१५ बैशाख २०८१, शनिबार

गेटा मेडिकल कलेज भवन निर्माण शुरु



धनगढी । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज भवन निर्माण कार्य सोमबारदेखि शुरु भएको छ । सोमबार एक कार्यक्रमबीच सो मेडिकल कलेज विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले शिलान्यास गरे ।
सो मेडिकल कलेजको अहिले प्रशासनिक, कलेज र अस्पताल गरी तीन वटा भवन निर्माण हुने जनाइएको छ । निर्माण कार्य तीन वर्षमा पुरा गर्ने लक्ष्य रहेको छ ।
आर्थिक वर्ष २०४४/४५ सालदेखिनै सुदूरपश्चिममा मेडिकल कलेज बनाउने भन्ने चर्चा चले पनि ०५६/०५७ सालमा सरकारले पहल गरेको थियो । त्यतिबेला मेडिकल कलेजका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको थियो ।
तर, आर्थिक वर्ष २०६७/०६८ सालसम्म पनि भवन निर्माणको कुनै सुरसार नभएपछि शिक्षा मन्त्रालयले जमिनको भोगाधिकार लिएर कलेज निर्माण कार्य अघि बढाएको थियो ।
सो मेडिकल कलेजका लागि ५१ दशमलव आठ हेक्टर जमिन प्राप्त गरिएको छ । गेटा मेडिकल कलेज विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार शिक्षा मन्त्रालयको दश वर्षीय रणनीतिक योजनाअन्तर्गत निर्माण कार्य अघि बढेको छ ।
तर, विगतमा वार्षिक एक करोड रुपैयाँको हाराहारीमा मात्रै बजेट विनियोजन गर्ने गरिएकोले निर्माण कार्य निकै सुस्त गतिमा रहेको उनले बताए । ‘चालू आर्थिक वर्षमा भने सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेकाले मेडिकल कलेजको भौतिक निर्माण कार्यले गति लिन्छ भन्ने विश्वास गरेका छौं’ कार्यकारी निर्देशक पुजाराले प्रतिवद्धता व्यक्त गरे– ‘कलेजलाई आवश्यक पर्ने पूर्वाधार र व्यवस्थापकीय पक्षका लागि शिक्षा समितिको मागअनुसार मन्त्रालयले बजेट विनियोजन गरेमा काममा कुनै बाँधा पर्ने छैन ।’
उनले मेडिकल कलेजका लागि जग्गाको भोगाधिकार, सिमांकन तथा रेखांकन, तारबार, विजुली, शाखा सडक विस्तार लगायतको काम भइसकेको र भौतिक निर्माण कार्य अघि बढाइएको जानकारी दिए । उनले मुल सडक, प्रशासनिक, कलेज र अस्पतालको भवनको काम भइरहेको बताए ।
मेडिकल कलेजमा कर्मचारी क्वार्टर, विद्यार्थी होस्टेल, विशिष्ठ क्वार्टर, विशिष्ठ अतिथी घर, गार्ड आवास गृह लगायतका भौतिक निर्माण कार्य पनि छिट्टै अघि बढाइने उनले बताए । ‘तीन भवन बनिसकेपछि मेडिकल कलेजमा अध्यापन कार्य सुरु गर्न सहज हुने छ’ उनले भने– ‘त्यसपछि विस्तारै आवश्यकता अनुसार भवन थप हुँदै जानेछन् ।’ उनले मेडिकल कलेजको निर्माण कार्य मुल संरचनाबाट अघि बढाइएको बताए । त्यस्तै, साना संरचनाहरू विस्तारै थप हुँदै जाने छन् ।
उनले मेडिकल कलेज सञ्चालनका लागि यथासिघ्र स्थायी संरचना तयार गर्नुपर्ने बताए । खासगरी अस्पतालको भौतिक तथा व्यवस्थापकीय पक्षका लागि स्थायी संरचना आवश्यक रहेको बताए । मेडिकल कलेज कुन संरचना मार्फत सञ्चालन हुने, कस्ता नीति बनाउने, कति कर्मचारी राख्ने, के–के सुविधा कसरी दिने ? लगायतको व्यवस्थापनका लागि स्थायी संरचना आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार