१४ बैशाख २०८१, शुक्रबार

फेरि मौसम बिग्रियो, चिसो बढ्यो



धनगढी । शुक्रवार भएको वर्षाका कारण कैलाली लगायत सुदूरपश्चिम क्षेत्रका विभिन्न स्थानमा चिसो बढेको छ । केही साताअघि पहाडी र हिमाली क्षेत्रमा भएको हिमपातका कारण कैलालीमा पनि निकै चिसो बढेकोमा केही दिन मौसममा सुधार आए पनि फेरि बिग्रिएको छ ।
शुक्रवार वर्षासंगै बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुलामा फेरि हिमपात भएको त्यहाँबाट प्राप्त समाचारमा बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखा, फिल्ड कार्यालय अत्तरियाका अनुसार शुक्रवार कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका सबै जिल्लामा वर्षा भएको थियो ।
फिल्ड कार्यालयका मौसम विज्ञान सहायक मणिराम मिश्रका अनुसार ‘पश्चिमी न्यूनचापीय प्रणाली’ बिहीबार राति मुलुकको पश्चिम भागमा प्रवेश भएसंगै उत्पन्न भएको बदलीका कारण शुक्रवार सुदूरपश्चिमसहित मुलुकभर वर्षा भएको छ । भूमध्यसागरमा उत्पन्न भएको मौसमी प्रणाली इरान, अफगानिस्तान, पाकिस्तान, जम्मुकाश्मिर, उत्तराखण्ड हुँदै बिहीबार बेलुकी सूदूरपश्चिमी भागमा प्रवेश भएको हो । त्यो प्रणाली शक्तिशाली भएकाले देशैभर असर परेको महाशाखा अत्तरियाका मौसम विज्ञान सहायक मिश्रले बताए ।
मौसम पुर्वानुमान महाशाखाको अनलाइनमा राखिएको बिहान साँझ ५:४५ बजेको तथ्याङ्क अनुसार डोटीमा सबैभन्दा बढी वर्षा भएको छ ।
तथ्याङ्कअनुसार डोटीमा १३.२ मिलिमिटर वर्षा भएको छ । धनगढीमा नौ मिलिमिटर र डडेल्धुरामा ७ मिलिमिटर वर्षा भएको देखाएको छ । शुक्रवार कैलालीमा न्यूनतम तापक्रम १४ डिग्रीमा ओर्लेको छ । डोटीमा १२ र डडेल्धुरामा चार डिग्री पुगेको छ ।
वर्षासंगै यस क्षेत्रको हिमाली भेगमा हिमपात परेपछि केही ठाउँमा यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।
बझाङको हेमन्तवाडा, लुईयाटा, लेकगाउँ, आमचौर, सुर्मा दौलीचौर, स्याडी, काँडा, मेलविसौना लगायतका स्थानमा हिमपात भएको पत्रकार सम्राट सिंहले जानकारी दिए । उनका अनुसार बझाङको हिमपातका कारण श्रीभावरमा बाटो अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार