१० श्रावण २०८१, बिहीबार

गौरा पर्व : जहातहीँ गौराको रौनक



धनगढी । सुदूरपश्चिमको मौलिक धार्मिक, सांस्कृतिक पर्व गौराका क्रममा सोमबार विधिवत रूपमा गौरादेवी भित्र्याइएको छ । गौरादेवी भित्राएसंगै कैलाली लगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा सुदूरपश्चिमबासीको बसोबास रहेका काठमाडौं लगायतका ठाउँमा गौरा पर्वको रौनक बढेको छ ।
गौरा पर्वका अवसरमा कैलालीका धनगढी उपमहानगरपालिका तथा अत्तरिया, गौरीगंगा, घोडाघोडी नगरपालिका लगायतका स्थानमा गौरा नृत्य तथा देउडा प्रतियोगिता सहितका सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।
धनगढीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कैलाली र युवा विकास केन्द्रको संयुक्त आयोजनामा भदौ १४, १५, र १६ गते गौरा महोत्सव आयोजना हुन लागेको प्रतिष्ठानका प्रदेश नम्बर ७ का संयोजक सुरत रावत डोटेली कान्छाले जानकारी दिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा आज (मंगलबार) गौरापर्वका अवसरमा खुला देउडा प्रतियोगिता हुने जनाइएको छ ।
सुदूरपश्चिम सांस्कृतिक संरक्षण मञ्चको आयोजनामा कैलालीको गौरीगंगा नगरपालिकाको साझाबजारमा आज (मंगलबार) देखि गौरापर्व आयोजना गरिएको मञ्चका अध्यक्ष रामबहादुर कलेलले बताए ।
त्यस्तै, पद्मा गु्रपको माउन्टेन टेलिभिजन, भक्तिदर्शन टेलिभिजन र बिजनेश प्लस टेलिभिजनको सुदूरपश्चिम क्षेत्रीय प्रसारण केन्द्र र कञ्चनपुर जिल्ला सम्पर्क कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि देउडा प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता भोलि (बुधबार) सम्म सञ्चालन हुने जनाइएको छ ।
यता, धनगढीको वनदेवी मन्दिर, नैनादेवी मन्दिर, रामजानकी मन्दिर लगायतका स्थानमा धुमधामसंग देउडा खेल्न शुरु भएको छ ।
गौरापर्वका अवसरमा सुदूरपश्चिमको मौलिक देउडा, चैत, धमारी नाच प्रस्तुत हुने गरेको छ ।
विवाहित महिलाले निराहर बसी भगवान् शिव र पार्वतीको गौरा घर र मन्दिरमा गई पूजाआजा गर्ने गर्दछन् । यो पर्वका बेला गरिने शिव र पार्वतीको पूजामा अक्षताका रूपमा प्रयोग हुने विरुडा अर्थात् भिजाएर राखिएको पाँच थरिका गेडागुडीको ठूलो महत्त्व रहने गरेको छ ।
पूजामा अक्षताका रूपमा प्रयोग हुने र पूजाको काम सकिएपछि प्रसादका रूपमा ग्रहण गर्ने हुँदा विरुडाको महत्त्व विशेष रहने गर्छ । विरुडा ग्रहण गर्दा पेटको रोग निर्मुल हुने जनविश्वास समेत रहेको छ ।

भदाै १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार