२१ आश्विन २०७९, शुक्रबार

आफन्तबाटै असुरक्षित हुने गरेको पीडा



धनगढी । महिलाहरू प्राय: आफन्तबाटै असुरक्षित हुने गरेको सरोकारवालाहरूले बताएका छन् । आफन्त तथा छिमेकीहरू नै बढीजसो महिला हिंसा तथा बलात्कारका घटनामा संलग्न हुने गरेको उनीहरूको अनुभव रहेको छ ।
दलित महिलाअधिकार मञ्च कैलालीले सोमबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा कैलालीका जिल्ला न्यायधीश परशुराम भट्टराईले पछिल्लो अदालतमा आएका बलात्कारका अधिकांस मुद्दा आफन्त वा छिमेकीबाटै भएका पाइएको बताए । ‘सहमतिमा यौन सम्पर्क गर्ने, तर पछि कुरा नमिल्दा बलात्कार भन्दै मुद्दा दर्ता गरेका पनि थुप्रै घटना छन्’ उनले भने– ‘यस्ता मुद्दामा पीडित होस्टाइल हुने र पीडक मुक्त हुने अवस्था पनि आउने गरेको छ ।’
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सामाजिक मुल्यमान्यताका कारण पनि बलात्कारका अधिकांस घटना अदालतसम्म पुग्न नसकेको बताए । ‘बलात्कारमा परेका महिलाप्रति समाजले नकारात्मक दृष्टिकोणले हेर्ने डरका कारण पनि कतिपय पीडितले घटना लुकाएर राखेको पनि पाइन्छ’ प्रजिअ रिजालले भने– ‘राज्यले पनि बलात्कारका पीडितको जीवन निर्वाहका लागि उचित प्रबन्ध गर्न सकेको छैन ।’
कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले अझै पनि ५० प्रतिशतभन्दा बढी बलात्कारका घटना प्रहरी तथा अदालतसम्म पुग्न नसकेको बताए । उनले पीडितले ढिलोगरी उजुरी दिनु र अनुसन्धानमा प्रमाण जुटाउन कठिन हुनुले पनि पीीडतले न्याय पाउन गाह्रो हुने गरेको बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता राजेन्द्रबहादुर साउँदले कार्यपत्र प्रस्तुत गर्दै कार्यस्थलमा हुने यौन दुव्र्यहारका मुद्दा अदालत तथा प्रशासनमा दर्ता नभएको पाइएको बताए ।
कार्यपत्र अनुसार आर्थिक वर्ष २०७३/७४ मा जवरजस्ती करणीका २७ वटा मुद्दा परेकोमा १५ वटा मुद्दा फैसला भई १२ वटा चालु अवस्थामा रहेका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा १८ वटा मुद्दा दर्ता भएर सरेर आएका र नयाँ दर्ता भएका मुद्दाको संख्या ३० रहेका छन् ।
त्यस्तै जवरजस्ती करणी उद्योग मुद्दाको संख्या आर्थिक वर्ष २०७३/७४ मा १२ वटा दर्ता भई सात वटा फैसला हुँदा पाँच वटा चालु अवस्थामा रहेको र आर्थिक वर्ष २०७४/७५ मा चार वटा मुद्दा दर्ता भई नौ वटा पुगेको बताए । यस्तै आर्थिक वर्ष २०७३/७४ मा दुई वटा अप्राकृतिक मैथुनमा दुई वटा मुद्धा दर्ता भएकोमा फैसला हुन नसकेको बताए ।
दलित महिला अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमबारे ओरेक नेपालकी सरिता चौधरीले जानकारी गराएकी थिइन् भने कार्यक्रमको सञ्चालन निर्मला विसीले गरेकी थिइन् ।

मंसिर २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्