१४ बैशाख २०८१, शुक्रबार

बडीमालिका मेला साउन २२ मा



धनगढी । बाजुरा जिल्लामा पर्ने चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकमा यसवर्ष साउन २२ गते परम्परा अनुसार वैदिक पूजा तथा मेला हुने भएको छ ।
बडीमालिकाका पुजारी नेत्र उपाध्यायले पञ्चांगत समितिले साउन २३ गते चन्द्रग्रहण लाग्ने भएकोले साउन १३ गते नागपञ्चमीका दिन रक्षावन्धन सारिएको भएपनि बडीमालिकामा साउन २२ गते नै पूजाआजा हुने जानकारी दिए ।
परापूर्वकालदेखि रक्षावन्धनको अघिल्लो दिन बडीमालिकामा पूजा गर्ने चलन छ । यसपाली रक्षावन्धन सारेको भएपनि हामी २२ गते पूजाआजा गर्ने भएका छौ पुजारी उपाध्यायले बताए । उनले पञ्चागंतले जे निर्णय गरेको भएपनि २३ गते ९ बजेअघि जनै फेर्न मिल्ने पनि बताए ।
चन्द्रग्रहणको सुतक ९ घण्टाअघिसम्म लाग्ने भएकोले विहान ९ वजेअघि जनै फेर्न मिल्ने तर्क उनले गने । चन्द्रग्रहण २३ गते राति लाग्ने वताइएको छ । पुजारी उपाध्यायका अनुसार बडीमालिकाको पूजाको तयारी तीव्र पारिएको छ । पूजाका लागि मूलभण्डारबाट मूलपूजारीहरुको समूह स्वर्णमय मूर्तिका साथ साउन १८ गते मालिका प्रस्थान गर्ने उहाँले जानकारी दिए ।
बडीमालिकामा श्री महादेवकी पत्नी सतिदेवीको वायाँ अंग पतन भइ पीठ उत्पत्ती भएकोले त्यहाँ गएर पूजा दर्शन गर्दा मागेको वर पाइने विश्वास परम्पराकालदेखि रहदै आएको छ । बडीमालिकाको पूजाको अघिल्लो दिन सोही क्षेत्रको त्रिवेणी, पूजाको दिन मालिका र तेस्रो दिन नाटेश्वरीमा मेला लाग्ने गर्छ । बडीमालिकाको पूजामा मध्य र सुदूरपश्चिमका धर्मालम्वीहरुका साथै नेपाल सरकारको टोली काठमाडौबाट आउने गर्दछन् ।
बडीमालिका पुग्न सदरमुकाम मार्तडीबाट तीन दिन, धनगढीबाट पाँचदिनसम्म लाग्ने गर्दछ । झण्डै छ महिना हिउँले ढाक्ने बडीमालिका समुद्र सहतहबाट चार हजार दुई सय १६ मीटर उचाइमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार