११ श्रावण २०८१, शुक्रबार

के पढ्न कति जीपीए चाहिने ?



काठमाडौं । रुकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे । उनले २.८ जीपीए ल्याएका रहेछन् । अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै । ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य भनेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, ‘कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हुनुपर्ने भन्नेबारे शिक्षा मन्त्रालयले आधार सार्वजनिक नगर्दा विद्यार्थी मात्रै होइन, हामी पनि अन्योलमै छौं ।’

  • विज्ञान समूह अध्ययन गर्न २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने ।
  • व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने ।
  • मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक ।
  • प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस ।
  • इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने ।
  • कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने ।

जीपीएका आधारमा विज्ञान पढ्न २.० जीपीए ल्याए हुन्छ, तर विषयगत आधारमा नेपालीमा डी प्लस ल्याउनै पर्छ । उनको नेपालीमा डी प्लस नहुँदा विज्ञान पढ्न योग्य भएनन् । यदि ग्रेड वृद्धि परीक्षामा उनले नेपालीमा डी प्लस ल्याए भने मात्रै विज्ञान पढ्न पाउने छन् ।
कोटेश्वरको हिमालय कलेजका प्रिन्सिपल रामहरि सिलवालले विद्यार्थी भर्नाका लागि आए पनि कुन विषयमा कति ग्रेड र जीपीए आएकालाई भर्ना लिने भन्ने अन्योल रहेको बताए । ३.५ जीपीएभन्दा बढी ल्याउने विद्यार्थीले विज्ञान संकाय अध्ययन गर्न पाउने भन्दै विद्यालय छनोट गर्न हतारिए पनि कम जीपीए ल्याउने विद्यार्थी अन्योलमा रहेको उनले बताए । गत वर्ष कक्षा ११ को भर्ना आधार तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले बनाएको थियो । परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रूपान्तरण भएपछि उसको अधिकार खुम्चिएर परीक्षा लिने मात्रै भएको छ ।
परिषद्ले गरेको कामको जिम्मेवारी शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रमा सरेको छ । दुवै निकायले यसपालि एसईई दिएका नियमित र आंशिकतर्फका पौने पाँच लाख विद्यार्थी, अभिभावक, कलेज सञ्चालक, शिक्षक र अन्य सरोकारवालालाई कति जीपीए र कुन ग्रेड आउने विद्यार्थीले के अध्ययन गर्न पाउँछन् भन्ने स्पष्ट पार्न सकेका छैनन् ।

एसईई नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।

गत वर्ष मन्त्रालयले भर्ना आधार पटक–पटक परिवर्तन गरेपछि यसपालि अन्योल भएको हो । शैक्षिक सत्र सुरु भएको तीन महिनापछिसम्म भर्नाको आधार परिवर्तन गरिएको थियो । त्यसैले कुन विषय अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हुनुपर्ने हो, एकीकृत अद्यावधिक विवरण सार्वजनिक भएको छैन । ‘सरकारी निकायले कुन विषय पढ्नलाई कति जीपीए र विषयगत ग्रेड कति हुनुपर्छ भन्ने यस वर्ष यकिन जानकारी दिएकै छैन,’ एभरेस्ट कलेजका कार्यकारी प्रमुख विष्णुहरि पाण्डेले भने, ‘हामीले आन्तरिक मापदण्ड बनाएका छौं, त्यसै आधारमा विद्यार्थीलाई बुझाउने गरेका छौं ।’
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले गत वर्ष लागू भएको भर्नाको आधार तत्काल सार्वजनिक गरेर अन्योल हटाइने जानकारी दिए ।
२ जीपीए ल्याउने विज्ञान, १.६ ल्याउने मानविकी, शिक्षा र व्यवस्थापन गत वर्षको निर्णयअनुसार १.६ जीपीएसम्म ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन् । तर निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ । विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ । नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । त्यस्तै व्यवस्थापन समूहका विषय अध्ययन गर्न १.६ जीपीए र विषय ग्रेडमा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
मानविकी समूह अध्ययन गर्न पनि १.६ जीपीए अनिवार्य छ । तीन सय पूर्णांकको विषय छनोट गर्दा एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस आएको हुनुपर्छ । जस्तै– अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १.६ ल्याउनुपर्ने हुन्छ । त्यस्तै अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस मात्रै ल्याउनुपर्ने हुन्छ । विज्ञान र गणितमा ई ल्याए पनि अध्ययन गर्न पाइन्छ । शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना हुन पाउँछन् । साधारणतर्फको विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूह अध्ययन गर्न सामाजिकमा डी प्लस ल्याएको हुनुपर्छ । प्राविधिकतर्फका विद्यार्थीले १० कक्षामा सामाजिक विषय पढेका हुँदैनन् । त्यस्तै संस्कृतबाट एसएलसी दिएका विद्यार्थीले अन्य विषय अध्ययन गर्न चाहेमा कक्षा १० का विषयसँग मिल्दोजुल्दो विषयमा कक्षा ११ मा पढ्न सक्ने व्यवस्था छ ।
प्राविधिक धार अध्ययन गर्न गणित, विज्ञान र अंग्रेजीमा सी ग्रेड ल्याउनुपर्नेछ । सीटीईभीटीले सम्बन्धन दिएका शैक्षिक संस्थामा स्वास्थ्यतर्फका विषय अध्ययन गर्न २.० जीपीए र अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने हुन्छ । इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस आएको हुनुपर्छ । कृषितर्फका कार्यक्रम अध्ययन गर्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याएका विद्यार्थीले समेत डिप्लोमा अध्ययन गर्न पाउनेछन् ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार