१४ बैशाख २०८१, शुक्रबार

डिसिए अन्तर विद्यालय क्रिकेट : ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी



धनगढी । धनगढीमा जारी डिसिए अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बिहीबार भएका खेलमा ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी भएका छन् ।
ग्लीले ज्ञान निकेतनलाई २० रनले पराजित गर्‍यो भने इमरेडले मयुर स्कूललाई आठ रनले हरायो ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको ग्लीले २० ओभरमा छ विकेट क्षतिमा एक सय १६ रन बनायो । ग्ली एकेडेमीका पदम बोहराले ५२ रनको अर्धसतकीय पारी खेले । विशाल भट्टले १३ रन बनाए ।
प्रतिउत्तरमा ज्ञान निकेतन १७ औं ओभरमा ९६ रनमा अलआउट भयो । ज्ञान निकेतनका लागि आदित्य शाहले ११ रन र पारस देउवाले १० रन बनाए । कसिलो र घातक बलिङ गरेका ग्ली एकेडेमीका पदम बोहराले पाँच विकेट लिए । सविन जोशीका नाम दुई विकेट रह्यो । सो खेलमा ग्ली एकेडेमीका पदम बोहरा म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इमरेडले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय १६ रन बनायो । इमरेडका कप्तान रोहित सिंहले अविजीत ४१ रन बनाए भने हिमांशु चन्दले १६, विवेक बयलकोटीले १० रन बनाए ।
एक सय १७ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको मयुर १८ औं ओभरमा अलआउट हुँदै एक सय आठ रनमा समेटियो ।
मयुरका दीपेन्द्र शर्माले ३५, जंग साउँद र रोशन रावतले १७/१७ रन बनाए । बलिङतर्फ इमरेडका भूपेश ओझा, अजय महरा र सुनील भण्डारीले २/२ विकेट लिए । सो खेलमा इमरेडका रोहित म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार