२९ बैशाख २०८१, शनिबार

राष्ट्रिय मेलमिलाप दिवस : ‘मेलमिलाप दिवसको औचित्य कहिल्यै कम हुँदैन’



अत्तरिया । ४२ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आइतबार कैलालीको अत्तरियामा बृहत कार्यक्रम भएको छ ।
भारत निर्वासनमा रहेका नेपाली काँग्रेसका शिखर नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह सहितका नेताहरू राष्ट्रिय मेलमिलापको नीतिसहित २०३३ साल पुस १६ गते स्वदेश फर्किएको दिनलाई नेपाली काँग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को आयोजनामा भएको कार्यक्रमको काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले उद्घाटन गरेका थिए ।
सो अवसरमा नेता भण्डारीले नेपालमा मेलमिलाप दिवसको औचित्य कहिल्यै कमजोर नहुने चर्चा गरे ।
नेता भण्डारीले नेपालको राजनीतिक संघर्षको इतिहासमा विपि कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको विशेष महत्त्व र स्थान रहेको बताए ।
कार्यक्रममा वक्ताहरूले अहिले पनि दीगो शान्ति, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा तीब्र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीच एकता र मेलमिलाप अनिवार्य रहेको चर्चा गरे ।
कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेशराज जोशीको अध्यक्षतामा भएको थियो ।
क्षेत्रीय उपसभापति खेम साउदले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डम्मर पालीले गरेका थिए ।
आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका कांग्रेस नेताहरू राष्ट्रिय एकता र मेलमिलापको नारासहित स्वदेश फर्किएका थिए ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्ष जेल चलान गरिएको थियो ।
जेलबाट छुटेपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । राष्ट्रियताको रक्षाका लागि राजा र जनता (काँग्रेस) बीच मेलमिलाप हुनुपर्ने नीति सहित विपी कोइराला स्वदेश फर्किएपछि नेपालको राजनीतिमा व्यापक उथलपुथल भएको थियो ।
त्यसपछि २०३५ सालमा विद्यार्थी आन्दोलन हुनुका साथै २०३६ सालमा जनमत संग्रह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार