‘बाबा म १५ कक्षा पास भए’
(२०४६ सालमा म जन्मे । वास्तविक महिना गते थाह भएन । आमाले साउनमा जन्मेको भनेकाले त्यही महिना र अनुमानित गते राखेर मैले नागरिकता लिइसकेको छु । तत्कालिन जानकीनगर–८, खर्गौली कैलालीमा हाम्रो प्रमाण विनाको जग्गामा घर छ । त्यसलाई सुकुम्वासी टोल भन्थे अहिले प्रगतिनगर ।
सुकुम्वासी टोलमा थरू बालबालिका सानैमा विद्यालय पढाउने चलन थिएन । ठूलो भएपछि स्कुल जाने र सात आठ कक्षा पढेपछि छोड्ने चलन थियो । कृषिमा आश्रित कतिपय अभिभावकको केटाकेटीलाई पढाउनुपर्छ भन्ने सोच नै हुँदैन्थ्यो । म सात वर्षको हुन लाग्दा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मार्फत गाउँका अधिकारकर्मी फिरुलाल चौधरीले बालबिहानी कक्षा ल्याए । फिरुलाल गाउँका राम्रा मान्छे थिए । पढेका हुनाले उनले गर्ने काम देखेर गाउँका सबै दंग हुन्थे । उनै फिरुलाल (जो मेरो नाता पनि पर्छन्) ले बालबिहानी पढ्नुपर्छ, म पढेरै यस्तो काम गर्ने भएको भनेर संझाएपछि मलाई पनि पढने रहर जाग्यो । घरकाले मलाई पढाउन हौसाय कि हौस्याएनन थाहा भएन । मैले क, ख सिके ।
बालबिहानी सकिएपछि गाउँंकै आर्दश मावि खर्गौलीमा दुई कक्षामा भर्ना भए । घरको वातावरण अध्ययन गर्ने खालको थिएन । आफ्नो जग्गा ऐलानीमा घरबास मात्रै । अरूको खेत वटैया, अधिया गर्नुपर्ने । बाह्रै महिना काम हुन्थ्यो र पनि दाइ र म नियमित स्कूल गइरह्यौ । पछि बहिनी पनि ठूली भइ र स्कूल जान थाली । दाइ पढनमा राम्रो थियो म दाइभन्दा कमजोर बहिनी पनि ठिकै थिई । म आठ कक्षामा पुग्दा आमा बितिन् । आमा बितेपछि घर चौपट । बाहिर सबै मिलेर काम गरे पनि घरधन्दामा समस्या थियो । बहिनी सानै थिई । काम गर्ने हुनाले खानेकुरा उत्पादन भएपनि पैसा हुँदैन्थ्यो । त्यसले गर्दा एकै घरका ३ जनालाई पढाइलेखाइ खर्च पुग्दैन्थ्यो ।
हामी सबैजनालाई नियमित कुल जान कठिन थियो । खर्चको सबै बोझ बाबामाथि थियो । म बाबाको त्यो बोझ घटाउन पढाइ छोडेर भारत जानुपर्ने अवस्थामा पुगे र साथीहरूसँगै कमाउन भारतको सिमला गए । डेढ वर्ष भारतको हिमाञ्चल प्रदेशको सिमलामा बस्दा चिसोमा स्याउ टिप्ने, मुडा बोक्ने काम गरियो सकि नसकी कमजोर खुट्टाको परवाह नगरी । बोक्ने देखि सडक निर्माणमा कुल्ली र मिस्त्रीको काम पनि गरियो जानी नजानी । तर, सबै ओहो राम्रो गर्छ भनेपछि झन बढी काम गर्ने जागर लाग्थ्यो । सिमलाबाट कमाएर ल्याएको पैसा यहाँ धेरै दिन टिकेन र फेरि भारत जाने तयारीमा थिए । यतिबेला (२०६४) टीकापुरमा सामुदायिक रेडियो टीकापुर एफएम प्रसारणको तयारीमा थियो । सामुदायिक रेडियोमा कार्यालय सहयोगी चाहिएको छ मेरा आफन्त फिरुलाल चौधरीले मलाई एफएममा काम भएको जानकारी दिए । न धेरै पढेको, एफएमबारे केही थाह नपाएको म अलमलमा परे । गर्छु भनु जानेको छैन । गर्दिन भनु आफ्नै ठाउँमा जागिर पाइएको छ । फिरुलाल सरले मलाई भारत जानुभन्दा यही काम गर्दा राम्रो हुन्छ भनेर टीकापुरमा बन्न लागेको रेडियोसम्म पुगाए । रेडियो त के के न होला भनेको बन्दै गरेको अवस्थामा थियो । आफूले कसैलाई नचिनेको दिनमै कति कति मानिस आउने । आज एउटालाई चिन्यो । उही खाश मानिस होला सोच्यो । भोलि अर्को आउने । भोलि चिनेको भन्दा पर्सी अर्को आउने । एक हप्ता जति यस्तै चल्यो । जसले जे जे भन्यो म फटाफट गरिरहे । अब त सबै चिनिसके भन्ने सोचेको स्टेशन मेनेजर त भोलि मात्रै आउने कुरा सुने । अझ अर्को कौतुहल भयो । स्टेशन मेनेजर पनि आए उनीसँगै सिक्दै गर्दै काममा अभ्यस्त भए ।
‘पढ्न छोडेको चार वर्षपछि फेरि पढ्न थाले । रेडियोमै बसेर आफैले पढ्न कठिन थियो । तर पनि मैले हार मानिन् । मलाई रेडियोका अन्य साथी जस्तै बन्न रहर थियो ।’ |
सहयोगीको काम थालेको मैले अरूले समाचार पढेको, कार्यक्रम चलाएको, कम्प्युटर चलाएको देखेपछि पढ्ने सोंच बनाए । ममा चाहाना भइरहेको थियो । रेडियोका प्रवन्धक, मेनेजर, पदाधिकारीले पनि यत्ति पढेर हुँदैन, पढ्नुपर्छ भनेपछि म कक्षा ९ मा भर्ना भए । रेडियोको आवासीय डिउटीसँगै मैले थालेको पढाई विभिन्न तनाव, मजबुरी, कामको भारसँगै यहाँ पुगेको छ ।
एफएममा १० वर्ष हुनै लाग्दा धेरै मानिस चिने पनि अझै हरेक दिन नयाँ नयाँ मानिस चिन्नु परेको छ । यस अवधिमा घरदेखि एफएमसम्म शिक्षा, राजनीति, व्यापार, पत्रकारिता काम धेरै सिके तर हरेक दिन सिक्नु परिरहेको छ ।
दश वर्षअघि सहयोगीको रूपमा सामुदायिक रेडियो टीकापुर एफएममा प्रवेश गरेका जनाकीगर खर्गौलीका रतनलाल चौधरी अहिले एफएमको प्रशासन सहायक छन् । पदले प्रशासन सहायक भएपनि एफएमको भइपरि जिम्मा उनकै छ । आवासीय भएकाले प्रशासनिक कामका अलावा थारू भाषामा समाचार वाचन र प्राविधिकको काम पनि गर्छन् । टीकापुर बहुमुखी क्याम्पसबाट समाजशास्त्र, ग्रामीण विकास विषय लिई स्नातक उत्तीर्ण गरेपछि उनले आफ्नो विगत कोटट्याउँदै यसो भनेका हुन् ।)
उनलाई अध्ययनमा रेडियोका स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिनाले धेरै सघाए । उनी सम्झन्छन् ‘स्टेशन मेनेजर तिमिल्सिना, पूर्व प्रवन्धक भुवनेश्वर अधिकारीले धेरै सघाए । उनीहरूले रेडियोको काम व्यवस्थापन, पढ्ने वातावरण, आवश्यक खर्च लगायतमा सघाएकै कारण आज म पढ्न सफल भए ।’ शुरुका प्रवन्धक गणेश चौधरीले पनि हौस्याए । रतनले भने, ‘पढ्न छोडेको चार वर्षपछि फेरि पढ्न थाले । रेडियोमै बसेर आफैले पढ्न कठिन थियो । तर पनि मैले हार मानिन् । मलाई रेडियोका अन्य साथी जस्तै बन्न रहर थियो ।’
‘रतन हरेक कक्षा पास भएको दिन एफएम एक पनि पास भएर माथि उक्ले जस्तो लाग्यो । हरेक तह उत्तीर्ण गरेको पहिलो खुशी मैसँग बाड्थे होला । रतनले स्नातक पूरा गरेको दिन मैले नै कुनै कक्षा उत्तीर्ण गरेको भन्दा कम खुशी छैन’ स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिनाले भने ।
रतनले आफूमात्र होइन परिवारलाई पनि सघाउनु परिरहेको छ । घरमा नगद आय आर्जन नहुँदा सघाउनै पर्छ । उनले आफू सँगसँगै परिवारका अरू सदस्यलाई पनि पढाइमा सघाएका छन् । उनकै सहयोगमा १२ कक्षा पढेकी बहिनी अहिले नेपाल प्रहरीको जवान छिन् । बहिनी जागिरेभएपछि आर्थिक भार घटेको बताउने रतन बहिनीले दिएको सानो उपहारले पनि अत्याधिक खुशी हुन्छन् ।
विगत दश वर्षदेखि बिहान ५ बजे रेडियो खुलेदेखि राति १० बजे रेडियो बन्द गरेपछि मात्रै रतनको काम सकिन्छ । त्यही समयको बीचमा उनले अध्ययनलाई निरन्तरता दिएका हुन् । एफएमको महत्त्वपूर्ण जिम्मेवारी पनि पूरा गरिरहेका छन् । रेडियोका प्रवन्धक मातृका तिमिल्सिेनाले रतन रेडियोका खम्बाका रूपमा रहेको बताए । उनले भने, ‘रतन इमान्दार र कर्तव्यनिष्ट भएकै कारण सफल भएका हुन् । उनी अन्य मानिसका लागि प्रेरणा पनि हुन् । उनको प्रगतिका पछाडि ठूलो संघर्ष छ ।’
काम गरेर पैसा कमाउँछु भनी टीकापुर बसेको छोराले पैसा धेरै कमाएको छैन । बाबाले आइए, बीए के हो थाहा पाउँदैनन् । रतन भन्छन्, ‘बाबा म १५ कक्षा पास भए भन्न पाउँदा मलाई धेरै खुशी लागेको छ मेरो बाबालाई म भन्दा धेरै खुशी लागेको छ ।’ उनका बुबा खुशीराम चौधरी गाउँमै बस्छन् ।
रतन भन्छन्, ‘आफ्ना कति कुरा भन्न मिल्छ मिल्दैन, मैले आफैलाई फर्केर हेर्दा धेरै मिहिनेत गरेजस्तो लाग्छ । सबैले भन्छन् । तर अहिले पढेलेखेका धेरै छन् । प्रतिस्पर्धाको जमाना छ । आफैलाई लाग्छ यतिले त चल्दैन अझै पढ्नुपर्छ । केही गर्नुपर्छ । हेरौ मलाई यसअघि झैं साथ सहयोग मिल्छ मिल्दैन ?’