११ श्रावण २०८१, शुक्रबार

प्रभावकारी बन्दै शैक्षिक सामग्री प्रदर्शनसहितको अध्यापन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५, उर्मीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको एक कक्षाकोठा । शिक्षकहरू शैक्षिक सामग्रीको प्रयोग गरेर विद्यार्थीलाई पढाउने अभ्यास गरिरहेका छन् । विद्यार्थीहरू ध्यानपूर्वक शिक्षकले पढाएको सुनिरहेका छन् । कक्षाकोठाको वातावरण बालमैत्री देखिन्छ । शिक्षकका अगाडि प्राय: विद्यार्थी संकोच मानेर बस्ने विगतको अवस्थाभन्दा कक्षाकोठाको वातावरण भिन्न देखिन्छ । ‘बालमैत्री शिक्षाअन्तर्गत शैक्षिक सामग्रीको प्रदर्शनसहित पठनपाठन गर्ने विधि लागू भएपछि बालबालिकामा पढाईमा रुची बढेको छ’ शिक्षकहरूको अनुभव छ ।
कुनै समय शिक्षकले हातमा लठ्ठी समातेर कक्षाकोठामा जाने गर्दथे । विद्यार्थीमा डर सिर्जना गरेमात्र पढाईमा मन लगाउने तथा अनुशासनमा बस्छन् भन्ने मानसिकता हुने गर्दथ्यो । तर, अहिले स्थिति बदलिएको छ । बालमैत्री शिक्षाको मर्म छ– ‘अभिभावकत्व शैलीमा अध्यापन गराइएमा विद्यार्थीको सिकाई उपलब्धीमा सुधार गर्न सकिन्छ ।’
सो माविका प्रधानाध्यापक अम्मरसिंह तारामीमगरको अनुभव छ– कक्षाकोठामा शैक्षिक सामग्री प्रदर्शन गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाई उपलब्धिमा सुधार भएको छ । विद्यार्थीहरूले कक्षाकोठामा शिक्षकले पढाएको नबुझेमा अथवा बिर्सिएमा भित्तामा झुण्ड्याइएको शैक्षिक सामग्री हेरेर सम्झने र बुझ्ने अवसर पाउने उनको अनभुव छ । भन्छन्– शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउने विधि प्रभावकारी बनेको छ ।
कैलालीका ३० वटा विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनीसहितको पढाई विधि लागू गरिएको छ । फाया नेपालले प्रगतिशील स्थानीय स्रोत परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनामार्फत ती विद्यालयमा सो पढाई विधि सञ्चालन गरेको छ ।
कक्षाकोठाका भित्ता, झ्यालदेखि बीच भागमा डोरी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्यांक, वाक्य लेखेर झुन्ड्याइन्छ । शिक्षकले कक्षाकोठामा पाठको सन्दर्भ अनुसारका सहयोगी शैक्षिक सामग्री तयार पार्ने गर्दछन् । भाषिक सीप विकास, ज्ञान र पढाइप्रति रुचि बढाउन शैक्षिक सामग्री उपयोगी भएको प्रधानाध्यापक तारामीमगरले बताए ।
शैक्षिक सामग्री प्रदर्शनी सहितको पढाई विधि लागू गरिएपछि विद्यालयमा सिकाई उपलब्धीमा निकै सुधार आएको छ । फाया नेपालका धनपती ढुंगेलले भने– एक वर्षअघि ४० देखि ४५ प्रतिशत सिकाई उपलब्धी रहेका विद्यालयमा यो विधिअनुसारको पढाई शुरु भए पछि ४५ देखि ५६ प्रतिशत पुगेको छ । उनका अनुसार विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न एक वर्षअघिदेखि सो परियोजना लागू भएको छ ।
सो परियोजनाअन्तर्गत विद्यालयमा शैक्षिक सामग्री वितरण, शिक्षकको क्षमता अभिवृद्धि र बालमैत्री वातावरणको प्रवद्र्धनमा सहयोग पुगिरहेको उनको अनुभव छ ।
शिक्षकहरू पनि परम्परागत शिक्षण विधिको तुलनामा शैक्षिक सामग्रीको प्रदर्शनी विधि सिकाई उपलब्धि सुधारका लागि प्रभावकारी देखिएको बताउँछन् । सर्वोदय माविका शिक्षिका देवी थापाले भनिन्– यो शैक्षिक विधिले शिक्षकलाई विद्यार्थीको मनोविज्ञान बुझ्न सजिलो भएको छ । उनले विद्यार्थीहरूलाई अभिभावक झैं अध्यापन गराउँदा विद्यार्थीमा पढाईमा रुची बढेको बताइन् ।
कैलारी गाउँपालिकाको जनसेवा प्राथमिक विद्यालयका शिक्षक बुद्धराम चौधरीले यो विधिबाट विद्यार्थीहरूलाई अध्यापन गराउँदा विद्यार्थीहरूले कक्षामा अनुपस्थित हुन छोडेको बताए । ‘एक वर्षअघि दैनिक दुई/चार विद्यार्थी अनुपस्थित हुन्थे, तर अहिले सबैले नियमित कक्षामा उपस्थित हुने गरेका छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार