५ जेष्ठ २०८१, शनिबार

खानेपानी सुधार आयोजना सञ्चालन



धनगढी । कैलालीसहित तराईका २० जिल्लामा ‘तराई मधेश खानेपानी सुधार आयोजना’ सञ्चालन भएको छ । सरकारले आर्थिक वर्ष २०७३/०७४ देखि यो आयोजना लागू गरेको थियो । तराईबासीलाई शुद्ध खानेपानी पुर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम लागू भएको जनाइएको छ ।
तराईका अधिकांश वस्तीमा हेन्डपम्पको पानी प्रयोग हुने गरेको छ । हेन्डपम्पको पानीमा आर्सेनिकको मात्रा बढि हुने गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख नारायणप्रसाद काफ्लेका अनुसार बढी मात्रामा आर्सनिक भएको पानी पिउनयोग्य नहुने र मानवस्वास्थ्यमा असर पुर्‍याउने भएकोले कैलाली लगायत २० जिल्लामा यो कार्यक्रम लागू भएको छ ।
यो कार्यक्रम कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा लागू भएको छ ।
कैलालीमा पहिलो चरणमा जिल्लाभित्रका पाँच स्थानमा यो कार्यक्रम लागू गरिएको डिभिजन प्रमुख काफ्लेले बताए । जिल्लाको मसुरियाको अन्डैया, प्रतापपुर, लम्कीको बागमारा, धनगढी उपमहानगरपालिकाको बेली र बनवेहडामा कार्यक्रम लागू भएको छ ।
डिभिजन प्रमुख काफ्लेले आयोजना सञ्चालनका लागि टेण्डर भइसकेको र अन्डैया तथा बनबेहडामा डिप बोरिङ जडान कार्य अघि बढाइएको बताए ।
उनले अन्य तीन स्थानको काम पनि केही दिनमै अघि बढ्ने बताए । कार्यक्रमअन्तर्गत बिजुली नपुगेको ठाउँमा सोलारमार्फत पानी तान्ने व्यवस्था गरिएको छ ।
डिप बोरिङ गर्दा समुदायलाई लक्षित गर्ने र त्यहाँबाट आएको पानीलाई ओभरहेड ट्यांकीमा जम्मा गरेर धारामार्फत सबै समुदायको घरमा वितरण गरिने छ । डिभिजन प्रमुख काफ्लेले कैलालीमा आयोजना सञ्चालन हुने पाँच स्थानका लागि आर्थिक वर्ष २०७३/७४ मा एक करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आयोजनाबाट एक स्थानमा तीन सयदेखि चार सय घरधुरी लाभान्वित हुने छन् । कैलालीमा यो आयोजनाको कुल बजेट आठ करोड ७० लाख ६६ हजार रुपैयाँ रहेको डिभिजन कार्यालयले जनाएको छ ।
जमिनभित्रको पहिलो सतहको पानीमा गरुंगो धातु (आर्सेनिक) र दिसाजन्य वस्तु मिसिने भएकाले त्यस्ता पदार्थबाट क्यान्सरजस्ता प्राणघातक रोग समेत लाग्ने खतरा रहन्छ । त्यसैले जमिनभित्रको दोस्रो र तेस्रो तहमा रहने शुद्ध खानेपानी उपभोक्तालाई पुर्‍याउने कार्यक्रमको लक्ष्य रहेको छ ।
सरकारले दुई वर्षभित्र सबै घरमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने उद्देश्यका साथ कैलालीमा पनि यो कार्यक्रम लागू गरेको छ ।
कैलालीमा हाल २५ प्रतिशत जनसंख्याको मात्र शुद्ध खानेपानीको पहुँचमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्यांकमा उल्लेख छ । डिभिजन कार्यालयले कैलालीमा दुई वर्षभित्र शतप्रतिशत जनसंख्यमा सुद्ध खानेपानीको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । डिभिजन प्रमुख काफ्लेले कैलालीमा हाल ७३ वटा खानेपानी आयोजना सञ्चालनमा रहेको बताए ।
गर्मीको समयमा तराईमा पानीको सतह घट्ने र पहाडी क्षेत्रमा सुख्खा हुने भएकाले स्थानीयले गर्मी समयमा खानेपानीको बढी समस्या भोग्नु पर्ने हुन्छ ।
नेपालको संविधानले शुद्ध खानेपानीको अधिकारलाई समेत मौलिक अधिकारका रुपमा व्यवस्था गरेपछि सरकारले दुई वर्षभित्र ‘एक घर : एक धारा’ बनाउने लक्ष्यसहित काम गरिरहेको काफ्लेले बताए । कैलाली जिल्लाको पहाडी क्षेत्रमा पानीको स्रोत कम भएकाले अहिले खानेपानी तथा डिभिजन कार्यालयले सर्भेको कामलाई अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार