२३ बैशाख २०८१, आईतवार

सुर्मादेवी मेला शुरु



बझाङ । बझाङको चैनपुरमा ऐतिहासिक रूपमा लाग्ने गरेको प्रशिद्ध सुर्मादेवी मेला बिहीबारदेखि धुमधामसंग शुरु भएको छ ।
बझाङमा हरेक वर्ष वडादशैंको कोजाग्रत पूर्णिमाका दिनदेखि तीन दिनसम्म सुर्मादेवी मन्दिरमा मेला लाग्ने गरेको छ ।
सुर्मादेवीको पूजाआजा आराधना सहित मनाइने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक देउडाका साथै विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना हुने गरेका छन् ।
मेला भर्नका लागि बझाङका विभिन्न स्थानबाट हजारौंको संख्यामा भक्तजन तथा दर्शनार्थी ओइरिने गरेका छन् । सुर्मादेवी मेला व्यवस्थापन समितिका संयोजक दलबहादुर बिष्टका अनुसार यस पटक अन्तर जिल्लास्तरीय भलिवल प्रतियोगिता र महिला तथा पुरुष डेउडा खेल प्रतियोगिता आयोजना हुने भएको छ ।
त्यस्तै, स्थानीय लोकसंस्कृति झल्काउने गीत तथा नृत्य प्रदर्शन गरिने उनले बताए । मेलामा स्थानीय उत्पादन राखिने गरेको छ ।
मेलामा कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा व्यवस्था कडा पारिएको छ । मेला अवधिभरी चैनपुरमा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ । मेला व्यवस्थापन समिति संयोजक बिष्टले मदिरा बिक्री गर्नेलाई पाँच हजार र सेवन गरी होहल्ला गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताए ।
मेलामा महिला, पुरुष देउडा प्रतियोगिता सञ्चालनको जिम्मेवारी नेपाल पत्रकार महासंघ, बझाङलाई दिइएको छ । त्यस्तै, क्षेत्रीय भलिवल प्रतियोगिता सञ्चालनको जिम्मेवारी जिल्ला खेलकुद विकास समितिलाई सुम्पिएको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख नरेश सिंहका अनुसार भलिवल प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

असाेज २० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार