४ आश्विन २०८१, शुक्रबार

एमालेले स्थानीय तह अनुसारको जिम्मेवारी तोक्यो



धनगढी । नेकपा एमाले कैलालीको आइतबार बसेको जिल्ला कमिटी बैंठकले स्थानीय तहको नयाँ संरचना अनुसारको जिम्मेवारी बाँडफाँट गरेको छ ।
स्थानीय तह निर्धारण आयोगले कैलालीमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी १३ वटा स्थानीय तह निर्धारण गरेको छ । सोहीअनुसार एमालेले १३ वटै स्थानीय तहमा संयोजक र सहसंयोजक तोकेको छ । जिम्मेवारी पाउनेहरूमा जिल्ला कमिटीको सचिवालय सदस्य र जिल्ला कमिटी सदस्यहरू रहेका छन् ।
बैठकपछि जिल्ला अध्यक्ष दीर्घ सोडारीले केन्द्रीय कमिटीको पछिल्लो अन्तर्पार्टी निर्देशनअनुसार नगरकमिटी र गाउँकमिटी विघटन गरिएको र नयाँ संरचनाअनुसार १३ वटै स्थानीय तहमा जिम्मेवारी प्रदान गरिएको बताए । बिघटित नगर र गाउँ कमिटी पदाधिकारी र सदस्यहरू अनुकूल पर्ने नगर वा गाउँ सङ्गठनमा स्वतः: सदस्य हुनेछन् ।
नयाँ जिम्मेवारीअनुसार धनगढी नगर उपमहानगर कमिटी संयोजकमा तेजेन्द्र थापा र सहसंयोजकमा लोकेन्द्र बानियाँ रहेका छन् ।
त्यस्तै, टीकापुर नगरपालिकाको संयोजकमा सूर्यचन्द्र भट्टराई र सहसंयोजकमा मीनबहादुर कठायत, लम्कीचुहा नगरपालिकामा दलबहादुर रावल संयोजक र तुल्सीराम चौधरी सहसंयोजक तोकिएको एमाले कैलालीका कार्यालय सचिव विमलकुमार जोशीले बताए ।
यस्तै, गोदावरी नगरपालिकामा कृष्णप्रसाद सुवेदी संयोजक र रामप्रसाद चौधरी सहसंयोजक, भजनी नगरपालिकामा विमल जोशी संयोजक र लालसिंह कठरिया सहसंयोजक, घोडाघोडीमा नगरपालिकामा खडक रावत संयोजक र मनराज शाही सहसंयोजक तथा गौरीगंगा नगरपालिकामा वीरबहादुर मन्नी संयोजक र टेकबहादुर सोव सहसंयोजक छानिएका छन् ।
त्यस्तै, जानकी गाउँपालिकामा जन्मजय काफ्ले संयोजक र तीर्थराज उपाध्याय सहसंयोजक, मोहन्यालमा नन्दराज बजगाईं संयोजक र भगिरथ भाट सहसंयोजक, वर्दगोरियामा दिलबहादुर विक संयोजक र केशरसिंह बोहरा सहसंयोजक तोकिएका छन् ।
त्यस्तै, कैलारी गाउँपालिकामा दयाशंकर चौधरी संयोजक र चन्द्रिका चौधरी सहसंयोजक, चुरे गाउँपालिकामा धनबहादुर रोकामगर संयोजक र लोकबहादुर सारुमगर सहसंयोजक तथा जोशीपुर गाउँपालिकामा प्रेम चौधरी संयोजक र रामकुमार कठरिया सहसंयोजक तोकिएका छन् ।
नयाँ जिम्मेवारी तोकिएका पदाधिकारीलाई नगरमा नगर सङ्गठन कमिटीको संयोजक र सहसंयोजक भनिने भएको छ । यस्तै गाउँपालिकालाई गाउँ सङ्गठन कमिटी भनिने कार्यालय सचिव जोशीले बताए ।
एमालेले निर्वाचन क्षेत्र कमिटी कायम राखेको छ, तर क्षेत्रमा भएकाहरू पनि पायक पर्ने गाउँपालिका र नगरपालिका सङ्गठन कमिटीमा रहन पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार