१४ बैशाख २०८१, शुक्रबार

खानेपानी आयोजना उद्घाटन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १, शिवनगरमा निर्माण भएको खानेपानी आयोजनाको शुक्रवार विधिवत उद्घाटन भएको छ । आयोजनाको राष्ट्रपति विद्यादेवी भण्डारीले फोनसन्देशमार्फत उद्घाटन गरिन् ।
सो आयोजना दुई वर्षअघि नै निर्माण कार्य पूरा भएर पानी समेत वितरण भइसकेको छ । सो आयोजनाको २०६८ सालबाट निर्माण कार्य सुरु भएको थियो ।
खानेपानी आयोजनाका अध्यक्ष नारदमुनि रानाका अनुसार सो आयोजना निर्माणमा १८ करोड १२ लाख २६ हजार रुपैयाँ खर्च भएको छ ।
सो आयोजना निर्माणका लागि एसियाली विकास बैङ्कको ५० प्रतिशत अनुदान र उपभोक्ताको ५० प्रतिशत लगानी रहेको छ । उपभोक्ताको ५० प्रतिशत लगानीमा नगर विकास कोष ऋण ४५ प्रतिशत र उपभोक्ताबाट अग्रिम पाँच प्रतिशत रकम लगानी रहेको छ ।
आयोजनामा दुई वटा डिप ट्युवल, चार सय ५० घनमिटरको एक ओभरहेड टंकी र तीन सय घनमिटरको प्रशोधित पानी भण्डारण टंकी रहेको छ । हाल सो आयोजनाबाट दुई हजार ५० घरधुरीमा पानी वितरण भइरहेको छ । आयोजनाबाट करिब चार कजार घरधुरीमा पानी पुर्‍याउने लक्ष्य रहेको छ ।
उद्घाटन कार्यक्रम खानेपानी आयोजना अध्यक्ष रानाको अध्यक्षतामा भएको थियो ।
समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक, शिक्षक, बुद्धिजीवी, पत्रकार, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
फोनबाट उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीबाट धनगढी उपमहानगरपालिका—१, शिवनगरमा निर्माण भएको शिवनगर साना
शहरी खानेपानी तथा सरसफाई आयोजनाको शुक्रवार फोनसन्देशमार्फत उद्घाटन भएको छ ।
शुक्रवार बिहानैदेखि मौसममा खराबी भएका कारण राष्ट्रपति चढेको नेपाली सेनाको हेलिकोप्टर धनगढी आउन नसकेपछि उनले फोन सन्देश मार्फत सो आयोजनाको उद्घाटन गरेकी थिइन् ।
धनगढी उपमहानगरपालिकामा रहेको कैलाली बहुमुखी क्याम्पसको खेलमैदानमा शुक्रवार बिहानैदेखि चहलपहल थियो । सजाइएको भव्य मञ्च निर्माण गरिएको थियो । बिहान नौ बजेदेखिनै राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि सबै प्रतिक्षारत थिए । धनगढी उपमहानगरपालिका—१, शिवनगरमा निर्मित खानेपानी आयोजनाको उद्घाटन राष्ट्रपतिबाट हुने तय भएकोले सबै उनको स्वागतका लागि प्रतीक्षामा थिए ।
सो आयोजनाको शुक्रवार बिहान १० बजे उद्घाटनन गर्ने तय थियो । राष्ट्रपतिको सुरक्षाका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित थिए । कैलालीका प्रहरी प्रमुख अर्जुन चन्दका अनुसार आयोजना उद्घाटन स्थलमा कबिर दुई सय सुरक्षाकर्मी खटिएका थिए । गेटा विमानस्थलदेखि कार्यक्रमस्थल र बजार तथा विभिन्न सडकमा सुरक्षाकर्मी तैनाथ थिए ।
बिहान करिब १० बजेतिर कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रहरी नायव महानिरिक्षक विजयकुमार भट्ट सहित सुरक्षा अधिकारीहरू राष्ट्रपतिको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
तर, शुक्रवार बिहानदेखि मौसम बिग्रेका कारण बिहान १० बजे काठमाडौँबाट उडेको नेपाली सेनाको हेलिकोप्टर धनगढी आउन नसकेर
दाङको भालुवाङमा अवतरण भयो । दिउँसो साढे १२ बजे हेलिकोप्टर नेपाली सेनाको तेघरी ब्यारेकमा अवतरण हुने बताइएपछि प्रजिअ र सुरक्षा अधिकारीहरू त्यसतर्फ लागेका थिए ।
सुरक्षा अधिकारीहरूका अनुसार दाङबाट तीन पटक उडान भरे पनि खराब मौसमका कारण धनगढी आउन सकेन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार