धोको…



पुनर्वास (कञ्चनपुर) । ‘छोरा मन्त्री होला र काठमाडौं जाउला भनेको खोई कहिले हुन्छ ?’ कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद तारा लामा तामाङकी ७४ वर्षीय आमा पूर्णजोम तामाङको वर्षौदेखिको धोको सायद अब बल्ल पूरा हुँदैछ ।

पूर्णजोम तामाङ

हरेक आमाले सधैं छोराको प्रगति भएको हेर्न चाहन्छन् । पूर्णजोमले पनि छोरा तारा गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भएको हेरिन् । केही वर्षपछि त्यही छोरा पार्टी (एमाले) को जिल्ला सचिव र अध्यक्ष भए । ‘अहिले प्रदेशको सांसद भएको छ’ उनले भनिन्– ‘अब मन्त्री बन्यो भने औंधी खुशी हुने थिए ।’
पूर्णजोमको परिवार धेरै वर्षपहिले धादिङबाट कञ्चनपुरमा बसाई सरेको हो । धादिङमा बसोबास भएका बेला उनी पनि धेरै पटक काठमाडौं गएकी छन् । ‘धेरै वर्ष वितिसक्यो, अहिले काठामाडौं कस्तो होला ?’ उनले रहर पोखिन् ।
पूर्णजोम आफ्ना श्रीमान मेमबहादुर तामाङसहित २०३६ सालमा धादिङको साविकको झारलाङ गाविस–५ बाट कञ्चनपुरको पुनर्वासमा बसाइ सरेकी हुन् । त्यसपछि उनी २०४३ सालमा अन्तिम पटक काठमाडौं गएको सम्झिन्छिन् । ‘अब त काठमाडौं गज्जबको भइसकेको होला’ उनलाई ३१ वर्षपछि काठमाडौं जाने साइत जुर्छ कि भन्ने आशा जागेको छ ।
यो पंक्तिकार केही दिन पहिले पुनर्वास नगरपालिका वडा नम्बर ३ रामवस्तीस्थित प्रदेश सांसद ताराको घरमा पुग्दा उनले काठमाडौं जाने चाहना व्यक्त गरेकी थिइन् । तर, उनले छोरा (तारा) लाई काठमाडौं जाने कुरा भनेकी रहिनछिन् । सांसद तारा महिनामा तीनचार पटक काठमाडौं आउजाउ गर्छन् । उनले भनिन्– ‘पत्रकारलाई काठमाडौं जाने चाहना व्यक्त गरेको सुनेपछि छोरोले भन्छ, ‘आमा काठमाडौं जानलाई म मन्त्री नै हुनु पर्दैन, मौका मिलेपछि लगिहाल्छु नि ।’
पूर्णजोमको भने आफ्नै खालको चाहना रहेको छ । भन्छिन्– ‘छोरो मन्त्री भएपछि नयाँ काठमाडौं हेर्न जानुको छुट्टै रमाइलो हुन्छ ।’
प्रदेश नम्बर ७ मा माओवादी केन्द्रको नेतृत्वमा एमाले सहितको सरकार गठन हुँदैछ । प्रदेश सांसद लामा भने आफू मन्त्री हुने दौडमा त्यत्ति सारो नलागेको बताउँछन् । भन्छन्– ‘पार्टीले दलको नेता वा मन्त्री जे बनाउँछ, स्वीकार गर्छु ।’

सांसद तारा लामा तामाङ आमासँग

पूर्णजोमले जीवनमा निकै संघर्ष गरेकी छन् । उनले २०४० सालमा ३७ वर्षको युवा उमेरका श्रीमान गुमाइन् । उनलाई त्यतिबेला काठमाडौंमा जग्गा किन्न उपयुक्त लागेन । तराईमा जग्गा किन्ने भनेर जोगाएर ल्याएको रकम र गरगहना २०४३ सालमा भारतको गोण्डामा लुटियो । ‘त्यतिबेला काठमाडौंको गंगबु क्षेत्रमा एक हातको एक हजार रुपैयाँमा जग्गा पाइन्थ्यो’ उनले सम्झिइन् ।
श्रीमान वितेपछि उनको काँधमा दुई छोराछोरीको लालनपालनको अभिभारा आइपर्‍यो । उनीसँग भएको तीन बिघा जग्गाको भरमा उनले एक छोरी र छोरालाई राम्रैसँग हुर्काइन् । शिक्षादिक्षा दिलाइन् । पूर्णजोमको सौताबाट तीन भाइ छोरा छन् । उनीहरू अलग्गै बस्छन् । ‘हामीबीच निकै राम्रो पारिवारिक मेलमिलाप छ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार