१२ श्रावण २०८१, शनिबार

यस्तो हुनेछ मतपत्रको ढाँचा



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको मतपत्र बेग्ला बेग्लै पानामा छपाउने निर्णय गरिसकेको जानकारीसहितको जवाफ सोमबार सर्वोच्च अदालतमा पठाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा अदालतको आदेशमा भएको भावना र मर्मसमेतलाई सम्मान गर्दै आयोगबाट निर्णय भएकोमा अदालतको अवहलेना गरेको मुद्दा खारेजीको जिकिर गरेका छन् ।
आयोगले आइतबार सर्वोच्चको आदेश बमोजिम दुवैसभाको प्रत्यक्षतर्फको मतपत्र अलग अलग पानामा छाप्ने निर्णय गरेको थियो । लिखित जवाफसँगै उक्त निर्णयको प्रतिलिपी तथा मतपत्रको ढाँचासमेत सर्वोच्चमा पेस गरिएको छ ।
सर्वोच्चका सहरजिष्टार नारायणप्रसाद पन्थीले प्रमुख आयुक्त यादवले पेस गरेको जवाफबाट सर्वोच्च अदालतको आदेशको कार्यान्वयन भएको देखिएको बताए । उनले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री तथा आयोगका प्रमुखसहित पाँचै जना आयुक्तहरुलाई विपक्षी बनाइएकोमा आयोगका पदाधिकारीहरुबाट जवाफ आइसकेको जानकारी दिए ।
‘निर्धारित समयभित्रै आयोगका पदाधिकारीबाट लिखित जवाफ आएको छ,’ उनले भने ‘प्रधानमन्त्रीबाट कात्तिक १५ गतेभित्र जवाफ आइसक्ने अपेक्षा छ । त्यसपछि मात्रै मुद्दाको अन्तिम सुनुवाई हुनेछ ।’
आयोगले यसअघि एउटै पानामा माथि मतपत्र १ प्रतिनिधिसभा र तल मतपत्र २ प्रदेशसभाको मतपत्र छाप्ने निर्णय गरेको थियो । समानुपातिक तर्फको मतपत्र त्यही अनुसार छापिसकिएको छ । दुईटै सभाको मतपत्र अलग अलग पानामा छाप्नुपर्ने मागसहित राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले समानुपातिकतर्फको मतपत्र छापिसकेकाले त्यसलाई नरोक्ने तर प्रत्यक्षतर्फको मतपत्र छाप्न बाँकी रहेकाले अलग अलग पानामा छाप्नुपर्ने आसयको आदेश दिएको थियो ।
सोही आदेशअनुसार आयोगले अलगअलग पानामा तेस्रो लहरमा चार र ठाडो लहरमा पाँचवटा बक्समा गरी कुल २० वटा निर्वाचन चिन्ह रहने गरी मतपत्रको डिजाइन गरेको छ । पहिलो चरणमा मंसिर १० हुन लागेको ३२ जिल्लाका प्रतिनिधिसभाको ३७ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि २ देखि बढीमा १७ जनासम्म उम्मेदवार छन् । अधिकांश क्षेत्रमा १० जना भित्रै उम्मेदवार छन् । उम्मेदवार कम भएकाले मतपत्रको आकार ए फोर पानाभन्दा सानो हुनेछ । दोस्रो चरणमा कात्तिक १६ गते उम्मेदवारी परेपछि उम्मेदवारको संख्या अनुसार मतपत्रको आकार हेरेफेर हुनसक्ने छ ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार