१२ श्रावण २०८१, शनिबार

ललितपुर महानगर मेयरमा कांग्रेसका चिरीबाबु महर्जन विजयी



काठमाडौं । ललितपुर महानगरपालिकामा अत्यन्तै झिनो मतअन्तरका साथ अग्रता लिइरहेका नेपाली कांग्रेसका चिरीबाबु महर्जन अन्ततः ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्।
मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत पाएको ललितपुरका कांग्रेस सांसद चन्द्र महर्जनले जानकारी दिए। उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४३०१ मत परेको छ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्।
पहिलो चरणमा निर्वाचन भएका चार महानगरमध्ये प्रतिस्पर्धाका हिसाबले ललितपुर रोमाञ्चक रह्यो।
काठमाडौं, पोखरा र भरतपुर महानगरमा पहिलो र दोस्रो प्रतिस्पर्धीबीच फराकिलो मतअन्तर रहँदै आएकोमा ललितपुरमा भने दुवै उम्मेदवारबीच यस्तरी ‘नेक टु नेक’ प्रतिस्पर्धा भयो, जुनसुकै बेला पासा पल्टिन सक्थ्यो।
त्यसमाथि झिनो अन्तरले भए पनि नेपाली कांग्रेसले अग्रता लिइरहेको एकमात्र महानगर यही थियो।
सुरुमा यहाँ एमालेका व्यञ्जनकारले नै अग्रता लिइरहेका थिए। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महर्जनले वडा नम्बर ११ को गणनाबाट व्यञ्जनकारलाई उछिनेका हुन्।
त्यसपछि त यहाँको स्थिति अझ रोमाञ्चक बन्यो।
जम्मा २९ वटा वडा रहेको ललितपुरमा २८ वटा वडाको मतपरिणाम आउँदा नेपाली कांग्रेसले ३४९ मतको अग्रता लिएको थियो। त्यसपछि जब २९ वडाको मत गन्न थालियो, कांग्रेस नेताहरू लगभग जित्नेमा ढुक्क भए। उनीहरूका अनुसार २९ नम्बर वडा भनेको हरिसिद्धि हो, जहाँ कांग्रेस र माओवादीको बलियो पकड छ भने एमाले तेस्रो शक्तिका रूपमा छ।
यही आधारमा चिरीबाबुले आफू २ देखि ३ सय मतअन्तरले जित्ने दाबी गरे। एमालेका व्यञ्जनकारले पनि आफू ५ सय मतअन्तरले विजयी हुने विश्वास व्यक्त गरे।
अन्तिम चरणमा मंगलबार राति सुरु भएको २९ नम्बर वडाको मतगणनाका क्रममा पनि कांग्रेसले अग्रता लिइरह्यो। एमालेले झिनो मतअन्तरका साथ पछ्याउने क्रम जारी राख्यो।
दुवै पक्षले आफ्नो जितको दाबी गरे पनि यहाँ कतिसम्म कडा टक्कर थियो भने, अन्तिम मत नगन्दासम्म को विजयी हुने यकिन भन्न सकिन्थेन।
यही रस्साकस्सीबीच अन्ततः नेपाली कांग्रेसका महर्जनले बाजी मारे।
निर्वाचन भएको वैशाख ३१ गतेकै रातबाट सुरु ललितपुरको मतगणना अंकको प्रतिस्पर्धाका कारण मात्र होइन, आन्तरिक विवादले पनि रुचिपूर्ण रह्यो।
सुरुदेखि यहाँ मतगणक र दलका प्रतिनिधिबीच खटपट चलिरह्यो। दोस्रो दिनमै निर्वाचन अधिकृतहरूले समन्वय नगरेको र सूचनासमेत नदिएको भन्दै दलका प्रतिनिधिहरूले मतगणना स्थल बहिष्कार गरेका थिए।
त्यसपछि फेरि गणकले जालझेल गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भयो। वडा नम्बर ४, ९ र २६ को परिणाम जोड्ने क्रममा गणकले झेल गरेको एमाले उम्मेदवार व्यञ्जनकारको आरोप थियो।
उनको उजुरीपछि स्थगित भएको मतगणना पुनः सुरु गर्न गणनाको विवादमा परेका कर्मचारी सुरेश थापालाई निष्कासन गरियो। त्यसपछि सर्वदलीय बैठक बसेर मंगलबार साँझबाट पुनः गणना सुरु भएको थियो।

-सेतोपाटी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार