१४ बैशाख २०८१, शुक्रबार

सन्दर्भ: रक्तदाता दिवस : रक्तदाताको संख्यामा बृद्धि, आपूर्ति सहज बन्दै



धनगढी । कुनै समय थियो अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्दा रगत खोज्न बिरामीका आफन्तलाई धौधौ हुन्थ्यो । एकातिर अस्पतालमा बिरामी र उपचारको खर्चको चिन्ता र अर्कोतिर रगतको जोहो गर्न रक्तदाताको लिष्ट बोकेर घरघर धाउनुपर्ने बाध्यता । बिरामीका आफन्तलाई दोहोरो छटपटी हुने गर्दथ्यो । तर, अहिले समय बदलिएको छ । अहिले कोही पनि बिरामीलाई रगतको आवश्यकता पर्दा रक्तदाता सहजै उपलब्ध हुने गरेका मात्रै छैनन्, रक्त सञ्चार केन्द्रमा नियमित रक्तदान गर्ने रक्तदाताहरू पनि उत्तिकै छन् ।
कुनै विशेष धार्मिक, राजनीतिक वा सामाजिक अवसर होस् अथवा कुनै संघसंस्थाको स्थापना दिवस अथवा वार्षिकोत्सवको अवसर होस्, अथवा कुनै विशेष समारोह होस्, रक्तदान कार्यक्रम आयोजना गर्ने चलन झैं बनिसकेको छ । नेपाल रेडक्रस सोसाइटी कैलालीले धनगढीमा रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएपछि विगतको तुलनामा बिरामीलाई रगत आपूर्ति सहज भइरहेको छ ।
रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तका अनुसार रक्तदाताको संख्या बृद्धि भए पनि माग पनि उत्तिकै बढेको छ । अझैं पनि महिला रक्तदाताको संख्यामा उल्लेख्य बृद्धि आउन सकेको छैन ।
‘महिलामा अझैं पनि रगत दान गर्दा शारीरिक रूपमा कमजोर होइन्छ भन्ने खालको सोच रहेको पाइन्छ’ रक्त सञ्चार केन्द्र प्रमुख पन्तले भने– ‘परिवारमा र महिला स्वयंमा पनि केही आत्मविश्वासको कमी रहेका कारण रक्तदाता महिलाको संख्यामा उल्लेख्य बृद्धि आउन सकेको छैन ।’
रक्त सञ्चार केन्द्र धनगढीका अनुसार चालू आर्थिक वर्षको बैशाख महिनासम्म कैलालीमा तीन हजार तीन सय ८५ पुरुष र एक सय ७७ महिलाले गरी तीन हजार पाँच सय ६२ यूनिट रगत दान गरेका छन् ।
संकलित रगतमध्ये दुई हजार एक सय सात पुरुष र एक सय ५० महिलाले स्वेच्छिक रूपमा रगत दान गरेका थिए ।
आर्थिक वर्ष २०७२/०७३ मा जिल्लामा चार हजार सात सय २२ यूनिट रगत संकलन भएको केन्द्रले जनाएको छ ।
सो आर्थिक वर्षमा दुई सय ५५ महिला र दुई हजार तीन सय ४२ पुरुषले स्वेच्छिक रूपमा रगत दान गरेका थिए ।
रक्त सञ्चार केन्द्रले जिल्लामा पछिल्ला केही वर्षयता स्वेच्छिक रूपमा रक्तदान गर्नेको संख्या बढ्दै गए पनि माग पनि उत्तिकै बढेको जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७३/०७४ को बैशाख महिनासम्म एक हजार चार सय ८० पुरुष र दुई हजार दुई सय ४४ महिलालाई गरी तीन हजार सात सय २४ यूनिट रगत वितरण गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा एक हजार पाँच सय ९० पुरुष र दुई हजार छ सय ६१ महिलालाई गरी चार हजार दुई सय ६६ यूनिट रगत वितरण गरिएको थियो ।
केन्द्रका अनुसार पुरुषभन्दा बढी महिला बिरामीका लागि बढी रगतको माग आउने गरेको छ विशेषगरी सडक दुर्घटना, प्रसूति, ब्लड क्सान्सर, सिकलसेल, डेंगु, रक्तअल्पता, तथा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई बढी रगतको आवश्यकता पर्ने गरेको छ । विगतका वर्षहरूभन्दा महिला रक्तदाताको संख्या अहिले १० प्रतिशतसम्म पुगे पनि रगत आवश्यकता पर्ने बिरामीमा महिलाको संख्या ६० प्रतिशत बढी हुने गरेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
रक्त सञ्चार केन्द्रका प्रमुख पन्तका अनुसार रक्तदान गर्नेहरूमा १८ देखि ३० वर्ष उमेर समूहका बढी हुने गरेका छन् । आर्थिक वर्ष २०७२/०७३ कैलालीमा सो उमेर समूहका व्यक्तिले दुई हजार सात सय २५ यूनिट रगत दान गरेका थिए ।
उनले रक्त सञ्चार केन्द्रमा अहिले मागको ६० प्रतिशतमात्र रगत संकलन भइरहेको बताए । ‘रक्तदानको मात्रा बढाउन नियमित रूपमा विभिन्न उत्प्रेरणा गोष्ठी, छलफल लगायतका कार्यक्रम भइरहेका छन्’ उनले भने– ‘अझै पनि मागअनुसारको रगत संकलन गर्न यस्ता कार्यक्रमहरू व्यापक बनाउनु जरुरी छ ।’
तथ्यांकअनुसार नेपालमा एक हजार जनामा चार जनाले मात्रै रक्तदान गर्ने गरेका छन् । नेपालमा पुरुष रक्तदाता ८६ दशमलव एक र महिला १३ दशमलव नौ प्रतिशत रहेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार