२७ माघ २०८१, आईतवार

शिवपुरी महायज्ञको तयारी तीब्र



धनगढी । आगामी बुधबारदेखि धनगढी उपमहानगरपालिका वडा नम्बर ४, शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ धाममा आयोजना हुने श्रीमद् देवी भागवत प्रवचन तथा प्राणप्रतिष्ठा महायज्ञको तयारी तीब्र बनाइएको छ ।
महायज्ञ फागुन १३ गतेसम्म आयोजना हुने जनाइएको छ । शिवपुरी धाममा केही वर्षदेखि महायज्ञ हुँदै आएको छ ।
महायज्ञ मूल समितिका संयोजक श्याम तायलले महायज्ञका सम्पूण तयारी अन्तिम चरणमा पुगेको बताए ।
नेपालको सबैभन्दा अग्लो शिव ज्योतिर्लिङ (एक सय आठ फुट) रहेको शिवपुरी धामलाई धार्मिक पर्यटन स्थल बनाउने लक्ष्यका साथ हरेक वर्ष महायज्ञ आयोजना हुँदै आएको उनले बताए ।
महायज्ञ मञ्च व्यवस्थापन समितिका संयोजक हिक्तम कठायतले मञ्च व्यवस्थापन तथा वैदिक पूजनका लागि आवश्यक सबै तयारी पुरा हुने क्रममा रहेको बताए ।
भोली मंगलबार महाशिवरात्रिका दिन शिवपुरी धामममा शिवरात्रि दर्शन मेला आयोजकले जनाएको छ ।
बुधबार प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्लले भव्य समारोहबीच महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक तायलले बताए ।
शिवपुरी धाम व्यवस्थापन समितिका महासचिव योगेश मल्लले महायज्ञको अवसरमा दुर्गा मन्दिर तथा मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा साथै ब्रह्मनिष्ठ स्वामी लोकानन्द महाराजको स्वामीकुटीको उद्घाटन गरिने जानकारी दिए ।
महायज्ञ अवधिभरी बालव्यास धर्मराज आत्रेयले पुराण प्रवचन गर्नेछन् । महायज्ञ सञ्चालनका लागि मूल समितिका साथै विभिन्न उपसमितिहरू पनि गठन गरिएका छन् ।
महायज्ञको अवधिभरी विवाह, व्रतवन्ध, चौरासी पूजा, गृह शान्ति, कालसर्पयोग निवारणजस्ता वैदिक पूजन गरिने बताइएको छ ।
एक सय आठ फिट अग्लो ज्योतिर्लिङ, एक सय आठ .गौमुखी धारा, नेपालमाताको मन्दिर स्थापनाका साथै वेद विद्याश्रमका लागि आवश्यक वैदिक गुरुकुलको व्यवस्थापन, जडिबुटी उद्यान, सुदूरपश्चिमको कला संस्कृति झल्किने कलात्मक, सुदूरपश्चिम मण्डा निर्माण, योग साधन बहुउद्देश्यीय हल लगायतका पूर्वाधारण निर्माण गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गरिन लागिएको धामका वरिष्ठ उपाध्यक्ष बलदेव भट्टले बताए ।
उनका अनुसार महायज्ञमा जानकी मन्दिर, जनकपुर धामका उत्तराधिकारी महंथ रामरोशन दासको पनि उपस्थिति रहने छ ।
एक सय आठ तीर्थस्थलको जल प्रसादका रुपमा वितरण गरिने तथा हरेक दिन भजन किर्तन लगायतका वैदिक कार्यहरू सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार