१४ बैशाख २०८१, शुक्रबार

बर्दगोरिया महोत्सवको चौथो वर्ष : आजदेखि सेती लोकमार्ग बर्दगोरिया महोत्सव



बौनिया  ।  सेती लोकमार्ग निर्माण र बर्दगोरिया धार्मिक क्षेत्रमा पर्यटन विकासको लागि आयोजना गरिएको ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव—२०७३’ आज (शुक्रवार) देखि सुरु हुँदैछ ।
‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार, बर्दगोरिया धार्मिक क्षेत्र विकास पर्यटनको मूल आधार’ भन्ने नारासहित चौथो पटक आयोजना गरिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक बैनिया बजार व्यवस्थापन समितिले जनाएको छ ।
आयोजक समितिका संयोजक रूपक सुनारले महोत्सवमा स्टल निर्माण तथा बुकिङ, बजारको सरसफाई, झाँकी प्रदर्शनी, कलाकार दर्ता, वागतद्वार निर्माण रमाइलो मेला लगायत सबै तयारी पूरा भएको जानकारी दिए ।
संयोजक सुनारले महोत्सवमा दैनिक १५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने बताए । आगामी २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा अढाई करोड रुपैयाँभन्दा बढीको कारोबार हुने उनले बताए ।
महोत्सवमा थारू समुदायका विभिन्न नाच, हुड्के नाच, देउडा नाच, मारुनी नाचका साथै कृषि प्रदर्शनी समेत रहने छ । त्यस्तै, राष्ट्रिय र स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने छ । संयोजक सुनारले मेलामा सहभागीले वर्दगोरिया धार्मिक क्षेत्रमा अवलोकन गर्न सहज होस् भनेर सडक पनि निर्माण गरिएको बताए ।
भारतीय सिमाना खक्रौलादेखि चीनको सिमाना ताक्लाकोटसम्म जोड्ने दुई सय ८४ किलोमिटर लामो सेती लोकमार्गलाई भारत र चिन जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो । यो सडक बौनियाको धार्मिक क्षेत्र वर्दगोरिया हुँदै जान्छ ।
२०६६ सालमा सीमाकंन गरिए पनि हाल सो लोकमार्गको निर्माण कार्य सुस्त छ । सेती अञ्चलका पाँचै जिल्लालाई जोड्ने यो लोकमार्गको छिटो निर्माण र वर्दगोरिया धार्मिक क्षेत्रको विकासमा सरकारको ध्यानाकर्षण गर्न महोत्सवको आयोजना गरिएको कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कर्ण कुँवरले बताए ।
महोत्सवको मुख्य प्रवद्र्धक जिल्ला विकास समिति, कैलाली रहेको छ । त्यस्तै, दोदोधरा र कोटातुल्सीपुर गाउँ विकास समितका कार्यालय, जयमहाकाली र महालक्ष्मी ग्रामीण विद्युत् सहकारी संस्था प्रवद्र्धक छन् ।
त्यस्तै, जनचेतना, लालीगुँरास, दानुफाँटा, रानीजरुवा सामुदायिक वन उपभोक्ता समितिको मुख्य प्रायोजन रहेको छ । भने महोत्सवको सहआयोजक साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्ज रहेको छ ।

राष्ट्रपतिबाट उद्घाटन हुने
महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने भएको छ । महोत्सव मुल समिति संयोजक सुपक सुनारले दिउँसो एक भव्य कार्यक्रमबीच राष्ट्रपतिबाट महोत्सवको उद्घाटन हुने तय भइसकेको बताए ।
उनले राष्ट्रपति भण्डारी सेती लोकमार्ग निर्माणमा भइरहेको ढिलाईबारे ज्ञापनपत्र समेत प्रस्तुत गरिने बताए ।
त्यस्तै, महोत्सव उद्घाटनपछि राष्ट्रपतिबाट वर्दगोरिया धार्मिक क्षेत्रको अवलोकन गराइने पनि उनले बताए ।

बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष रूपक सुनारसँगको अन्तर्वार्ता

केही उपलब्धि प्राप्त भएका छन्

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार