१९ बैशाख २०८१, बुधबार

भन्सार राजश्व संकलन लक्ष्य ह्वात्तै बढाइयो



धनगढी । कैलाली भन्सार कार्यालयलाई विगतको तुलनामा चालू आर्थिक वर्षका लागि राजश्व संकलन लक्ष्य निकै बढाएर दिइएको छ ।
भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०७३र७४ को तुलनामा चालू आर्थिक वर्ष २०७४र०७५ का लागि राजश्व संकलन लक्ष्य ५४ प्रतिशत बढी निर्धारण गरिएको छ ।
कैलाली भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष २०७४र०७५ मा तीन अर्ब ८७ करोड ९९ लाख ४३ हजार रुपैयाँको लक्ष्य दिइएको छ । गत आर्थिक वर्ष कैलाली भन्सार कार्यालय कैलालीलाई दुई अर्ब आठ करोड ९१ लाख ६० हजार रुपैयाँ राजश्व संकलन लक्ष्य दिइएको थियो ।
गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले तोकिएको राजश्व संकलन लक्ष्यभन्दा सतप्रतिशत भन्दा बढीले राजश्व संकलन गरेको जनाएको छ । सो कार्यालयले गत आर्थिक वर्षमा दुई अर्ब ११ करोड ४५ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नारायणदत्त जोशीले भने चालू आर्थिक वर्षका लागि दिइएको लक्ष्य पुरा गर्न निकै कठिन भएको बताए । ‘हामीलाई उठाउनै नसकिने गरी राजश्व संकलन लक्ष्य दिइएको छ’ उनले राजश्व संकलन लक्ष्य संशोधन गरेर घटाउनुपर्ने बताए ।
उनले भन्सार विभागले नाकाबन्दीको अवस्थालाई आधार मानेर चालू आर्थिक वर्षमा सो अंकको लक्ष्य निर्धारण गरेको हुनसक्ने बताए । नाकाबन्दीको समयमा अन्य भन्सार नाका बन्द भएकाले अन्य नाकाबाट आयात हुने सामान पनि कैलाली भन्सार नाकाबाट आयात भएकोले राजश्व संकलन प्रगति अत्याधिक बृद्धि भएको र त्यही समयको राजश्व संकलनलाई आधार बनाएर विभागले तीन अर्ब रुपैयाँभन्दा बढी लक्ष्य तोकेको हुनसक्ने बताए ।
भन्सार अधिकृत जोशीले यो लक्ष्यको ९० प्रतिशतको हाराहारीमा मात्रै राजश्व संकलन गर्न सकिने बताए । उनले कैलाली भन्सार कार्यालयको राजश्व संकलन लक्ष्य तीन अर्ब रुपैयाँसम्म तोकिनु उचित हुने बताए । प्रदेश नम्बर ७ मा ठूला विकास निर्माण आयोजना तथा कार्यक्रम नभएकाले यसरी भन्सार राजश्व लक्ष्य मात्रै बढाउनु उपयुक्त नहुने बताए ।
कैलाली भन्सार नाकाबाट हाईस्पिड डिजेल, पेट्रोल, विस्कुट, सिमेन्ट, कागज, ग्याँस, खाद्यान्न, खैनी, पत्थर कोईला, ग्लेज टाईल, चकलेट, सवारी साधन तथा स्पेयर पाटर््स लगायतका सामान आयात भइरहेका छन् ।
भन्सार अधिकृत जोशीले कैलाली भन्सार कार्यालयले डिजेल, पेट्रोल र ग्यासबाट सबैभन्दा बढी राजश्व संकलन गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार